प्रदेश सञ्चित कोष विधेयक बहुमतले पारित

प्रदेश सञ्चित कोष विधेयक बहुमतले पारित

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १५, २०७७

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभामा आज आर्थिक वर्ष २०७७/०७८ को सेवा र कार्यका लागि प्रदेश नं ५, प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा विधेयक निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

यसअघि मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शङ्कर पोखरेलले सोसम्बन्धी विधियेक पारित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गर्दैै सञ्चित कोषबाट केही रकम खर्च गर्ने प्रबन्ध अस्थायी भएको र  प्रदेशसभाबाट अधिकार प्राप्त मात्र गर्न खोजेकाले यस्तो विषयमा  विमति जनाउने प्रचलन राम्रो  नभएको बताउनुभयो । सो विधेयकमा विपक्षी दल नेपाली कांग्रेसले विमति जनाएको थियो । 

प्रदेश नं ५को  प्रदेशसभामा कार्यव्यवस्था परामर्श व्यवस्था महाशाखाको तालिकामा केही फेरबदल भएपछि प्रदेशसभामा विपक्षी दलका सदस्य अनुपस्थित हुँदा प्रदेशसभा एक घण्टा स्थगन भएको थियो । प्रदेशसभाका सचिव दुर्लभ पुनले मुख्यमन्त्री पोखरेलको समयाभावका कारण तालिकामा फेरबदल भएको र विपक्षी दल सहमत भएपछि प्रदेशसभा सञ्चालन भएको बताउनुभयो । विनियोजन विधेयकमाथिको छलफल तालिका असार १६ गतेसम्म रहेकामा परिवर्तन गरेर विनियोजन विधेयकमाथिको छलफल आजै सकिएको थियो ।