पोखरा महानगरको अभियानः ‘हाम्रो चाहना पर्यटन मैत्री संरचना’

पोखरा महानगरको अभियानः ‘हाम्रो चाहना पर्यटन मैत्री संरचना’

लोकसंवाद संवाददाता  |  पर्यटन  |  असार १७, २०७७

पोखरा । पोखरा महानगरपालिकाले पर्यटकीयस्थलको प्रचारप्रसारका लागि विभिन्न भाषामा सूचना तयार गर्ने भएको छ । पर्यटकीय राजधानी पोखरालाई विश्वभर परिचित गराउन पर्यटकीयस्थलसम्बन्धी सूचनालाई विभिन्न भाषामा तयार गरी प्रचारप्रसार गर्न आवश्यक बजेट छुट्याइएको उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो ।

महानगरपालिकाले पर्यटन क्षेत्रका लागि रु दुई करोड ४६ लाख विनियोजन गरेको छ ।    महानगरपालिकाले ‘हाम्रो चाहना पर्यटन मैत्री संरचना’ निर्माण कार्य अभियानका रुपमा अगाडि बढाउने तयारी गरेको छ । स्थानीय प्राङ्गारिक उत्पादनलाई प्रवद्र्धन गर्दै महानगरपालिकालाई एग्रो टुरिजम केन्द्रका रुपमा विकास गर्न बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।    उहाँका अनुसार सामुदायिक वनसँगको सहकार्यमा खुला क्षेत्र संरक्षण गर्दै १४ स्थानमा पिकनिकस्थल निर्माण गर्नेछ । सराङकोट र पुम्दीभुम्दीमा निर्माणाधीन पर्यटकीय संरचना निर्माणलाई निरन्तरता दिइएको महानगरपालिकाले जनाएको छ ।

भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण र विकास तथा महानगरभित्र बोलिने लोपोन्मुख भाषाको संरक्षणमा जोड दिइने उल्लेख गर्दै उपप्रमुख गुरुङले आगामी आर्थिक वर्षमा दुईवटा भाषाको शब्दकोष र व्याकरण निर्माणका लागि बजेट विनियोजन गरिएको बताउनुभयो ।