बागलुङः तीन घर विस्थापित,१७ उच्च जोखिममा

बागलुङः तीन घर विस्थापित,१७ उच्च जोखिममा

लोकसंवाद संवाददाता  |  समाज  |  असार १४, २०७७

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–३ कम्फुटोलमा जमीन भासिन थालेपछि तीन घर विस्थापन भएका छन् भने १७ घर उच्च जोखिममा परेका छन् । बागलुङ बजारको छेउमा रहेका घरदेखि झण्डै ३५० मिटर तल निर्माण हुन लागेको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजनाका कारण जोखिममा परेको स्थानीयवासीले गुनासो गरेका छन् ।

लिफ्ट खानेपानी आयोजनाका लागि दैनिकजसो स्काभेटर र  डोजर चलाउँदा जमीन कमजोर बनेकाले खानेपानी आयोजनामाथिको बस्ती भासिने र  पहिरो जाने भएको हो । यस स्थानका दुई पक्की घर चर्किएको  तथा अन्य घर उच्च जोखिममा रहेको विस्थापित हुनुभएका घरधनी द्वारिका शाक्यले जानकारी दिनुभयो । 

दुई पक्की घरको पछाडिको पिलरसम्म पहिरो गएको र अन्य स्थानमा जमीन चर्केका कारण विस्थापन हुनुपरेको शाक्यको भनाइ छ । पहिरो गएपछि सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।  पहिरो गएको र जमीन चर्केका स्थानमा प्राविधिक आएर बस्न नमिल्ने भनेपछि भाडाको घरमा सरेको शाक्यको भनाइ छ । घर उच्च जोखिममा परेपछि शाक्यका परिवार र यहाँका अन्य दुई घर विस्थापित भएर अन्य स्थानमा सरेका छन् भने अन्य घरसमेत विस्थापित हुने क्रम जारी  छ । निरन्तरको वर्षात्का कारण बस्ती नजीकै रहेको कालिका कन्या मन्दिर विद्यालयसमेत जोखिममा परेको छ । 

 पहिरो जान थालेपछि घर जोखिममा परेकाले जिल्ला प्रशासन कार्यालय, नगर खानेपानी तथा बागलुङ नगरपालिकालगायत निकायमा निवेदन दिइएको  पहिरोपीडित शुभकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।  बस्तीमुनि खानेपानी आयोजना बनाउँदा पहिरो गएका कारण माथिको बस्तीमा समस्या भएको हो ।  कम्फुटोलको घर वरिपरिको जमीन नै भासिन थालेको तथा अर्कातिर बजार क्षेत्रबाट आउने भलको व्यवस्थापनका लागि बनाइएको कुलोले घर धरापमा परेको श्रेष्ठले बताउनुभयो । “कुलोको सही व्यवस्थापन नै छैन, ढलान गरेको सबै फुटेको छ, पानी जमीनभित्र भित्र गएर घर नै जालाजस्तो भइसक्यो”, उहाँले भन्नुभयो, “दिउँसो पसल गर्छाै‌‍, राति भने भाडाको घरमा बस्न जाने गरेका छौँ ।” जतिसक्दो सम्बन्धित निकायले जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने स्थानीयवासीको माग  छ ।