लुभूमा खानेपानी पाइप लाइन विस्तार

लुभूमा खानेपानी पाइप लाइन विस्तार

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १७, २०७७

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूबाट विष्णुडोल, बखन्नी चोक, न्याठ टोल हुँदै गोदावरी खोला तथा लुभूतल्लो चौतारादेखि गोदावरी पुलसम्मको तीन सडकखण्डमा खानेपानी पाइप लाइन विस्तारको काम भइरहेको छ । ललितपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनले सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत लुभूमा खानेपानी सहज बनाउन  ३० लाख रुपैयाँ प्रदान गरी उक्त काम अघि बढाउनुभएको हो ।

सो स्थानमा लगभग एक महिना पहिलेदेखि नै खानेपानी पाइपलाइन विस्तारको काम भइरहेको छ । विकास साझेदारी कार्यक्रममार्फत  ३० लाख रुपयाँ र लुभू खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निर्माण कमिटीमार्फत  ६ लाख रुपयाँ थप गरी ३६ लाख रुपैयाँमा धमाधम काम अघि बढिरहेको निर्माण कमिटीका अध्यक्ष सानुकान्छा श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, 'यी तीनै वटा सडकखण्डको दायाँ र बायाँ गरी दुवै स्थानमा दुईदुई वटा पाइप बिछयाइरहेका छाैँ।' सो  पाइप एकथरि ६३ एमएम ६ केजी प्रेसरको छ ।  टयाङ्कीदेखि चुनदेवी हुँदै गक्ष्यटोलसम्म बिछयाइएको पाइप भने ९० एमएम ६ केजी प्रेसरको ३५० मिटर र ११० एमएम ६ केजी प्रेसरको ४५० मिटर रहेको श्रेष्ठले बताउनुभयो । 

सो पानी  १५ हजारमाथिका जनसङ्ख्याले उपभोग गर्ने संस्थाका अध्यक्ष इञ्जिनीयर रामबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, 'हाम्रो संस्थाभित्र रहेका यी सदस्यलाई हाल दैनिक छ लाख लिटर खानेपानी वितरण गर्न आवश्यक पर्छ तर पानी अभावका कारण एउटा घरलाई दैनिक ५०० लिटर पानी दिइरहेका छाैँ । पाइपलाई विस्तारपछि थप पानी वितरण गर्न सकिने छ । लुभूको मूलबाटोको उत्तरतर्फ बिहान र मूलबाटोको दक्षिणतर्फ भोलिपल्ट बिहान गरी पानी वितरण  गर्छौँ ।'
सो संस्थासँग हाल डेढ लाख लिटरको एक, दुईदुई लाख लिटरको दुई र अन्य थप गरी कूल आठ लाख लिटरको पानी भण्डारण गर्ने क्षमता रहेको श्रेष्ठले जानकारी दिनुभयो ।