सिस्नेरी खोलामा पक्की पुल

सिस्नेरी खोलामा पक्की पुल

लोकसंवाद संवाददाता  |  समाज  |  असार १४, २०७७

दाङ । दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ सिस्नेरी खोलामा निर्मित पक्की पुल सञ्चालनमा आएको छ । उक्त पुलको शनिबार गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले उद्घाटन गर्नुभयो ।

प्रेमधन निर्माण सेवामार्फत २० लाख रुपैयाँ लगानीमा पुल निर्माण गरिएको सो पुलबाट गाउँपालिकाका पहाडी क्षेत्र बस्तीखोला, साउनी, बाघखोरलगायतका नागरिकलाई आवतजावत गर्न सहज हनेछ ।  यसअघि त्यहाँ वर्षाका समयमा सवारी साधन आवातजावत ठप्प हुने गरेको थियो । पुल संरक्षणका लागि सोही खोलामा तटबन्धनसमेत गरिने भएको छ । त्यसका लागि वडा नं  ३ ले दुई लाख रुपैयाँ  बजेट छुट्याएको छ ।

यसअघि सोही स्थानमा पुल नहुँदा आवतजावतमा समस्या हुने गरेको वडा नं ३ बस्तीखोलाका आइतुराम विकले बताउनुभयो  । ‘वर्षामा भेल आउँथ्यो, पुल थिएन, त्यसैले आवतजावत गर्न पनि समस्या हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘अहिले पुल बन्यो, सहजै आवतजावत गर्न सकिन्छ ।’ 

गाउँपालिकाले पहाडी क्षेत्रको सडक सञ्जाल विस्तारमा ध्यान दिएको छ । विकासको मुख्य आधार नै सडक भएकाले गाउँगाउँमा सडक सञ्जाल जोडेमा पहाडी क्षेत्रको विकासले फड्को मार्ने गाउँपालिकाका अध्यक्ष डाँगीको भनाइ छ । सबै गाउँमा कच्ची सडक पुगेको र अब तिनलाई पक्की बनाउनेतर्फ आफ्नो ध्यान गएको उहाँले बताउनुभयो ।