ओहोदाको प्रमाणपत्र प्रस्तुत

ओहोदाको प्रमाणपत्र प्रस्तुत

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १६, २०७७

काठमाडौं । न्यूजिल्याण्डका लागि नेपालका राजदूत महेशराज दाहालले आज त्यहाँका गभर्नरजनरल डेम पास्ते रेड्डीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो । 

भिडियो कन्फ्रेन्सिङका माध्यमबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत दाहालले कोभिड–१९ को महामारीका कारण उत्पन्न कठिन परिस्थितिमा पनि प्रविधिको प्रयोग गरी ओहोदाको प्रमाणपत्र ग्रहणको व्यवस्था मिलाएकामा गभर्नरजनरलप्रति आभार व्यक्त गर्नुभयो । त्यस अवसरमा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका साथै नेपाली जनताका तर्फबाट न्यूजिल्याण्ड सरकार र त्यहाँका जनतामा शुुभकामना व्यक्त गर्नुभएको क्यानबेरास्थित नेपाली राजदूतावासले जनाएको छ । 

कोरोना भाइरसको सङ्क्रमण रोक्न न्यूजिल्याण्ड सरकारले चालेका कदमको सरहाना गर्दै राजदूत दाहालले विश्वमा नै कोभिड–१९ बाट मुक्त पहिलो देश न्यूजिल्याण्ड बनेकामा हार्दिक बधाई ज्ञापन गर्नुभयो । न्यूजिल्याण्डमा रहेका नेपाली समुदाय तथा विद्यार्थीको सुरक्षाका निम्ति गरेको सहयोगप्रति न्यूजिल्याण्ड सरकारप्रति उहाँले आभार व्यक्त गर्नुभयो । न्यूजिल्याण्डसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताउँदै कोभिड–१९ पछि दुुई देशबीचको सम्बन्धलाई आपसी हितका खातिर अझ सुदृढ तुुल्याउन आफू क्रियाशील रहने प्रतिबद्धता राजदूत दाहालले व्यक्त गर्नुभयो । उहाँले दुुई देशबीचको व्यापार र लगानी विस्तारमा पनि जोड दिनुुभयो । 

राजदूत दाहालको कार्यकालको सफलताको कामना गर्दै गभर्नर जनरल रेड्डीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीका साथै नेपाली जनताप्रति शुुभकामना व्यक्त गर्नुभयो । सन् १९६१ देखि न्यूजिल्याण्ड र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर सुमधुर रहेकामा त्यसप्रति उहाँले सन्तुष्टि व्यक्त गर्नुभयो ।