चिनी रोगका औषधि : कुन अवस्थामा कुन प्रयोग गर्ने ?

खानामा परहेज गर्दा पनि चिनी रोग नियन्त्रण भएन भने चिकित्सकसँग सल्लाह गरेर औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । दोस्रो प्रकारको चिनी रोगको उपचार खाने ओखतीद्वारा गरिन्छ भने पहिलो किसिमको चिनी रोगमा इन्सुलिनको सुई नै दिनुपर्ने हुन्छ । दोस्रो प्रकारको चिनी रोगमा खानामा परहेज गरेर र खानु पर्ने ओखती खाएर पनि नियन्त्रण भएन भने इन्सुलिनको आवश्यक पर्छ । इन्सुलिनको सुईको साथै खाने ओखती पनि खाएर चिनी रोगको उपचार गरिने चलन छ । केही प्रकारका खाने ओखतीहरुले इसुलिनलाई क्रियाशील तुल्याउँछन् । दोस्रो प्रकारको चिनी रोगमा इन्सुलिन भएता पनि क्रियाशील हुँदैन ।

चिनी रोगमा प्रयोग गरिने ओखतीहरूको नामावलीको लिस्ट धेरै लामो हुन सक्छ । चिनी रोगमा प्रयोग गर्ने ओखतीहरू खाने खालका र सुईद्वारा प्रयोग गरिने हुन्छन् ।इन्सुलिन बाहेक केही अन्य किसिमका ओखतीहरूलाई पनि सुईद्वारा प्रयोग गरिन्छ । इन्सुलिनलाई नाकबाट सुँघेर र इन्सुलिनको पम्पद्वारा पनि प्रयोग गरिन्छ । विशेष अवस्थामा प्याँक्रियाजलाई प्रत्यारोपण गरेर चिनी रोगको उपचार गर्न सकिन्छ । चिनी रोगमा प्रयोग गरिने ओखतीहरूको छोटो विवरण यो लेखमा प्रस्त्तुत गरिँदै छ । 

१. सल्फोनिलयुरिया (Sulfonyl Urea) 

सन् १९३७ मा सल्फरले  (Synthetic Sulfur Compounds)  रगतको ग्लुकोज घटाउने गुण थाहा भएको थियो । सन् १९४६ मा अगष्टी लोबाटिरेले (Auguste Loubatires)  यो समूहका औषधिले रगतको ग्लुकोज कम गराउने गुण भएको कुरा प्रकाशमा ल्याएका  थिए ।  टलवुटामाइड (Tolbutarmide)  र क्लोरप्रोपामाइड  (Cholorpropamide)  पहिलो श्रेणीका सल्फोनिल युरिया हुन् । 

सन् १९५० तिर टलवुटामाइडलाई जर्मनीमा उत्पादन गरिएको थियो । यो औषधिहरूलाई मैले पनि प्रयोग गरेको सम्झना ताजै छ । टलवुटामाइडले करोनरी आर्टरी रोग गराउन सक्छ ।  क्लोरप्रोपामाइडले ग्लुकोज धेरै कम गराउनुको साथै रगतको नुन पनि कम गराउन सक्छ । हिजो आज यी दुबै औषधिहरू प्रयोग गरिँदैनन् ।

चिनी रोग नियन्त्रण गर्न प्रयोग गरिने औषधि इन्सुलिन हो । इन्सुलिनलार्ई सुईद्वारा प्रयोग गरिन्छ । खाने ओखतीहरूले चिनी रोग नियन्त्रण गर्न सकिएन भने इन्सुलिनको प्रयोग आवश्यक हुन्छ । हिजो आज धेरै प्रकारका इन्सुलिनहरू पाइन्छन् ।  केही इन्सुलिनहरू चाँडै काम गर्न थाल्दछन् र यिनीहरूको काम गर्ने अवधि छोटो हुन्छ भने ढिलो काम गर्ने र लामो अवधिसम्म काम गर्ने इन्सुलिन पनि हुन्छन् । इन्सुलिनलाई कसरी प्रयोग गर्ने भन्ने विषय जटिल भएकाले अनुभवी चिकित्सकको सल्लाह अनुसार इन्सुलिन प्रयोग गर्नु बुद्धिमानी हुन्छ ।

