बामदेव कमरेड गिडगिडाउनुकाे अर्थ ! लाखौँलाई अन्याय गरेर न्याय माग्न मिल्छ र !?
असार १४, २०७७

५० को दशकमा नेपाली राजनीतिमा धेरै उतार चढावहरू आए, गए । अझै भन्ने हो भने नेपालको हालको परिवर्तन र प्रमुख राजनीतिक मुद्दाहरूको उठान नै ५० को दशकमा भएको थियो । महाकालीको मुहान लिम्पियाधुरा कायम गरेर मात्र महाकाली सन्धि गर्नुपर्छ र कालापानीबाट भारतीय सेना हटाउनु पर्छ भन्ने तत्कालीन नेकपा एमालेको बामदेव धारको अडान होस् वा नेपालमा माओवादी जनयुद्धको शुरुवात नै किन नहोस्, चाहे राजसंस्थाले आफूलाई सक्रिय बनाएसँगै यसको भविष्यको बारेमा सुरु भएको निर्णायक बहस नै किन नहोस्, यी सबै ५० को दशकमा सुरु भएको विवादका बीजारोपण हुन् ।  

२०७७ असार १३ गते शनिबारका दिनको नेकपाको स्थायी कमिटीमा कमरेड बामदेव गौतमले महाकाली सन्धि गलत थियो भन्ने आफू लगायत २६ जना सांसदहरूलाई २०५४ सालमा भएको कारबाही गलत थियो भनी पार्टी निर्णय गरी आफूलाई न्याय दिनुपर्ने माग गर्नु भएको सञ्चार माध्यमबाट जानकारी पाउँदा केही तर अनुत्तरित प्रश्नहरूको जवाफ  कमरेड बामदेव गौतमसँग अपेक्षा गरेको छु ।  

इतिहासले त्रुटि गर्ने मानिसलाई अन्ततः कठघरामा उभ्याई छाड्छ, चाहे ढिलो होस् वा चाँडो । त्यसको प्रत्यक्ष उदाहरण कमरेड बामदेव गौतम हुनुहुन्छ । ०५३  सालमा महाकाली सन्धिको विरोध गरेको हुँदा वहाँले त्रुटि गर्नु भएको हो भन्ने अर्थ लगाउन खोजिएको हैन । बरु उक्त मुद्दा बिचैमा छाडेर पार्टीको राष्ट्रघाती लाइनसँग आत्मसमर्पण गर्दै लाखौँ कार्यकर्ता र ७ लाख जनमतको उपेक्षा गरेर गल्ती गर्नुभयो भन्ने मेरो निष्कर्ष हो ।

महाकालीको राष्ट्रवादी मुद्दा र सीमा सुरक्षा अभियानलाई कायम राखेर कठिन त्याग गर्न तयार भई चित्र बहादुर केसी झैँ विक्रम टेम्पु नै चढेर आफ्नो अडानमा टिकेको भए बामदेवलाई धेरै पहिले जनताले न्याय गरी छाड्थे ।  मुलुकको सर्वोच्च पदको सम्भावना बामदेवबाट टाढा थिएन । महाकालीको विरुद्ध अभिमत बनेको ७ लाख मतले गुणात्मक फड्को मार्दै बहुमत तर्फ डोर्‍याउने सम्भावनालाई बामदेवले नजर अन्दाज गरेर गल्ती गर्नु भएकै हो ।

सदनमा अनुपस्थित भएर महाकाली सन्धिमा मतदाता नगर्ने तथा उपस्थित भएर विपक्षमा मतदान गर्ने हिरण्यलाल श्रेष्ठहरू अहिले कहाँ छन् ? तपाईँहरूको त्यो राष्ट्रवादी विद्रोहलाई साथ दिने मातहत कमिटीका लाखौँ लाख कार्यकर्ताहरू अहिले कहाँ छन् ? कुनै दिन तिनलाई खोज्ने प्रयास गर्नुभयो ? तिनको निष्ठालाई धोका दिँदै आफ्नो एजेन्डा छाडेर तपाईँले आफूलाई मूलधारमा निशर्तः समाहित गराउनु गल्ती थियो कि थिएन ? सोच्नुहोस् ।

 विगतमा आफूले उठाएको सीमाको मुद्दामा कायम रहँदै अघि बढेको भए अहिले महाकाली सन्धि गर्ने तत्कालीन राष्ट्रघाती नेतृत्वसँग बामदेवले गिडगिडाउनु पर्ने थिएन । आफ्नो मूल मुद्दा छाडेर हिँडेकोले नै ०५८ साल तत्पश्चात् म्यारिज खेलको जोकर झैँ कहिले कताको त कहिले कताको समीकरणमा मिल्दै अरूलाई नै शक्तिशाली बनाउँदै वहाँको राजनीतिक जीवन व्यतीत हुँदै गएको सबैले देखेकै  कुरा होइन र ?  

यद्यपि राष्ट्रघाती महाकाली सन्धिको विरोध, त्यसको विरुद्धमा पार्टी केन्द्रमा मतदान, संसद्मा महाकाली सन्धिको पक्षमा हुने मतदानमा अनुपस्थित, तत्कालीन पार्टीको राष्ट्रघाती धारले गरेको कारबाही पश्चात् नयाँ माले पार्टीको गठन, ०५६ सालको आम निर्वाचनमा अलग पार्टीको नेतृत्व गर्दै प्राप्त गरेको ७ लाख मत र उक्त मतले दिएको अभिमतसँगै २०५८ सालसम्म पार्टीले गरेको सीमा सुरक्षा अभियान तथा जनजीविकाको पक्षमा गरेको आन्दोलन सम्म बामदेव जनप्रिय नेता नै थिए ।

वहाँको उक्त अवधिमा अभिव्यक्ति भएको भूमिकाको जति प्रशंसा गरेपनी पुग्दैन । आजको देशको राष्ट्रवादी आन्दोलनको मूल मुद्दा नै कमरेड बामदेवले २०५३ देखि २०५८ साल बोकेर हिँड्नु भएको थियो भन्ने तथ्य सबका सामुन्ने छर्लङ्ग छ ।  यसैको कारण भारतको योजनामा बामदेवको विरुद्ध राष्ट्रिय घेराबन्दी भएको थियो र वहाँ एक्लिनु भएको थियो भन्ने यथार्थ समेत सर्व विदितै छ ।

तर २०५८ साल पश्चात् वहाँले गर्नु भएको अक्षम्य गल्ती र त्यसले नेपाली राजनीतिमा पारेको प्रभाव अति पिडादायी छ । बामदेवले राष्ट्रवादी लाइन छाडेकैले आज नेपाली राजनीतिमा उदाएका अल्पकालीन राष्ट्रवादीहरू पुनः सो मुद्दा स्थापित गरी आफ्नो राजनीतिक भविष्य जगेर्ना गर्न सफल भएको भनाइमा असहमत हुन सकिन्न ।  

यो पङ्क्तिकारले कहिले आफ्नो बारेमा कुनै नेतासँग आफ्नो इतिहास बखान गर्दै त्यसको लागत मूल्य माग गरेको उदाहरण छैन, ननै पार्टी कमिटीको कुनै तहमा पार्टीले गरेको अन्यायको क्षतिपूर्ति नै माग गर्‍यो । नेताहरूका आफन्त, परिवारजन, चन्दादाता, नियमित भोजनदाता, जिल्लावासी, गाउँवासी तथा इष्टमित्र र ससुरालीका आफन्तलाई छाडेर अवसरको पङ्खा हामी जस्ता झोला बोक्न मात्र जानेका र झोलामा पार्टीको दस्ताबेज बाहेक अन्य जिन्सीहरू राखिन नजानेका कार्यकर्तातिर फर्केला भन्ने अपेक्षा शून्य भएको हुँदा आफ्नो स्वाभिमान कायम गर्नमै गौरव महसुस गर्दै आइरहेको छु ।

नेताहरूको राजनीतिक सौदाबाजी, बेइमानी, आत्म केन्द्रित प्रवृत्ति, एकल र पारिवारिक लाभ हानिमा दौडने, सर्वहारावादी सांस्कृतिक जिविनशैलीको स्खलन गर्दै पुँजीवादी र उपभोक्तावादी संस्कृतिको अंगिकरण गर्ने, प्रयोग गर र फालको नीति अख्तियार गर्ने जस्ता निम्न पुँजीवादी तथा सामन्तवादी चिन्तनका कारण आफ्नो राजनीतिक, आर्थिक, सिपमूलक व्यक्तित्वको अवसान गर्न बाध्य लाखौँ कार्यकर्ताहरू आज कमरेड बामदेव गौतम र उनका मतियारहरूलाई निरन्तर प्रश्न सोधी रहेको कुरा बिर्सनु भएको छ ! कमरेड हामीले न्याय कहिले पाउने ?

