गाउँपालिकाद्वारा विद्यालयलाई अनुदान

गाउँपालिकाद्वारा विद्यालयलाई अनुदान

लोकसंवाद संवाददाता  |  समाज  |  असार १७, २०७७

हेटौंडा । लकडाउन चलिरहेको बेला मकवानपुरको मनहरि गाउँपालिकाको शिक्षा समितिको सम्पन्न बैठकले सो गाउँपालिकाअन्तर्गतको विद्यालयको विकासका लागि अनुदान दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाअन्तर्गतका विद्यालयलाई रु २१ लाख ५२ हजार रकम अनुदान दिने निर्णय गरेको हो ।

गाउँपालिका शिक्षा शाखा प्रमुख हरिशचन्द्र सापकोटाले विद्यालयको विकासका लागि पुस्तकालय भवन, विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला तथा अङ्ग्रेजी माध्यमका लागि पठनपाठन प्रोत्साहन अनुदान वितरण गर्ने बैठकबाट पारित भएको जानकारी दिनुभयो ।

गाउँपाकिाले त्यहाँको वडा नं ६ सुनाचुरीस्थित राष्ट्रिय माविलाई विज्ञान प्रयोगशाला बनाउन रु छ लाख ५० हजार, मनहरि–७ को विजोनास्थित राष्ट्रिय आधारभूत विद्यालयमा पुस्तकालय निर्माणका लागि रु छ लाख ५० हजार र मनहरि–२ स्थित सीता माविलाई सूचना प्राविधिक प्रयोगशालाका लागि रु छ लाख ५० हजार अनुदान दिने बताइएको छ ।

यस्तै अङ्ग्रेजी माध्यम प्रोत्साहनका लागि मनहरिस्थित रोट्री मावि, वडा नं ४ स्थित पशुपतिनाथ मावि र वडा नं ९ स्थित रिशेश्वर अधारभूत विद्यालय तथा वडा नं १ स्थित आधारभूत विद्यालय चक्रीलाई रु ५०÷५० हजार दिने निर्णय भएको बुझिएको छ ।

यसैबीच जिल्लाको पकैया गाउँपालिकाले बिरामीलाई रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्र हेटौँडाको सहयोगमा निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । स्थानीय बिरामीले तिनुपर्ने रकम गाउँपालिकाले रक्तसञ्चार केन्द्रलाई तिर्ने सहमति भएको गाउँपालिका अध्यक्ष दामोदर खनालले जानकारी दिनुभयो । वार्षिकरूपमा एकमुष्ठ रकम रगत उपलब्ध गराएवापत रक्तसञ्चार केन्द्रलाई प्रदान गरिने बताइएको छ ।