सामाजिक एकता सङ्कटमा ! कोरोना भाइरसको महामारीले वैज्ञानिक र राजनीतिक दुवै क्षेत्रमा गम्भीर प्रश्न !!

सामाजिक एकता सङ्कटमा ! कोरोना भाइरसको महामारीले वैज्ञानिक र राजनीतिक दुवै क्षेत्रमा गम्भीर प्रश्न !!

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १५, २०७७

गत वर्षको ३१ डिसेम्बरमा चीनवको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या  विश्वको  एक करोड जनसंख्यामा  पुगेको छ । कोरोना नियन्त्रणका लागि विश्वभर लगाइएका कडा भन्दा कडा लकडाउनदेखि सामाजिक दुरी र व्यक्तिगत सुरक्षाका लागि अपनाइएको सावधानीबिच यसले विश्वमा नयाँ हलचल  नै पैदा गरिदिएको छ । 

कोरोना भाइरस संक्रमणको फैलावट यसरी अघि बढ्यो कि यसले दोस्रो विश्वयुद्धका विजेता शक्तिलाई समेत शक्तिहीन बनाइदियो । यसकारण कोरोना भाइरसले अहिलेका वैज्ञानिक युगलाई समेत कडा चुनौति दिएको छ । एक अर्थमा भन्दा वैज्ञानिक अस्त्रलाई नै असफलसिद्ध पारिदिएको छ । विश्वले गरेका चरम विकासलाई समेत कठिन मोडमा हुत्याइदिएको छ । 

कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्रमा समेत नराम्रो असर परेको छ । अर्थशास्त्रीहरुले अहिले थला परेको अर्थतन्त्रलाई उकास्न अझै केही वर्ष पर्खिनुपर्ने भविष्यवाणी गरिसकेका छन् । योसँगै विश्वको आर्थिक र राजनीतिक शक्ति कतातिर केन्द्रित हुन्छ र कोरोना महामारीपछि विश्व कतातिर ढल्किन्छ भन्ने बारेमा विभिन्न खाले भविष्यवाणीहरु समेत भइरहेका छन् । 

‘बाइ सेपियन्स अ ब्रिफ हिस्ट्री अफ ह्युमन काइण्ड’ का लेखक तथा इतिहासकार युभल नोहा हरारीले भनेका छन्, ‘कोभिड–१९ को संक्रमणसँग लड्नका लागि विश्वभरका मानिस र सरकारले जुन बाटो तय गर्नेछन्, त्यसले आगामी वर्षहरुमा संसारलाई नै बदलिदिनेछ ।’  

उनले भनेजस्तै कोरोना भाइरसको महामारीपछि समाज कस्तो बन्ला ? विश्वभरी एक आपसमा एकता कायम होला या दुरी बढ्ला ? अंकुश लगाउने, निगरानी राख्ने तरिकाबाट नागरिकलाई बचाउन सकिएला वा उनीहरुमाथि उत्पीडन होला ? यी प्रश्न साँच्चै अनुत्तरित छन् । 

हरारीले भनेका छन्,‘संकट यस्तो छ कि हामीले ठूलो निर्णय गर्नुपर्छ । यी निर्णय छिटो लिनु पर्छ । हामीसँग विकल्प भने छन् ।’

कोरोना भाइरस नियन्त्रणका लागि विश्वभर विभिन्न तरिका अवलम्बन गरेको पाइन्छ । केही देशले सहकार्य गरेर अघि बढेका छन् । केही देश एकल रुपमा अघि बढिरहेका छन् । यो संकटमा युरोपेली संघभित्रका देशको सीमा समेत लामो समय सम्म बन्द हुन पुग्यो । त्यसैले यो संकटको निराकरण कसरी गरिन्छ भन्ने कुरा चासोपूर्वक हेरिएको छ । 

हरारी भन्छन्, ‘यो संकटको सामना हामी आन्तरिक तरिकाले गर्छौं कि विश्व साझेदारी र एकता प्रदर्शन गरेर गर्छौं ?’ सार्वभौम हरेक देशले केन्द्रीकृत व्यवस्था र सामाजिक एकतासहितको नागरिक सशक्तिकरणजस्ता विकल्पहरु छनौट गर्न सक्छन् । 

हरारीका अनुसार कोरोना भाइरसका महामारीले वैज्ञानिक र राजनीतिक दुवै क्षेत्रमा प्रश्न उठाएको छ । कोरोना भाइरसको महामारीकाबीच विश्वमा केही वैज्ञानिक चुनौती हल गर्ने कोशिस भइरहे पनि राजनीतिक समस्यातर्फ ध्यान निकै कम गएको छ । 

अहिले धेरै मानिस, मानिसबाटै डराउने र तर्किने परिस्थिति सिर्जना भएको छ । यसलाई हेरेर धेरै मानिसले अबको समाजमा लामो समयसम्म यसरी नै दुरी कायम हुने आशंका गरिरहेका छन् । तर के कुरा स्पष्ट हो भने, अहिले हामीले जस्तो अवस्थाको सामना गरिरहेका छौं, यो केबल महामारी नियन्त्रणका लागि मात्रै हो । महामारीबाट मुक्ति पाउनका लागि चुनेका विकल्पको असर जस्तो भएपनि मानिस सामाजिक रुपमा परिवर्तन हुँदैन । मानिस एक सामाजिक प्राणी हो र रहने छ ।

उनी भन्छन्, ‘महामारीलाई रोक्न आवश्यक पर्ने सबै चिज मानिससँग छ । यो मध्यकालीन समय होइन । यो प्लेग जस्तो महामारी पनि होइन । मानिसहरु किन मरिरहेका छन् ? के गर्ने भन्ने जानकारी नै नपाउने अवस्था त छैन ।’

कोरोना भाइरस संक्रमितको संख्या १ करोड पुग्दा यसको खोप वा औषधि पत्ता लाग्न सकेको छैन । विश्वमा प्रविधिको विकास पनि चरम अवस्थामा भइसकेको छ, आर्थिक संसाधन पनि छ । तर यसलाई कसरी प्रयोग गरिन्छ भन्ने कुरा राजनीतिक प्रश्न हो । जुन कोरोना महामारीको अस्तव्यस्त समयमा पनि हल गरिएन र आज विश्वसामू विशाल चुनौति बनेर उभिएको छ । 

‘आपतकालले ऐतिहासिक प्रक्रियालाई छिटो अगाडि बढाउँछ । आमरुपमा जुन निर्णय गर्न वर्षौं लाग्छ ती निर्णय रातारात गर्नुपर्छ,’ हरारी फाइनान्सियल टाइम्समा लेखेका छन्  ‘आपतकाल खतरानाक रुपमा विकसित भइरहेको छ । प्रविधिलाई पूूर्ण विकास र बहस बिना नै प्रयोग गरिँदै छ ।’ 

‘स्वास्थ्य होस अथवा आर्थिक मामलामा सरकारले निर्णायक निर्णय गर्न सक्छ, कडा कदम उठाउन सक्छ । म यसको पक्षमा छु । तर यो त्यो सरकारले गर्नु पर्छ जुन पुरा जनसंख्याको प्रतिनिधित्व गर्छ,’ उनले भनेका छन्, ‘आम रुपमा ५१ प्रतिशत जनसंख्याको समर्थनमा सरकार बनेको हुन्छ । यस्तो अवस्थामा सरकारले पुरा देशबासीको ख्याल गर्नुपर्छ ।’

केहि वर्षदेखि राष्ट्रवाद र सस्तो लोकप्रियताको बलमा सवार सरकारका कारण समाज नै विभाजित बनेको अवस्था छ । यस्ता सरकारले अरु विचार र अरु देशविरुद्ध घृणा फैलाउन प्रोत्साहित गरिरहेका छन् । 