स्थायी कमिटीमा कमरेड बामदेवले न्याय माग्दा म जस्ता आफ्नो सुन्दर जवानी गौरवशाली कम्युनिस्ट पार्टीलाई सुम्पेर हातमा विद्रोहको झन्डा बोकी आफ्नो बैँस गुजारेका र व्यक्तिगत रुपमा आफ्नो भविष्यलाई बरबाद पारेका तथा विद्रोहमा ज्यान गुमाएका लाखौँ लाख कार्यकर्ताहरूले समेत न्याय माग्दा पार्टीबाट के प्रतिक्रिया आउँछ होला भन्ने जिज्ञासा मेटाउन मात्र केही प्रश्नहरू उल्लेख  गरिरहेको छु ।

बरु सकिन तयार हुने, तर कार्यकर्तालाई न्याय दिन तयार नहुने वर्तमान कम्युनिस्ट पार्टीको पुरानो रोग निको नभएको थाहा हुँदा हुँदै पनि केही सवाल गर्ने चेष्टा गरेको छु । कमरेड बामदेव तथा हाल मन्त्री समेत भएका वहाँका माले कालीन सारथिहरूले जवाफ दिने चेष्टा गर्लान् कि भन्ने कमजोर र झिनो अपेक्षा समेत गरेको छु ।  

सवाल नं. १
आदरणीय कमरेड बामदेव ! तपाईँले पार्टीमा महाकाली सन्धि र राष्ट्र हितको सवालमा बहस छेड्नु हुँदा २०५३ सालमा म नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सचिव थिए भने वर्तमान १ नं. प्रदेशका गृह मन्त्री आदरणीय माननीय हिक्मत कार्की मेरो सभापति हुनुहुन्थ्यो । वर्तमान स्वास्थ्य मन्त्री तथा ल क्याम्पसका पूर्व स्ववायु सचिव भानुभक्त ढकाल अखिलका महासचिव हुनुहुन्थ्यो । तपाईँका तत्कालीन विश्वासपात्र विद्यार्थी नेता तथा हालमा माननीय मन्त्री आदरणीय योगेश भट्टराई अखिलको अध्यक्ष हुनुहुन्थ्यो । योगेश भट्टराईको अनुरोधमा र तपाईँको राष्ट्रवादी विचारबाट प्रेरित भएर ल क्याम्पसका सबै पूर्व सभापतिहरू, सचिवहरू एमालेमा कायम रहँदा रहँदै पनि म विद्रोह गरेर तपाईँको माले पार्टको पछि लागेँ । नेपालगन्जमा सम्पन्न नेकपा एमालेको छैंठौं महाधिवेशनमा महाधिवेशन हल बाहिरको प्रहरी दमनमा परी खाएको लाठीको चोट अझै मेरो जिउमा छ । काठमाण्डौं आएपछि तपाईँले गठन गरेको माले पार्टीमा आबद्ध भई नेपाल ल क्याम्पसको तर्फबाट योगेश भट्टराईको नेतृत्वमा अनेरास्ववियुको केन्द्रीय राजनीतिमा क्रियाशील भएँ ।

०५५ सालमा तपाई कै पदचाप पछ्याउँदै माले निकट अनेरास्ववियुको तर्फबाट ल क्याम्पसमा सभापति उम्मेदवार भई विजयी हासिल गर्न सफल भएँ । उपत्यकामा नेपाल ल क्याम्पस, ताहाचल क्याम्पस र अमृत साईन्स् क्याम्पसमा माले निकट विद्यार्थी सङ्गठनले विजय हासिल गरेको थियो । त्रिचन्द्र क्याम्पसमा त्यतिखेर गगन थापा सभापति थिए  । नेकपा मालेको राष्ट्रवादी रुझानका कारण देशमा तपाईँको र नेकपा मालेको  ख्याति बढ्दै थियो । ०५६ सालको निर्वाचनमा तपाईँलाई रोक्न नेपाली काँग्रेस, तत्कालीन एमाले र भारतको गठ जोड भएको त भरखर जस्तो लाग्छ । आफूले नजित्ने स्थानमा एमालेले काँग्रेसलाई र काँग्रेसले एमालेलाई भोट हाल्ने गरी भद्र सहमति बनाउने कार्य तत्कालीन अवस्थामा भारतीय राजदूतले गरेका थिए ।

