तानसेनकाे श्रीनगरडाँडामा विद्युतीय सूचनापाटी

तानसेनकाे श्रीनगरडाँडामा विद्युतीय सूचनापाटी

लोकसंवाद संवाददाता  |  समाज  |  असार १६, २०७७

पाल्पा । तानसेनको पहिचान दिने गरी श्रीनगरडाँडामा विद्युतीय सूचनापाटी स्थापना गर्न लागिएको छ । पाल्पाको पर्यटकीय विकासमा सहयोग पुग्ने गरी सूचनापाटी स्थापना गर्न लागिएको हो । 

ठूला अक्षरमा अङ्ग्रेजीमा ‘तानसेन’लेखिएको सूचनापाटीको लम्बाइ साढे ४३ मिटर र उचाइ ८ मिटर रहने छ । आठ मिटर नै फराकिलो अक्षर बनाइने छ । सोलारबाट हेलोजिन लाइट बालेर उज्यालो दिइन्छ । स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत  ५० लाख रुपैयाँ बजेटमा तानसेन नगरपालिका–३, श्रीनगरडाँडामा विद्युतीय सूचनापाटी स्थापना गर्न लागिएको हो । यसबाट सिद्धार्थ राजमार्गका यात्रुले सजिलै तानसेन देख्न सक्नेछन् ।

संघीय सांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले ‘तानसेन विद्युतीय बोर्ड’को अक्षर जडानको सोमबार शुभारम्भ गर्नुभयो । पाल्पा क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्र साझेदारी पूर्वाधार विकास कोष कार्यक्रमबाट बोर्ड निर्माण गर्न लागिएको हो । 

यस खालको संरचनाले पाल्पाको पर्यटकीय क्षेत्रमा थप विकास गरी पर्यटक आकर्षण गर्न सकिने  सांसद पाण्डेयले बताउनुभयो । तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो ।