कर्णाली सम्झाउने भोटखोला

कर्णाली सम्झाउने भोटखोला

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २, २०७५

काठमाडौं । संखुवासभाको उत्तरी सिमाना किमाथांका नाका चीनको तिब्बतसँग जोडिएको छ । नेपाल र चीनलाई सिमानामा रहेको कामु खोलाको मितेरी पुलले मात्रै छुट्याएको छ । संखुवासभाको भोटखोला क्षेत्र मुलुकको विकट कर्णालीजस्तै मानिन्छ । पूर्वाधार विकास केही पनि छैन । भोटखोलाको किमाथांका सामान्य गाउँघरजस्तो छ भने पारिपट्टि तिब्बतको देङदाङ, रियु र चाँगा बजार चौबिसै घन्टा झिलिमिली हुन्छ ।

मुलुक संघीय संरचनामा गएपछि स्थानीय, प्रदेश र संघ गरी तीनै तहको सरकार छन् । अहिलेसम्म आफ्नो क्षेत्रको विकासका लागि कुनै योजना नआए पनि नयाँ सरकारप्रति भोटखोलावासी अझै आशावादी बनेका छन् । उनीहरूले तीनै तहको सरकारबाट आफ्नो क्षेत्रको विकास हुने आशा राखेका छन् ।

 तिब्बतसँग परनिर्भर 

भोटे, शेर्पा, तामाङ र गुरुङ जातिको बसोवास रहेको अतिदुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिकावासी चीनको स्वशासित क्षेत्र तिब्बतसँग परनिर्भर छन् । भोटखोलाकै किमाथांका नेपालको तिब्बतसँग जोडिएको अन्तिम उत्तरी बिन्दु हो । किमाथांका पुगेका जोकोहीले नेपालभन्दा फरक मुलुकमा पुगेको महसुस गर्छन् । यहाँका मानिस तिब्बतको रियु, देन्दाङ सहर र चाँगा बजारसँगै जोडिएर बसेका छन् ।

करिब पाँच किलोमिटरको फरकमा पर्ने देन्दाङ सहर र नेपाली भूभाग किमाथांकाबीच विकासको सन्दर्भमा आकाश–जमिनको फरक छ । पहिलोपटक किमाथांका नाका पुग्ने जोकोहीलाई भोटखोलाका स्थानीयको अवस्था देखेर दया पलाउँछ । तिब्बतीयन जीवनशैली र नेपाली जीवनशैली करिब–करिब उस्तै देखिन्छ । तर, उनीहरू सडक, विद्युत्, सञ्चार, शिक्षा, स्वास्थ्य र विकास निर्माणका कारण सम्पन्न छन् । किमाथांकावासीले भने आफूहरू राज्यबाट अपहेलित भएको महसुस गर्ने गरेको स्थानीय छेदर भोटेले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ।