सडक विभागले भुक्तानी गर्नुपर्ने रकम सात अरब बाँकी

सडक विभागले  भुक्तानी गर्नुपर्ने रकम सात अरब बाँकी

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १५, २०७७

काठमाडौँ । सडक विभागले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम सात अर्ब रुपैयाँ पुगेको छ । यो रकम ठेक्का सम्झौतानुसार काम गरेर भुक्तानीका लागि पेश भएको बिलको रकम हो । 

यो महिनाको अन्तिमसम्ममा थप पाँचदेखि सात अर्ब रकम भुक्तानी गर्नुपर्ने दायित्व रहेको विभागका प्रवक्ता उपमहानिर्देशक शिवहरि सापकोटाले बताउनुभयो । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण भुक्तानी गर्नुपर्ने रकम विभागले दिन सकेको थिएन । आर्थिक वर्षको अन्तिम भएकाले विभागले चालू आवको भुक्तानी यही महिनाभर गरिसक्नुपर्ने बाध्यता छ । निर्माणको काम भइसकेको ठेक्कामा भुक्तानी गर्नुपर्ने विभागको जिम्मेवारी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'काम गरेपछि पैसा माग्नु स्वभाविक हो, चाँडो भुक्तानीका लागि पहल गरिरहेका छौँ ।'

विभागमा यही २५ गतेसम्ममा भुक्तानीका लागि विल आइसक्ने उपमहानिर्देशक सापकोटाले बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग यस विषयमा कुराकानी भइरहेको छ । उहाँले भन्नुभयो, 'अर्थ मन्त्रालय पनि यसमा गम्भीर छ, छिट्टै विनियोजन हुने हाम्रो विश्वास छ ।'