ग्लिपीजाइड र ग्लाइवुराइड दोस्रो श्रेणीका सल्फोनिलयूरिया सन् १९८४ मा प्रयोगमा ल्याइएका थिए । तेस्रो श्रेणीको सल्फोनिल युरिया ग्लिमेपिराइड हो । 

ग्लिपीजाइड र ग्लाइकाजाइड छोटो अवधि काम गर्ने औषधिहरू हुन् र यिनीहरुलाई मिर्गौलाका रोगीहरूमा प्रयोग गर्न सकिन्छ । सल्फोनिल युरिया समूहका ओखतीहरूले तौल बढाउन पनि सक्छन् । 

ग्लाइवुराइड सल्फोनिल युरिया समूहमा पर्छ । यो सन् १९८४मा एफ.डि. ए.द्वारा स्वीकृति प्राप्त ओखती हो । यसको अर्को नाउँ डावनिल पनि हो । यो ओखती एक घण्टापछि काम गर्न थाल्छ । सबभन्दा ज्यादा काम ४ घण्टा पछि हुन्छ र यसले २४ घण्टासम्म काम गर्छ ।

२. मेटफोर्मिन 

French Lilac अथवा Goat's Rue भनेको एक किसिमको बोट हो र यसमा ग्वानिडिन (Guanidine)  नामक पदार्थ पाइन्छ । युरोपमा यसलाई चिनी रोगको उपचारमा प्रयोग गरिएको थियो । सन् १९६० तिर फेनफोर्मिनको विषयमा धेरै अध्यायनहरु अमेरिकामा भएका थिए । मेटफोर्मिनका विषयमा फ्रान्समा अध्ययन भएको हो । मेटफोर्मिनलाई सन् १९५९ मा चिनी रोगको उपचार गर्न प्रयोग गरिन थालिएको थियो । अमेरिकामा यसलाई प्रयोग गर्ने स्वीकृति सन् १९९० सम्म दिइएको थिएन । 

हिजोआज चिनी रोगको उपचारमा सबभन्दा पहिले प्रयोग गरिने ओखती मेटफोर्मिन नै हो । मिर्गौला र कलेजोको रोग भएका रोगीहरूलाई मेटफर्मिन प्रयोग गर्नु हुँदैन । आयोडिन भएको सुई दिएर गरिने एक्स-रे गर्नु पर्ने बिरामीहरूले केही दिन मेटफोर्मिन बन्द गर्नैपर्छ । गर्भावस्थामा र दूध खुवाउने महिलाहरूलाई मेटाफोर्मिन खान दिन सकिन्छ । डायवेटिज भई नसकेका तर हुने सम्भावना भएकाहरूलाई मेटाफोर्मिनद्वारा उपचार गर्नु पर्छ भन्ने विषयमा विशेषज्ञहरू  सहमत भएको पाइन्छ ।

३. अल्फा–ग्लुकोसाइडेज इन्हिविटर

यो समूहका औषधिहरूले माल्टेज (Maltase)  र सुक्रेज (Sucrose) ) जस्ता ईञ्जायमहरुलाई निष्क्रिय तुल्याएर रगतको ग्लुकोज कम गराउँछन् । एकार्वोस (Acarbose)  यो समूहको ओखती हो र यसले एफ.डि.ए. द्वारा सन् १९९५मा चिनी रोगमा प्रयोग गर्न सकिने अनुमति पाएको हो । यो समूहको अर्को ओखतीको नाउँ मिग्लिटोल (Miglitol) हो ।

४. मिग्लिटीनाइड  

यो समूहको रिपाग्लिनाइड नामक ओखतीले चिनी रोगमा प्रयोग गर्न सकिने अनुमति एफ.डि.ए.द्वारा सन् १९९७ मा पाएको थियो । यो समूहको अर्को ओखतीको नाम नाटग्लिनाइड (Nateglinide)  हो । यो समूहका औषधिहरूले प्याङक्रियाजद्वारा इन्सुलिन पैदा गरेर रक्त ग्लुकोज कम गराउँछन् । यी औषधीहरूले तुरुन्तै काम गर्छन् र यिनीहरूको काम गर्ने अवधि पनि छोटो हुन्छ । रिपाग्लिनाइलाई मिर्गौला रोगीहरुमा प्रयोग गर्न सकिन्छ ।

५.   Glucagon-Like Peptide-Receptor Agonists (GLP-1)

ग्लुकोजलाई शिराद्वारा भन्दा खान दिँदा इन्सुलिन ज्यादा उत्पन्न हुने अवस्थालाई Incretin effect  भनिन्छ । GLP-1 ले इन्सुलिन पैदा गरेर बढेको ग्लुकोजलाई कम गराइएको पाइएको थियो । GLP-1  लाई  Dipepeptidyl Peptidase-4 or DPP-4  नामक इन्जाइमले नष्ट पार्ने भएकाले यसले धेरै छोटो अवधिसम्म मात्र काम गरेको पाइयो । यसर्थ लामो अवधि काम गर्ने DLP-1 analogs र  Dpp-4  ईन्जायमलाई निष्क्रिय तुल्याउने ओखती पत्ता लागाईयो । जिएलपी–१ को एनालगुलाई सर्वप्रथम Gila Monster  को सालीभरी ग्रन्थिबाट पत्ता लगाइयो । सन् २००५ मा Exenatide   बनाएर चिनी रोगीहरूमा प्रयोग गरियो । यो पछि अर्को जिएलपी–१ एनालग लिराग्लुटाइड पत्ता लगाइयो र यसले सन् २०१०मा चिनी रोगीहरूमा प्रयोग गर्न सकिने अनुमति पायो । सन् २०१२ मा एक हप्तासम्म काम गर्ने Exenatide  ले अनुमति पाएको थियो । यो औषधि सुइद्वारा प्रयोग गरिन्छ । यो समूहमा पर्ने अन्य औषधिहरूको नाउँ Lixsenatide र Albiglutide    हुन । यो समूहका औषधिहरूले तौल घटाउन मद्दत गर्छन् । 

डिपिपि–४ Inhibitors 
 सन् २००६मा अनुमति प्राप्त गर्ने Sitagliptin यो समूहमा पर्छ । Alogliptin र Vilagliptin   यो समूहका अन्य ओखतीह्रु हुन् । यो समूहको औषधिहरूले तौल घटाउने बढाउने गर्दैनन् । 

६ . Amylin Agonists  

एमाइलिन हर्मोन प्यांक्रियाजबाट इन्सुलिनसँगै उत्पन्न हुन्छ । दोस्रो किसिमको चिनी रोगमा यो कम मात्रामा पाइन्छ भने पहिलो प्रकारको चिनी रोगीहरूमा यो हुँदै हुँदैन भने पनि हुन्छ । एमाइलिनले इन्सुलिन बढाउँदैन  । यसले खाना पछि पैदा हुने ग्लुकागोनलाई कम गराउनुका साथै पेटबाट आन्द्रामा खाना ढिलो पुर्‍याउँछ । यिनै कारणले गर्दा रगतको ग्लुकोज कम हुन्छ । 

प्रामलिनटाइड (Pramlintide) ले एमाइीलनको जस्तै काम गर्छ र यसलाई चिनी रोगमा सुईद्वारा प्रयोग गरिन्छ । यो ओखती एकदमै रगतको ग्लुकोज कम गराउने अवगुण हुँदैन र यसले तौल पनि बढाउँदैन ।