एक सिट नजित्ने गरी भारतको सूक्ष्म व्यवस्थापन मार्फत अघोषित कार्यगत एकता गरिएको तपाईँलाई सर्वविदितै छ । यद्यपि गर्वको विषय के हो भने तपाईँको नेतृत्वलाई ७ लाख जनताको विश्वास थियो । जसले चट्टान फोडेर तपाईँलाई भोट हालेका थिए । तर विडम्बना माले पार्टीबाट आफ्नो महत्त्वाकाङ्क्षा पूर्ण नहुने देखि पार्टीले शून्य सिट पाएकोमा हताश हुँदै ७ लाख मत र सतिसाल झैँ सङ्कटमा ठाडै रहने लाखौँ कार्यकर्तालाई अलपत्र पार्दै तपाईँले ०५८ सालमा विना सर्त पार्टी एमालेमा विलय गराउनु भयो ।  ४ वर्षसम्म एमालेसँग नै राष्ट्र घात र राष्ट्रवादको नाममा सङ्घर्ष गरेको हुँदा म जस्ता लाखौँ अगुवा कार्यकर्ता एकताको रिङबाट बाहिरिए । मेरो सक्रिय राजनीतिक जीवनको अन्त्य भयो । म मात्र हैन, म जस्ता लाखौँ नेता कार्यकर्ता सडकमा आई पुगे, एकीकृत पश्चात् पार्टीले बहिष्कार गर्‍यो, लाखौँ कार्यकर्ता सहित म समेत ठ्याक्कै सडकमा आइपुग्यौँ, अब भन्नुहोस् मलाई मजस्ता  लाखौँ कार्यकर्ता  न्याय कसले दिन्छ रु तपाईँले वा तपाईँको स्थायी कमिटीले ! 

सवाल नं. २

कमरेड ! ०५८ सालमा नेकपा एमालेमा माले विलय पश्चात् रबिन्द्र अधिकारीले नेतृत्व गरेको अनेरास्ववियुको झन्डै बहुमत केन्द्रीय सदस्य सहित भएर हिमाल शर्मा र कृष्ण केसीको नेतृत्वमा माओवादीको अखिल क्रान्तिकारीसँग एकता गरे । म उक्त एकतामा अन्तमा असहमत भई छुट हुन गएको पात्र हुँ । मैले माओवादीमा जान सहमति प्रदान गरेको भए ठ्याक्कै बहुमत केन्द्रीय सदस्य माओवादी हुन्थे ।

बामदेव कमरेड ! तपाई एक्लै, विना योजना र कार्यकर्ताहरूको भविष्यलाई अलपत्र पारेर निशर्तः एमाले प्रवेश गरेपछि आफ्नो राजनीतिक भविष्य अन्धकार देखेर धेरै साथीहरू माओवादी प्रवेश गर्नु भएको तपाईँलाई यादै होला  नि ? तपाईँका दुई सारथी योगेश भट्टराई र स्वर्गीय रबिन्द्र अधिकारीले समेत पार्टी एकता पश्चात् आफ्ना अखिलका कार्यकर्ता जोगाउन सकेनन् । तपाईँले आफूले मालेमा लगेको २० प्रतिशत जत्तिलाई एमालेमा पुनः फिर्ता लिएर गएपनी ७५ प्रतिशत बाहिरै रहेको सम्झना छ कि छैन ? ती मध्य अधिकांश कार्यकर्ताहरू माओवादी प्रवेश गरी विद्रोहमा क्रियाशील हुने क्रममा धेरै सहिद समेत भए ।

मलाई अहिले पनि स्मरण छ, तपाईँको एमाले प्रवेश पश्चात् आफ्नो राजनीतिक भविष्यको बारेमा कृष्ण केसी, हिमाल शर्मा, ज्ञानेन्द्र त्रिपाठी, ताहाचलका नवीन राई, दिल बहादुर राई, शिव डाँगी, शिवराम यादव, प्रभु शाह लगायत उपत्यकाकै कयौँ विद्यार्थी नेताहरू माओवादी प्रवेश गर्नु भएको थियो । तत्कालीन एमाले नेतृत्व उनीहरू माओवादीमा जाउन् भन्ने पक्षमा नै थियो । बामदेव भएपछि सबै पुग्छ भन्ने गलत भ्रम तत्कालीन एमाले नेतृत्वले पालेको थियो । विद्रोहमा लागेका मध्य त्रिविधका नेता ज्ञानेन्द्र त्रिपाठी, ताहाचलका स्ववियु सभापति नवीन राई, शंकरदेवका दिल बहादुर राई लगायत सयौँ सहिद भए । सहिद भएका साथीहरूका परिवार लगायत भाग्यले बाँचेका कृष्ण केसी र हिमाल शर्मा लगायत हजारौँ साथीहरूले भोगेको पिडा, उनीहरूको परिवारले द्धन्दकालमा चुकाउनु परेको मूल्य बापतको क्षतिपूर्ति कसले दिन्छ ? उनीहरू माओवादीमा प्रवेश गर्ने हेतुले तपाईँको विद्रोहलाई साथ दिएका थिएनन्, बरु तपाईँले नेपालको देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्नुहुन्छ होला भन्ने विश्वासमा पार्टीबाट विद्रोह गरेका थिए ।

तपाईँले अलपत्र पारेका मध्य माओवादीमा गएर सहिद हुनबाट बचेका, अहिले आफ्नो राजनीतिलाई शून्यमा झार्न बाध्य भएका, तपाईँलाई राजनीतिक रुपमा साथ दिए बापत आ-आफ्नो क्षेत्रमा अवहेलना र दुर्व्यवहार खप्न बाध्य भएका देशभक्त कार्यकर्ताहरूलाई कसले न्याय देला ? तपाईँमा उनीहरूको बारेमा सोच्ने फुर्सद छ ? पार्टीमा फिर्ता भएपछि धेरै कार्यकर्ताहरू अपहेलित र बहिष्करण सहनु परेको तर तपाईँले भने पार्टीमा सर्वोच्च पद र सरकारी सुविधा पटक पटक पाई रहनु भएको मा कुनै विवाद छैन । तपाईँले अलपत्र परेको कार्यकर्ता पान पसल खोल्ने हैसियतमा समेत रहेनन् ।

तिनको निष्ठालाई धोका दिँदै आफ्नो एजेन्डा छाडेर तपाईँले आफूलाई मूलधारमा निशर्तः समाहित गराउनु गल्ती थियो कि थिएन ? सोच्नुहोस् । ती सबै नेता कार्यकर्ताहरूलाई भारत विरोधी, महाकाली सन्धि विरोधी भएकै आरोपमा बिस्तारै पाखा लगाएको, पार्टी छाड्न बाध्य पारिएको तपाईँले पत्तै पाउनु भएन । तपाईँले जुन ताकतका साथ पार्टी विभाजन गर्नुभएको थियो, एजेन्डामा आत्म समर्पण गरेर विना सहयात्री विनै पुनः एमाले पार्टी प्रवेश गरेको कारणले आज लिम्पियाधुरा, महाकालीको मुहान, कालापानी, लिपुलेक लगायत भारतले अतिक्रमण गरेको सिमानाको बारेमा ठाडो शिर राखेर यो त मेरो एजेन्डा हो भन्ने नैतिक बल तपाईँसँग भएन होइन र ?

किनकि पूर्व माले भएको तथा बामदेव र योगेश भट्टराईको मान्छे भनी लेबल लागेपछि उनीहरूको पान पसल समेत चल्न छाडेको यथार्थ उदाहरण कति वटा चाहियो ? तपाईँहरूको नाम जोडिएपछि माले वकिलले क्लाईन्ट पाएनन, माले पत्रकारले विज्ञापन पाएनन्, किराना पसल चल्दै चलेनन्, बैङ्कले ऋण दिएन, स्कुल खोल्नेकहाँ बामदेवको मान्छे भनेर बच्चा पढाउनै छाडे । जागिरेले यात दुर्गम जानुपर्ने वा जागिर छाड्नु पर्ने समेतको हविगत भोग्नुपरेको यथार्थ समेत तपाईँलाई थाहा छैन र ? । अब भन्नुहोस्, देशभक्तिपूर्ण धारमा उभिएबापत उनीहरूले पाएको पिडा बापत उनीहरूलाई न्याय कसले देला ? 

