धान दिवसको सार्थकता :  रमिता देखाउने नाटक बनाउने कि भोकमरी अन्त्यको माध्यम ?

धान दिवसको सार्थकता :  रमिता देखाउने नाटक बनाउने कि भोकमरी अन्त्यको माध्यम ?

रमेश भट्टराई ‘सहृदयी’  |  दृष्टिकोण  |  असार १५, २०७७

हली र बाउसेले माटो सम्याउँथे । हिलो बनाउँथे । छेउ कुना चटक्क मिलाउँथे अनि रोपारले छुपाछुप धान रोप्दै आपसमा हाँसो मजाक गर्थे । शारीरिक श्रम हुँदै गथ्र्यो तर ओठमा पवित्र हाँसो हुन्थ्यो । मनमा पापले रत्तीभर पनि स्थान जमाउँदैनथ्यो । आपसमा हँसिमजाक गर्दै हिलो छ्यापाछ्याप हुँदाको मजा पनि बेग्लै थियो । 

बुढापाकाले बिउ काढ्ने अनि बलिया युवायुवतीले आ–आफ्नो क्षमता अनुरूप भूमिका निर्वाह गर्ने चलनको मजा नै बेग्लै थियो । भलै नवीन विधि र प्रविधिको अभाव थियो तर सामाजिक भाइचाराको अर्मपर्माको राम्रो सहकार्यमा कृषिले समाजलाई सुखको डोरोमा बाँधेर राखेको पनि त थियो ।

सिमसिम होओस् या मुसल धारे पानी होओस् घुम वा प्लास्टिक ओढेर भए पनि काम गर्नै पर्ने कर्मवादी सोचमा कसैको विमति हुँदैनथ्यो । खोल्साको पानी सोझ्याउने, पालोमा काम गर्नेसम्ममा पनि सहमति नहुने होइन । तर, सँधियारहरू पानीका निहुँमा झै–झगडाले ठुलो मनमुटाब ल्याउने हाम्रो समाजको अवस्थालाई पनि नकार्न सकिँदैन । अर्कोतिर जग्गा बाँझो भयो भने गाउँभरि चर्चा चल्थ्यो । अर्मपर्म र ऐँचोपैँचोको सहयोगी भावनामा सामूहिक उपस्थितिमा व्यक्तिगत सम्पत्तिको उत्पादनमा आ–आफ्नै स्वामित्वको भाव थियो । 

आजको दिन नेपालमा कृषि मैत्री भावका समाचारले निकै स्थान पाएका छन् । असार १५ लाई  ‘सुनको दाना’ भनेर चिनिने धानका नामबाट आज १७ औँ ‘धान दिवस तथा रोपाइँ दिवस’ मनाइरहिएको छ । २०६१ सालदेखि धान दिवस भनेर मनाइने निर्णय भएको भए पनि कृषिका लागि हिउँदे र बर्खे दुवै बाली उत्पादनमा नेपालको माटो सुहाउँदो नीतिको खाँचो छ । हाम्रो समाजमा असार महिनालाई ‘मानो खाएर मुरी उब्जाउने समयका रुपमा मानिन्छ ।  

तर, ‘धान दिवस’ पनि उही टोपी दिवसका दिन ढाका टोपी लगाए जस्तो मात्रै देखिन्छ । जसले सधैँ टोपी लगाइरहन्छ, उसलाई टोपी लगाएर भन्दा नलगाएर अनौठो मान्नुपर्छ । अलिकति हिलो लाग्दा पनि बरबादै भएको मान्नेले एक दिन, एक छिन त्यो पनि फोटोमा राख्नका लागि हिलो खेलेर कृषि विकासमा आमूल परिवर्तन आउने होइन अर्थात् यो एउटा लेखभित्र मैले गरेको चर्चाले पनि आउँदैन । यो व्यावहारिक पाटो कृषि विकाससँग  जोडिएको । 

सडकमा एकै छिन धान रोपेर, नेताजीले रोप्नुपर्ने धानको बिउको मालालाई घाँटीमा लगाएर, चिल्ला गाडीमा चढेर कृषिका गफ गरेर पनि त कृषिमा रूपान्तरण सम्भव हुँदैन । अनि जसले साँच्चै श्रम गर्छ उसलाई तल्लो दर्जाको मान्ने कामलाई हेप्ने सुटेटबुटेटहरू एक दिने र एक छिने रमिते नाटक गर्दै छौँ । भाषणमा होस् या सञ्जालमा नाटक मात्र देखाएर कृषक कति खुसी हुन्छ ? कमसेकम आफले केही नगरे पनि हरेक श्रम र हरेक श्रमिकलाई सम्मान गर्न पनि सिकौँ ।

