अनलाइन कक्षाः प्रविधि मैत्री विद्यार्थी नै किन 'घाँडो'  र ‘झ्याउ' भन्न थाले !

अनलाइन कक्षाः  प्रविधि मैत्री विद्यार्थी नै  किन  'घाँडो'  र   ‘झ्याउ'   भन्न थाले !

निर्जला कक्षपति  |  शिक्षा  |  असार १६, २०७७

अनलाइन कक्षा पढ्ने धेरै बालबालिकाहरु, अनलाइनमा रमाएर पढ्न सकिरहेका छैनन् । एक त अनलाइन कक्षामा शिक्षक प्रत्यक्ष उपस्थित हुँदैनन् । त्यसैले विद्यार्थीले आफूले जे गरे पनि हुन्छ भन्ने साेंच छ र त्यही अनुसार विद्यार्थी पढ्नको लागि तम्तयार रहेको पाइँदैन ।  अर्को कमजोर इन्टरनेट सेवाका कारण शिक्षकले पढाएको नै विद्यार्थीले राम्ररी बुझ्न नसकिरहेको गुनासो हुने गरेको छ ।  त्यसैले ४० मिनेटको कक्षा विद्यार्थीले ‘आइ एम नट लिसनिंग यू म्याम’ भन्दैमा समय सकिने गरेको छ ।  

सुरुका दिनमा अनलाइन कक्षामा पढाई कसरी हुन्छ भन्ने जिज्ञासा अभिभावक र विद्यार्थी दुबैमा तीव्र थियो । अनलाइन कक्षा सुरु भएको केही दिन सम्म  अभिभावक, शिक्षक र विद्यार्थीलाई नै यसबारे सिक्न नै केही समय लाग्यो । यो लाग्नु स्वाभाविक थियो ।  प्रविधि मैत्री नभएका अभिभावकले पनि जसोतसो शिक्षकले भने अनुसार कक्षामा जोडिन पुगे ।  तर अहिले अनलाइन कक्षा सुरु भएको तीन महिना पुगी सकेको छ । विद्यार्थीले पढी पनि रहेका छन् । विद्यार्थीसँगै अभिभावकले पनि आफूले पढेका कुराहरू बिर्सिसकेको अवस्थामा आफ्ना छोराछोरीसँगै पुनः एक पटक दोहोराउन पनि पाइरहेका छन् । तर अभिभावकसँगै हुने हुँदा विद्यार्थीले ‘फ्री’ महसुस गर्न सकिरहेका हुँदैनन् । फेरी अर्को कुरा धेरै छोराछोरीले आफ्ना बाबुआमालाई शिक्षक/ शिक्षिकालाई जस्तो नटेर्ने भएका कारण अभिभावकले जति नै कराए पनि अनलाइन कक्षामा विद्यार्थीको ध्यान विद्यालयको कक्षाकोठामा जस्तो एकत्रित हुन सकिरहेको छैन । 

शिक्षक अब पुरानै शैलीबाट कक्षाकोठामा प्रस्तुत भएर हुँदैन, पुरानो शैलीबाट नै अनलाइनमा पढाएर हुँदैन ।  शिक्षकले, पाठ्यपुस्तकलाई आधार  मानेर बच्चा रमाउन सक्ने गरी  पढाउनको लागि तयारी गर्न सकेको खण्डमा मात्र अनलाइन कक्षा आकर्षणको विषय हुन सक्छ । 

शिक्षक अब पुरानै शैलीबाट कक्षाकोठामा प्रस्तुत भएर हुँदैन, पुरानो शैलीबाट नै अनलाइनमा पढाएर हुँदैन ।  शिक्षकले, पाठ्यपुस्तकलाई आधार  मानेर बच्चा रमाउन सक्ने गरी  पढाउनको लागि तयारी गर्न सकेको खण्डमा मात्र अनलाइन कक्षा आकर्षणको विषय हुन सक्छ । 


अनलाइन कक्षा नहुँदा शिक्षकले कक्षा कोठामा कस्तो पढाउँछन् ?  के पढाउँछन् ? अभिभावकलाई पिटिक्कै थाहा हुँदैनथ्यो । अहिले भने कुन शिक्षकले कस्तो पढाउँछन् अनि कति तयारी गरेर शिक्षक कक्षा कोठामा आउँछन् ।  यी सबै कुरा अभिभावकले थाहा पाउने मौका भने दिलाएको छ । । शिक्षकले पढाउन ठगी राखेका छन् अथवा तयारी नगरी आउने शिक्षकका बारे अभिभावकले सोझै गुनासो गर्न सकिने वातावरण भने अनलाइन कक्षाले बनाइदिएको छ ।  यसलाई राम्रो नै मान्न सकिन्छ । 

अनलाइन कक्षामा विद्यार्थीको रुचि नहुनु भनेको शिक्षकको पढाउने तरिकामा फरकपना नआउनु पनि हो । किताबका पानाहरूलाई अनलाइन कक्षामा पढाएर विद्यार्थीलाई ४० मिनेटको कक्षामा होल्ड गराएर राख्न निकै नै मुस्किल हुने रहेछ ।  मोबाइल र ल्यापटप हेर्न पाउँदा निकै दङ्ग पर्ने बालबालिकाहरु अनलाइनमा पढ्ने भन्दा किन ‘झ्याउ’ मान्न थालेका छन् त यो निकै नै सोंचनिय विषय भने बनेको छ ।  विद्यार्थीले प्रविधिमा पढ्न त पाए तर त्यहाँ पढाउने तरिका उही पुरानै तरिकाका कारण अनलाइन कक्षाको आकर्षण घटी रहेको छ । बच्चा के गरी रमाउन सक्छन् भनेर शिक्षकले मिहेनत गरेको पाइएको छैन । 

यसै गरी धेरै विद्यार्थीहरूले भोलि म यो पाठ सोध्छु है भनेर गृहकार्य दिए पनि धेरै विद्यार्थीले तयारी नै नगर्ने पाइएको छ । किनभने कक्षाकोठामा  शिक्षक नै उपस्थित हुने भएकाले विद्यार्थीले पढाईकन तयारी गर्छन् । किताब हेरेर भन्न पाइँदैन भन्ने डर हुन्छ । अनलाइन कक्षामा त  शिक्षकले सोध्छु भने पनि विद्यार्थी डर मानेर तयारी गरेको अवस्था होइन । किनभने शिक्षक अगाडि हुने होइनन् । किताब हेरेर म सोधेको कुरा भनिहाल्छुनी भन्ने उत्तर धेरै विद्यार्थीको पाइएको छ । फेरी आफ्ना अगाडि छोराछोरीले जति नै गल्ती गरे पनि अभिभावकहरू चुप लागेर बसी दिने चलन पनि त छ हाम्रो । कुन चाहिँ अभिभावकले मेरो बच्चाले पढेको छैन, किताब हेरेर भनेको हो भनेर शिक्षकलाई भनिदेलान् र ?

शिक्षकले चाहे गर्न सक्छन् भन्ने धेरै उदाहरण हामीसँगै छन् । अनलाइन कक्षा पनि शिक्षकले चाहेमा धेरै रमाइलो गरी पढाउन सक्छन् । मेरो छोरी, अरु कक्षा पढ्ने बेलामा भन्दा अङ्ग्रेजी कक्षा पढ्ने बेलामा निकै हौसिने गर्छिन् । किन छोरी मैले एक दिन सोधेँ । ल्यापटप मोबाइल दुबै तयारी अवस्थामा राखेर आधा घण्टा देखि तम्तयार भएर बसेकी थिइन् । अङ्ग्रेजी शिक्षकले पढाइलाई आधार मानेर गेम खेल्न दिनु हुँदो रहेछ । एक दिन म पनिसँगै क्लासमा बसेँ । अङ्ग्रेजी शिक्षकले Adjective का बारे पहिले पढाउनु भयो । त्यस पछि एक एक वटा वाक्य दिएर Adjective कुन हो भनी छुटाउन दिनु भयो । मिल्यो भने score बढ्ने रहेछ हैन भने घट्ने रहेछ । score बढाउनको लागि सबै विद्यार्थी सक्दो मिहेनत गर्दा रहेछन् । गेम खेल्दा खेल्दै उनीहरूले Adjective का बारे सबै जान्ने भए । बच्चालाई मनोरञ्जन पनि भयो,पढाई पनि भयो । यसरी पढाउँदा शिक्षकले थोरै मिहेनत अनि बुद्धि लगाउनु नै पर्ने हुन्छ ।

सबै शिक्षकले पढाउने तरिका यस प्रकारको छैन । शिक्षकको पढाउने तरिका रसिलो नहुँदा नै अनलाइन कक्षा विद्यार्थीको लागि लिन नपरे हुन्थ्यो भन्ने लागेको छ । विद्यार्थीको अनुहार नलुकाउनु भन्दाभन्दै पनि कत्ति विद्यार्थीले आफ्नो अनुहार नै शिक्षकलाई देखाउँदैनन् । कतिपय विद्यार्थीले त पढ्दापढ्दै ल्यापटपको तार नै आफै खुस्काइदिने गरेको समेत अभिभावकले बताउने गरेका छन् । कतिपय विद्यार्थीले शिक्षकले पढाइरहँदा शिक्षकले पढाइरहेको सामग्रीलाई केरमेर गरी अक्षर नै नबुझे गरी कोरिदिने गरेका छन् । पढ्न मन नभएका बच्चाले नै यसो गरेका हुन् भनी हामी सोझै बुझ्न सक्छौँ । भात खुवाउँदा समेत मोबाइल हेरेर खानु पर्ने बच्चाको लागि अनलाइन कक्षा किन यस्तो 'घाँडो' बन्ने गर्‍यो होला त यो कुरा हामी सबैले सोच्नु पर्ने भएको छ । बच्चालाई दुःख गर्न सिकाउने शिक्षा चाहिएको छ । शिक्षक अब पुरानै शैलीबाट कक्षाकोठामा प्रस्तुत भएर हुँदैन, पुरानो शैलीबाट नै अनलाइनमा पढाएर हुँदैन ।  शिक्षकले, पाठ्यपुस्तकलाई आधार  मानेर बच्चा रमाउन सक्ने गरी  पढाउनको लागि तयारी गर्न सकेको खण्डमा मात्र अनलाइन कक्षा आकर्षणको विषय हुन सक्छ ।