बर्दियाकाे केरा खेतीमा कोत्रे र गबारो कीरा

बर्दियाकाे केरा खेतीमा कोत्रे र गबारो कीरा

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १६, २०७७

राजापुर  । केरा उत्पादन क्षेत्रका रूपमा परिचित हुँदै गएको बर्दियामा केरा खेतीमा कोत्रे र गबारो कीराको समस्या देखिएको छ ।  केरामा हरेक वर्षझैँ यस वर्ष पनि उक्त कीराको प्रकोप देखिएपछि किसानमा लगानी खेर जाने चिन्ता लागेको छ ।  

यस वर्ष कोसा लाग्न लागेको केरामा कोत्रे, गबारो, जुकालगायत कीरा लागेको र  नियन्त्रण चुनौतीपूर्ण भएको गुलरियाका कृषक मुकुन्द सुवेदीले बताउनुभयो । विशेषगरी मालभोग जातको केरामा कोत्रे र गबारो कीराको समस्या बढी देखिएको उहाँको भनाइ छ ।

जिल्लाका मधुवन,  राजापुर र  बारबर्दिया क्षेत्रमा लगाइएको केरामा रोगकीरा लागेको किसानले बताएका छन् । आफूले यस वर्ष केराखेती अघिल्लो वर्षभन्दा आधा कटौती गरेको गुलरियाका कृषक कृृृष्णबहादुर भण्डारीले बताउनुभयो । उहाँले अघिल्लो वर्ष हजार बोट केरा लगाउँदा  रोगले अधिकांश बोट सखाप भएकाले अहिले ४०० मात्र लगाउनुभएको छ  ।

केराको बोट परीक्षण नगर्नु, एउटै जग्गामा नियमित केरा लगाउनु, माटो परीक्षण नगर्नु, अनावश्यक रूपमा विषादी तथा रासायनिक मल प्रयोग गर्नुलगायत कारण रोगकीराको प्रकोप देखिएको विचार कृषक सुवेदीले राख्नुभयो ।

बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले केरा कृषकलाई ५० प्रतिशत अनुदानमा विषादी वितरण गर्न लागिएको जानकारी दिनुभयो ।  गुलरिया नगरपालिका कृषि शाखाका अधिकृत कमल तामाङले खेतबारी सफाइ गर्ने, बालीचक्र अपनाउने, रासायनिक मल प्रयोग गर्ने गर्दा त्यस्ता रोग र कीरा नियन्त्रण गर्न सहयोग पुग्ने सल्लाह दिनुभयो ।  जिल्लाका ५०० भन्दा बढी किसानले व्यावसायिक केराखेती गर्दै आएका छन् ।