स्यालको हुँइयाँले हाम्रो समाजले आवश्यकताभन्दा विलासी चाहनाका लागि सम्पत्तिको खोलो बगाउँछ । यो असमान वितरणमुखी खर्च गर्नेभन्दा गाउँ बनाऔँ । अब गाउँकै माटोभित्रको उत्पादनात्मक सम्भाव्यतालाई केलाएर सोही अनुरूप प्रोत्साहनात्मक योजना तय गर्ने कृषि विकासवादी सोचतिर सरकारको ध्यान जाओस् । आत्मनिर्भरताको बाटोलाई नै महत्व  दिइयोस् । रोजगारको बाटो गाउँभित्रै परिवारकै साथमा रहेर हुने हो भने परिवार पनि बिग्रन्न अनि आत्महत्याजन्य घटना धेरै हदमा घट्छन् । पारिवारिक खुसी बढ्छ तब समृद्ध नेपाल र सुखी नेपालीको नाराले सार्थकता पाउला । 

आजभोलि त सामाजिक सञ्जालका लागि असार १५ ले दही–चिउरासँग सम्बन्ध राख्छ । हिजो मकैको च्याँख्ला र कोदोको ढिँडो मात्र खान पाउने हाम्रो गरिबी र विपन्न समाजका लागि धानको भात खान पाउनु, चिउरा खान पाउनु ठुलो कुरा भएकाले पनि असार १५ मा महाजनका बेँसीमा रोपाइँ गर्ने एउटा परिपाटी बन्यो । मजदुरहरू दही–चिउरा खान पाइने आशामा पनि काम गर्न आफैँ नै जाने इतिहास धेरै पुरानो होइन । त्यसो त बेठी लगाउने चलनमा सामन्ती सोचभन्दा पनि बढी रमरौसका साथमा खेतीपातीको मजा थियो । सङ्गीतको मीठासताले समाजका सबै वर्गको सहभागिता हुन्थ्यो । तर, विभेदको जालो र अन्धविश्वासको पर्दा हटाउने ज्ञान नहुँदा छुवाछुतको चन्द्रमाको दाग आजसम्म दुख्नु गलत हो । यद्यपि अभ्यस्त हुँदा पानी नछोए पनि प्रेमको भाव र सद्भाव कति पनि अछुतो नहुने मानवता भने बेग्लै थियो भन्नुपर्छ ।

विश्वका आधाभन्दा बढी जनसङ्ख्याले धानको चामललाई नै प्रमुख खाद्यान्नका रूपमा प्रयोग गर्ने हुँदा धानको चर्चा धेरै हुनु स्वाभाविक हो ।  त्यसमा पनि एसियाली मुलुकमा करिब ९० प्रतिशतभन्दा पनि अधिक रूपमा धानको खपत हुने हुँदा पनि यसको उपादेयता बढेको देखिन्छ । हामी कृषि क्रान्तिको कुरा गरिरहन्छौँ तर हिजो खाद्यान्न निर्यात कम्पनी बनाएको हाम्रो मुलुक आज आयातित अन्नमा परनिर्भर बनिरहेको यथार्थमा हामी अब यथार्थमा दुख्नुपर्छ ।

आँखाले देखेसम्मको घरजग्गा कौडीको भाउमा बेच्छ अनि शहरको एउटा घडेरीमा खन्याएर करोडौँ पर्ने एउटा महल ठड्याउँछ । उत्पादनयोग्य सुन्दर टारी जमिन, ठुला फाँटमा घर–घडेरी बनाएर, उद्योग–कलकारखाना आदि निर्माण गरेर या त प्लटिङ गरेर बजारीकरण गरिनु नै नेपालका लागि ठुलो अभिशाप हो । कृषिप्रधान भनिएको देशले काठमाडौँजस्तो बहुमूल्य तलैया माटो भएको अत्यन्तै उर्वर जमिनमा कङ्क्रिट सहर बनिरहँदा रोक्न सकेन । चितवन लगायतका क्षेत्रमा समेत ग्रामीण विकास तथा कृषिमुखी बाटो बनाउने कुरा असम्भव प्रायः नै भइसक्यो । नीति तथा कार्यक्रममा जे जति उल्लेख भए पनि बाटो–घाटा, पुल पुलेसा, भवनादि निर्माणलाई मात्र विकास ठान्ने हाम्रो मथिङ्गलमा दीर्घ रोग लागिरहेकै छ । कृषिको लगानीलाई सहकारी तथा केही बैङ्कले मूल्य दिए पनि सरकारकै तर्फबाट चाहिँ आकर्षक रूपमा व्यावहारिक सम्बोधन भएको देखिँदैन । 

हरेक खेतको उत्पादनशीलता परीक्षण, माटोको परीक्षण, आकाशे पानीको भरमा रहेकाहरूलाई नहर तथा कुलोको व्यवस्था गर्ने लगायतका मसिना योजनामा पनि सरकार कटिबद्ध भएको देखिँदैन भन्दा अत्युक्ति नहोला । मल, बिउ, किटपतंगको समस्या हल गर्ने प्रभावकारी योजना हामीसँग छैन । अहिले सलहको भयले कृषकको मनमा भूकम्प जाँदा हामीले नियन्त्रणको द्रुत मार्गलाई खोजौँ र सरकारले सहयोगी भूमिका खेलोस् ।

