पर्यटनमन्त्रालयले विभिन्न स्रष्टालाई पुरस्कृत गर्ने घोषणा

पर्यटनमन्त्रालयले विभिन्न स्रष्टालाई पुरस्कृत गर्ने घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १६, २०७७

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधाका स्रष्टालाई प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ । मन्त्रालयले आइतबार भएको मन्त्रिस्तरको निर्णयबाट राजनीतिक तथा सांस्कृतिक परिवर्तन, भाषा, साहित्य, संस्कृति र नाटक विधामा पुरस्कृत हुने व्यक्तिलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

सो अन्तर्गत समाज सुधार अभियान विधा तर्फ २०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार जाजरकोटका नवराज विकलाई मराणोपरान्त दिने निर्णय गरिएको छ । विकको गत जेठ १० गते हत्या भएको थियो ।

त्यसैगरी २०७६ सालको साहित्य, संस्कृति र विज्ञान विधातर्फको पुष्पलाल राष्ट्रिय पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको छ । यो आविष्कार केन्द्रका संस्थापक महावीर पुन हुनुहुन्छ ।

त्यस्तै, संस्कृति विधा तर्फको राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठ र भाषा साहित्य विधा तर्फ महाकवी लक्ष्मीप्रसाद देवकोटा पुरस्कार भैरव रिसाललाई दिने निर्णय भएको छ । नाटक विधातर्फ गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार वरिष्ठ साहित्यकार अभि सुवेदीलाई दिने निर्णय गरेको छ  ।

यी सबै पुरस्कारको राशि जनही एक लाख  रुपयाँ रहेको छ । यसबाहेक संस्कृति, भाषा, ललितकला, सङ्गीत तथा नाट्य गरी चारै विधामा एक एक जनालाई जनही रु एक लाख राशिको राष्ट्रिय प्रतिभा पुरस्कार र ती प्रत्येक विधामा सात–सात जनालाई जनही रु ५० हजार राशिको प्रादेशिक प्रतिभा पुरस्कार पनि घोषणा भएको मन्त्रालयले जनाएको छ ।

महाकवी देवकोटा पुरस्कार भाषा, सहित्य विधासहित कविता, निवन्ध, गद्याख्यान/ नाटक र वालसहित्य/ लोकसाहित्य गरी पाँच विधामा पाँच स्रष्टालाई दिने निर्णय भएको छ ।

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटकसहित कविता विधामा एक जनालाई, पुष्पलाल राष्ट्रिय पुरस्कार साहित्य, संस्कृति र विज्ञानसहित राजनीतिक र सैद्धान्तिक तथा इतिहास गरी तीन विधामा तीनजनालाई र भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार समाज सुधार अभियानसहित मानवअधिकार र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धान गरी तीन जानलाई दिने निर्णय भएको छ । यी प्रत्येक पुरस्कारको राशि जनही  एक लाख रुपयाँ रहेको छ ।