 ७. Thiazolidinediones 

यो समूहका औषधिहरूलाई ग्लिटाजोन्स पनि भनिन्छ र यिनीहरूलाई सन् १९९६ देखि अमेरिकामा प्रयोग गरिन थालिएको हो  । यिनीहरूलाई  peroxisome proliferator - activated receptors भनिन्छ र मांसपेशीमा इन्सुलिनलाई ज्यादा क्रियाशील तुल्याउनुका साथै यिनीहरूले कलेजोबाट ग्लुकोज कम उत्पादन गराउँदछन् । Pioglitazone  र  Rosiglitazone  यो समूहका ओखती हुन् ।

८.  Bromocriptine 

यो औषधिलाई चिनी रोगीहरूमा सर्वप्रथम सन् २००९मा अमेरिकामा प्रयोग गरिएको थियो ।

९.कोलेसेभेलाम

कोलेसेभेलामलाई चिनी रोगीहरूको उपचारमा प्रयोग गर्न सकिने अनुमति सन् २००८ मा मात्र प्राप्त भएको हो ।यो औषधिले रगतको एलडिएल कोलेस्ट्रोल र ग्लुकोज कम गराउँछ भने ट्राइग्लिसेराइडलाई केही मात्रामा बढाउन सक्छ । 

१०.Sodium Glucose Co-Trans Porter 2 Inhibitors 

एसजिएलटी–२ Inhibitors ले करिब ९० प्रतिशत ग्लुकोज मिर्गौलाबाट रगतमा जान रोक्छ र रगतको ग्लुकोज कम गराउँछ । यी समूहका औषधिले तौल पनि कम गराउँछन् ।   Canagliflozin, Dapagliflozin  र  Empagliflozin यो समूहका औषधिहरू हुन् । कानाग्लिफोजिन ले सन् २०१३ मा र डापाग्लिफ्लोजिनले २०१४ मा चिनी रोगीहरुको उपचारमा प्रयोग गर्न सकिने अनुमति पाएका हुन् ।

११. माथि उल्लेख गरिएका धेरैजसो औषधिहरू बिरामीलाई खाना दिएर उपचार गरिन्छ । यिनीहरू मध्य केही ओखतीहरूलाई सुईद्वारा प्रयोग गरिन्छ ।

 चिनी रोग नियन्त्रण गर्न प्रयोग गरिने औषधि इन्सुलिन हो । इन्सुलिनलार्ई सुईद्वारा प्रयोग गरिन्छ । खाने ओखतीहरूले चिनी रोग नियन्त्रण गर्न सकिएन भने इन्सुलिनको प्रयोग आवश्यक हुन्छ । हिजो आज धेरै प्रकारका इन्सुलिनहरू पाइन्छन् ।  केही इन्सुलिनहरू चाँडै काम गर्न थाल्दछन् र यिनीहरूको काम गर्ने अवधि छोटो हुन्छ भने ढिलो काम गर्ने र लामो अवधिसम्म काम गर्ने इन्सुलिन पनि हुन्छन् । इन्सुलिनलाई कसरी प्रयोग गर्ने भन्ने विषय जटिल भएकाले अनुभवी चिकित्सकको सल्लाह अनुसार इन्सुलिन प्रयोग गर्नु बुद्धिमानी हुन्छ ।

यो पनि 

चिनी रोग : के कारण लाग्छ ? लागेको कसरी थाहा पाउने ? र कति प्रकारका हुन्छन् ?

चिनी रोगीहरूको सङ्ख्या : नेपालमा १५ देखि १९ र विश्वमा करिब ३ प्रतिशत जनसङ्ख्या पीडित !

चिनी रोग : जसका कारण देखिने अल्पकालीन बिमार, लक्षण र उपचार

चिनी रोग र दीर्घकालीन रोग : यसले मिर्गौला, आँखा, स्नायु र छालामा पुर्‍याउने गम्भीर खाले क्षति


प्रा.डा. डिबी कार्की,बरिष्ठ मुटुराेग विशेषज्ञ हुनुहुन्छ ।