होलीका दिन होली मनाउने रमाइलोले एउटा संस्कृति बोकेजस्तो धान दिवसले सडक, सहर होइन गाउँ र खेतका गरा, कान्ला रङ्गिनुपर्छ । यो एक दिने दिवस होइन एउटा हरित क्रान्तिको अर्थात् उत्पादन क्रान्तिको मार्ग बन्नुपर्छ । आव २०७६/ ०७७ मा नेपालमा १४ लाख ५९ हजार हेक्टरमा धान खेती हुँदा ५५ लाख ५० हजार मेटिन्क टन धान उत्पादन भएको तथ्याङ्क छ । अर्कोतिर नेपालले गत १० महिनामा मात्रै १८ अरब रुपैयाँ बराबरको चामल मूलतः भारतबाट आयात भएको देखिन्छ । एसियाली देशमा उत्पादन हुने धानको ५० प्रतिशत उत्पादन त चीन र भारतमा मात्र हुन्छ । भोकमरीको मारलाई अन्त्य गर्ने खुबी भएको धानलाई उत्पादन गर्नु यस कोरोना महामारीको सङ्क्रमणले निम्त्याएको अवसर हुन सक्नुपर्छ । 

विकास र समृद्धिका कुरा माथिल्ला तहमा निकै जोडतोडका साथ हुन्छन् । कार्यान्वयन तहमा आउँदा जे वास्तविकता छ त्यो यथावत् रहिरहन्छ । यी कुरा कछुवा गतिमा हुन्छन् । वास्तवमा श्रम गर्नेले श्रमको मूल्य नपाउँदा पनि ऊ बाध्य भएर पिसोल्टिन्छ । एउटा जान्दछ तर बोल्दैन, अर्को जान्दछ तर बोल्न सक्दैन र अर्को जान्दैन र बोल्नै सक्दैन । 

जति परिवर्तनको कुरा गरे पनि हाम्रो नेपाली समाजको धरातलभित्र वास्तविकताको अभाव छ । नेटवर्क नआएर अनलाइन कक्षा लिन नसक्नेका पीडा, बाह्र महिना काम गरेर तीन महिना खान नपुग्नेका दशा, इमेल–इन्टरनेट जान्दै नजान्ने तर रेडियोसम्म सुन्नेका कुरा उस्तै छन् । हुन सक्ला डिक्स होम राखेर टिभीसम्म राख्नुपर्छ भन्ने सोच विकास भएको हुँदो हो । विकास भनेको बाटो र बिजुली तथा केही भवनको निर्माण मात्र हो भन्ने देखिन्छ । व्यवस्थाभित्र सदियौँदेखि जरो गाडेर रहेका शोषणवादी सोच र चलाखीपनभित्रको आधुनिक शोषणपनको अन्त्य पनि विकास नै हो । घर–घरका समस्या हल गर्ने गरी रोजगार र उत्पादनको सम्भाव्यतालाई आङ्कलन गरी समाधान खोज्न थाल्नुपर्छ । गाउँको विकासविना देशको विकास सम्भव देखिँदैन । 

अब विकल्प खोजौँ । भारतबाट दैनिक रूपमा आयात हुने सागसब्जी, मरमसला नेपालको कुन क्षेत्रमा कसरी गर्न सकिन्छ भनेर अध्ययन गरौँ । सर्वेक्षण गरौँ । किसानलाई बजेट दिऊँ । युवालाई पनि कृषि कार्यको आधुनिक प्रयोगमा प्रश्रय दिलाऔँ तब कृषि विकासका योजनालाई समय, सन्दर्भ र माग बमोजिम तय गरौँ । आजको हाम्रो समाज अलिकति कमाउँछ अनि सहर तिर कोच्चिन पुग्छ । 

आँखाले देखेसम्मको घरजग्गा कौडीको भाउमा बेच्छ र एउटा शहरको घडेरी खन्याएर करोडौँ पर्ने एउटा महल ठड्याउँछ । यो प्रवृत्तिमा लाग्नेलाई विकसित र सभ्य भन्ने संज्ञा दिन्छ । स्यालको हुँइयाँले हाम्रो समाजले आवश्यकताभन्दा विलासी चाहनाका लागि सम्पत्तिको खोलो बगाउँछ । यो असमान वितरणमुखी खर्च गर्नेभन्दा गाउँ बनाऔँ । अब गाउँकै माटोभित्रको उत्पादनात्मक सम्भाव्यतालाई केलाएर सोही अनुरूप प्रोत्साहनात्मक योजना तय गर्ने कृषि विकासवादी सोचतिर सरकारको ध्यान जाओस् । आत्मनिर्भरताको बाटोलाई नै महत्व  दिइयोस् । रोजगारको बाटो गाउँभित्रै परिवारकै साथमा रहेर हुने हो भने परिवार पनि बिग्रन्न अनि आत्महत्याजन्य घटना धेरै हदमा घट्छन् । पारिवारिक खुसी बढ्छ तब समृद्ध नेपाल र सुखी नेपालीको नाराले सार्थकता पाउला ।