सवाल नं. ३

तपाईँलाई राजनीतिक रुपमा सहयोग गरे बापत म जस्ता सयौँ कार्यकर्ताहरू तत्कालीन वकिलका नेताहरू सुवास नेम्वाङ तथा उनका मण्डलीको लगायतको कोपभाजनमा परेँ । तपाईँका सहयोगी भनेर चिनिएका तर जनस्तरमा पटक्कै धरातल नभएका युवराज सङ्ग्रौलाले समेतले आफू अनुकूल कसैको विरुद्धमा प्रयोग गर्न नसकेर हामीलाई दुत्कार्न थाले । अहिले पनि नेकपाका नेता भनेर चिनिने सबै वकिलका नेताहरू हामीलाई निश्चित दुरीमा राख्ने गर्छन्, कारण हामी विगतमा तपाईँका मान्छे भएर मालेमा लागेका थियौँ । तपाईँका पूर्व मालेका मन्त्रीहरू समेत विगतलाई हामीलाई बहिष्कार गर्ने वकिलहरूलाई आफ्नो साथ लिएर हिँड्दै गरेको देखिरहेको कुरा होइन र ? कानुन क्षेत्रमा राजनीति गर्ने हो भने हामी पूर्व मालेहरूलाई हामी बाहेक सबै मिलेर हामीलाई धुलो चटाउन हरदम तयार हुन्छन् ।

बारका कानुनी कार्यक्रम सम्बन्धी परियोजना, न्यायधिस नियुक्ति, सरकारी नियुक्तिमा सहभागी हुने, बारको निर्वाचनमा टिकट पाउने लगायत सरकारी स्तरको कानुनी सल्लाहकार जस्ता सामान्य पदमा समेत हामी बामदेव र योगेशको मान्छे भन्ने नाममा सिन्डिकेटको सिकार भई रहेका छौँ । उता तपाईँहरू आफूले पाएका पार्टी र राज्यको हैसियत अझै कम भएको महसुस गर्दै पार्टीमा न्याय माग्दै हुनुहुन्छ । आफू कलकलाउँदा जवान उमेर तपाईँको पछि दगुर्दै नष्ट गर्ने र शैक्षिक तथा व्यवसायी दक्षतामा पछि पर्न बाध्य भएका हामीलाई न्याय कसले दिने ? त्यो निक्र्यौल गर्नुहोस् ।  

अनि तपाईँको बारेमा पार्टीले हैन हामी सोचौँला ! म लगायत लाखौँ पूर्व मालेका कार्यकर्तालाई न्याय भएको दिन तपाईँलाई कसरी न्याय गर्नुपर्छ हामीलाई थाहा छ । हैन भने आफ्ना मान्छे किनारामै छाडेर अरूले चलाएको डुङ्गामा चढ्दा गलत गन्तव्यमा पुगिन्छ भन्ने तपाईँले त्यतिखेर नै बुझ्नुपर्ने विषय थियो । यसर्थ तपाईँलाई हैन, हामी माले भएको आरोपमा कालापानी र महाकाली सन्धिको कारण भुईँमा छाडिएका र बहिष्करणमा पारिएकाहरूलाई  वास्तविक न्याय चाहिएको छ । 