तर विश्वभरी फैलने महामारीले सामाजिक समूह र देशबीचमा भेदभाव गर्दैन भन्ने कुरा कोरोनाकालमा आएर पनि स्पष्ट भएको छ । त्यसैले महामारीको समयमा एक्लै हिँड्ने कि आपसी सहयोग र मेलमिलापसहित अघि बढ्न् भन्ने निक्र्यौल गर्नुपर्छ । 

विश्वमा अहिले केहि देशहरु महामारीबाट मुक्ति पाउन एक्लै कोशिस गरिरहेका छन् । यसमा पनि चिकित्सकीय सेवा सुविधा र निजी फर्महरुबाट पाइने आपूर्तिको माध्यबाट गरिरहेका छन् । अन्य देशलाई मास्क, रसायन र भेन्टिलेटरको आपूर्ति गर्न नदिएको भन्दै अमेरिकाको तीव्र आलोचना भएको थियो । 

विश्वका विकसित र धनी भनिएका देशले कोरोनाविरुद्धको खोपका १२० वटा भन्दा बढी परियोजनामा काम भइरहेको छ । तर, यो खोप विकासशील र गरिब राष्ट्रले पाउँने सम्भावना निकै कम छ । किनकि खोप नबन्दै त्यस्ता राष्ट्रले ठूलो मात्रामा खोप ‘रिजर्भ’ गरिसकेका छन् ।

अमेरिका, जर्मनीसहित ईयूआबद्ध देशहरु खोप नबन्दै खोप किन्नमा ठूलो मात्रामा धनराशी घोषणा गरिरहेका छन् । जुन कुरा विकासशील र गरिब राष्ट्रले सकेका छैनन् । 

‘विश्वभरीमा आपसी सहयोग, जानकारी, सूचनाको आदानप्रदान र महामारीबाट प्रभावित देशहरुमा स्वास्थ्य उपकरको निष्पक्ष वितरण गरिनुपर्छ,’ हरारी भन्छन्, ‘अन्तिम पटक महामारीको समयमा मानिसले स्वयंलाई कसरी अलग राखेर आफ्नो बचाउ गर्न सफल भएका थिए । यो थाहा पाउनका लागि पाषणकालीन युगमा जानु पर्छ । मध्यकालीन युग (१४ औ शताब्दी) मा पनि प्लेगको महामारी फैलिएको थियो । मध्यकालीन युगमा फर्केर बचाउ सम्भव छैन ।’

सामाजिक व्यवहार कस्तो होला ?

अहिले धेरै मानिस, मानिसबाटै डराउने र तर्किने परिस्थिति सिर्जना भएको छ । यसलाई हेरेर धेरै मानिसले अबको समाजमा लामो समयसम्म यसरी नै दुरी कायम हुने आशंका गरिरहेका छन् । तर के कुरा स्पष्ट हो भने, अहिले हामीले जस्तो अवस्थाको सामना गरिरहेका छौं, यो केबल महामारी नियन्त्रणका लागि मात्रै हो । महामारीबाट मुक्ति पाउनका लागि चुनेका विकल्पको असर जस्तो भएपनि मानिस सामाजिक रुपमा परिवर्तन हुँदैन । मानिस एक सामाजिक प्राणी हो र रहने छ ।

मानिसले बिरामीको नजिक गएर करुणा दर्शाउने गर्दथ्यो । कोरोना भाइरस उसको ठीक उल्टो छ । हरारी भन्छन्, ‘यो भाइरस हामीलाई संक्रमित गर्नका लागि हाम्रो प्रकृतिको शोषण गरिरहेको छ । हामीले स्मार्ट हुनुपर्छ । दिमागले सोच्नु पर्छ, मनले होइन, सामाजिक दुरीको बाटो अपनाउनु पर्छ ।’

सामाजिक प्राणाीका लागि यो समस्याको विषय हो । तर संकटबाट मुक्त भएपछि सामाजिक एकताको आवश्यकता झनै बढी हुनेछ । यो भाइरसले मानिसको प्रमुख प्रवृत्तिलाई बदल्ने छ, मानिसलाई होइन ।