कांग्रेस नेता बस्नेतद्वारा पिसिआर उपकरण मिलाइदिने प्रतिबद्धता

कांग्रेस नेता बस्नेतद्वारा पिसिआर उपकरण मिलाइदिने प्रतिबद्धता

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार १४, २०७७

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत कोभिड–१९ को सङ्क्रमण रोकथाम गर्न पार्टी एवं व्यक्तिगत रुपमा स्थानीय जनतालाई सहयोग गर्नेक्रम जारी राख्नुभएको छ । 

उहाँले शनिबार सिन्धुपाल्चोक क्षेत्र नं १ स्थित बाह्रबिसेको अस्पतालमा पिसिआर प्रविधिको व्यवस्था मिलाइदिने प्रतिबद्धता जनाउनुभयो ।  कोरोना रोकथाम र उपचारमा सरकारीस्तरबाट जनअपेक्षाअनुसार काम हुनु नसकेको भन्दै उहाँले नेपालमा कोरोना सङ्क्रमण देखिएको महिनौँ बितिसक्दा पनि एक तिहाइ जिल्लामा पनि पिसिआर प्रविधिबाट स्वाब परीक्षण गर्ने व्यवस्था हुन नसकेकाले जनस्तरबाट समेत सक्रिय भूमिका खेल्नुपर्ने देखिएको बताउनुभयो । 

उहाँले हालसम्म विदेशबाट भित्रिनेलाई उचित क्वारेन्टिनको व्यवस्था हुन नसकेको, सङ्क्रमणको आशङ्का भएकाहरुको स्वाब परीक्षण समयमा हुन नसकेको, कन्ट्याक्ट ट्रेसिङमा उचित ध्यान नगएको, समयमा आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता नभएको, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउने काम नभएको, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता देखिएको लगायतका कारणबाट कोरोनाको जोखिम बढेको आरोप समेत लगाउनुभयो । 

पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहनुभएका उहाँले यसअघि पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थासँग मिलेर जिल्लामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आम नागरिकलाई स्वास्थ्य सामग्री वितरण गर्दै आउनुभएको र सो कार्य अझै जारी रहेको बताउनुभयो । साथै उहाँले आफ्नै पहलमा जिल्लाभरि ६१३ जना स्वास्थ्यकर्मीको कोरोना बीमा गर्नुभएको थियो । 

साथै नेपालकै पहिलो कोरोनाबाट मृत्यु हुनुभएकी नौदिने सुत्केरी सावित्री तिमिल्सिना चालिसेका नवजात शिशुलाई पौष्टिक आहारका लागि  एक लाख रुपैयाँ नगदको प्रबन्ध र १२ कक्षासम्मको अध्ययनमा सहयोग गर्ने  एवं त्यसपछि रोजगारीको व्यवस्था मिलाइदिने घोषणासमेत गर्नुभएको थियो । अब एम्बुलेन्स चालक र नेपाल प्रहरीको कोरोना बीमा गरिदिने क्रममा रहेको उहाँले उल्लेख गर्नुभएको छ ।