सवाल नंं. ४
बामदेव कमरेड ! २०५३ असोज ४ गते पार्टी केन्द्रीय कमिटीमा षडयन्त्रपूर्वक महाकाली सन्धि पारित गर्दा तपाईँको पक्षमा उभिएका केन्द्रीय नेताहरू र सदनमा अनुपस्थित भएर महाकाली सन्धिमा मतदाता नगर्ने तथा उपस्थित भएर विपक्षमा मतदान गर्ने हिरण्यलाल श्रेष्ठहरू अहिले कहाँ छन् ? तपाईँहरूको त्यो राष्ट्रवादी विद्रोहलाई साथ दिने मातहत कमिटीका लाखौँ लाख कार्यकर्ताहरू अहिले कहाँ छन् ? कुनै दिन तिनलाई खोज्ने प्रयास गर्नुभयो ? तिनको निष्ठालाई धोका दिँदै आफ्नो एजेन्डा छाडेर तपाईँले आफूलाई मूलधारमा निशर्तः समाहित गराउनु गल्ती थियो कि थिएन ? सोच्नुहोस् । ती सबै नेता कार्यकर्ताहरूलाई भारत विरोधी, महाकाली सन्धि विरोधी भएकै आरोपमा बिस्तारै पाखा लगाएको, पार्टी छाड्न बाध्य पारिएको तपाईँले पत्तै पाउनु भएन । तपाईँले जुन ताकतका साथ पार्टी विभाजन गर्नुभएको थियो, एजेन्डामा आत्म समर्पण गरेर विना सहयात्री विनै पुनः एमाले पार्टी प्रवेश गरेको कारणले आज लिम्पियाधुरा, महाकालीको मुहान, कालापानी, लिपुलेक लगायत भारतले अतिक्रमण गरेको सिमानाको बारेमा ठाडो शिर राखेर यो त मेरो एजेन्डा हो भन्ने नैतिक बल तपाईँसँग भएन होइन र ?

 तपाईँले धेरै पहिले नै उक्त एजेन्डा छाडेर निशर्त एमालेमा प्रवेश गरेको हुँदा अब त्यो एजेन्डा तपाईएको नै रहेन ! यस्तो अवस्थामा तपाईँजस्ताे नेतृत्वले किन अन्याय भएको महसुस गर्नु पर्‍यो ! बरु तपाईँले एमाले बहिर्गमन गराई फिर्ता नलगेका लाखौँ कार्यकर्ता र ७ लाख तत्कालीन मतदातासँग मैले राष्ट्रवादी एजेन्डा छाडेर गल्ती गरेँ ! माले पार्टी विघटन गरेर गल्ती गरेँ ! लाखौँ लाख कार्यकर्ताहरूलाई सडकमा छाडेर गल्ती गरेँ ! महाकाली सन्धिमा आफूलाई साथ दिने नेता तथा सांसदहरूको राजनीतिक अवसान गराएर गल्ती गरेँ ! भनेर आत्मालोचना गर्न ढिला भएन र ? 

हामी जस्ता लाखौँ लाख कार्यकर्ताहरूलाई विगतमा तपाईँको देशभक्तिपूर्ण आन्दोलनमा लागेको कारण अलपत्र परेकाहरूको खोजी गर्नुहोस् ।  तपाईँलाई हामी न्याय गछौं । पार्टी स्थायी कमिटीले तपाईँलाई कुनै न्याय गर्नेवाला छैन । किनकि मैदान छाडेर हिँडेको सिपाहीप्रति कसैको दया जाग्दैन । तपाई राष्ट्रवादी र देशभक्तिपूर्ण आन्दोलनको मोर्चा छाडेर, आफ्ना सिपाहीहरूलाई शत्रुको तरबार अगाडी निहत्था छाडेर मैदानमा पिठ फर्काउने असफल योद्धा कमााण्डर हो । 

तपाईँले पार्टीसँग न्याय पाउनु पूर्व म जस्ता तपाईँलाई सङ्कटमा साथ दिने सहयोद्धाले कोबाट र कसरी न्याय पाउने ? मेरा कलकलाउँदा जवानीमा विद्रोह बोलेका सुन्दर अतीतहरूको क्षतिपूर्ति कसरी र को बाट हुन्छ ? पहिले त्यसको जवाफ दिनुहोस् । विगतमा कार्यकर्तालाई दिएको धोका प्रति पहिले तपाई आफैँ आत्मालोचना हुनुहोस् । हैन भने पार्टीले स्थायी कमिटीले तपाईँलाई विगतमा गरेको कारबाही गल्ती महसुस गरी तपाईँलाई न्याय प्रदान गरे पनि व्यक्तिगत रुपमा आदरणीय रहँदा रहँदै पनि म जस्ता विद्रोही आत्माले तपाईँलाई राजनीतिक रुपमा कहिले माफ गर्नेछैन कमरेड ! 


वसन्त बस्नेत अधिवक्ता हुनुहुन्छ ।