लगानी सम्मेलनलाई एकतिस खर्बका आयोजना

लगानी सम्मेलनलाई एकतिस खर्बका आयोजना

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २, २०७५

काठमाडौँ । सरकारले लगानी सम्मेलनमा साढे ३० खर्बका ६३ आयोजनामा लगानीका लागि आह्वान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्ड बैठकले यही फागुन १५ र १६ गते हुने सम्मेलनमा सरकारी र निजी क्षेत्रका ६३ आयोजना प्रस्तुत गर्ने निर्णय लिएको हो । लगानी गर्न तयारी अवस्थामा सरकारका ४६ वटा र निजी क्षेत्रका १७ आयोजनालाई छानिएको छ । 

सम्मेलनमा ५० भन्दा बढी देशका लगानीकर्ता, विकास साझेदार, सरकारी प्रतिनिधि, विज्ञ र सरोकारवाला सहभागी हुनेछन् । ‘आयोजनाको विस्तृत विवरणसहितको स्टल सम्मेलनमा राखिने छ,’ बोर्ड प्रवक्ता बलराम रिजालले बैठकपछि भने । आयोजनाबारे बृहत् जानकारी लिई लगानी आओस् भन्ने उद्देश्यले सम्मेलनमा प्रस्तुत गरिने उनले बताए । ‘तीबाहेकका आयोजनामा पनि उनीहरूले लगानीको प्रतिबद्धता जनाउन सक्नेछन्,’ उनले भने, ‘तयारी र सरकारको प्राथमिकताका आयोजनाहरू यी हुन भन्ने देखाउन खोजेका हौं ।’

निजी क्षेत्रको स्वामित्वमा रहेका उद्योग, ऊर्जा र पर्यटन क्षेत्रका १७ वटा आयोजना प्रस्तुत गरिने छन् । आयोजनाहरूको कुल लागत २ खर्ब ७ अर्ब ७० करोड ८० लाख रुपैयाँ बराबर हो । सरकारी स्वामित्वमा रहेका ४६ वटा आयोजनाको लागत भने २८ खर्ब ४२ अर्ब १० करोड ८९ लाख २० हजार रुपैयाँ बराबर छ । सम्मेलनमा प्रस्तुत गरिने सरकारी आयोजनाहरू पूर्वाधारसँग सम्बन्धित छन् । ऊर्जा, औद्योगिक, कृषि, पर्यटन, यातायात, शिक्षा, हवाई पूर्वाधारका आयोजनामा सरकारले लगानी आह्वान गर्ने भएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ।