तुलसीपुरका ३२ सामुदायिक विद्यालय समायोजित

तुलसीपुरका ३२ सामुदायिक विद्यालय समायोजित

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार १८, २०७७

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका ३२ सामुदायिक विद्यालय गाभिएका छन् । उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमका अनुसार एक सयभन्दा कम विद्यार्थी भएका र दुई विद्यालयबीच आधा घण्टाको दूरी भएका विद्यालय गाभिएको हो । गत आर्थिक वर्ष २०७५/०७६ मा १३  र चालु आवमा १९ विद्यालय गाभिएको उहाँको भनाइ छ ।

अहिले सामुदायिक विद्यालयमा विद्यार्थी कम हुनाका साथै आवश्यकतानुसार शिक्षककर्मचारी नहुने भएकाले  गाभिएपछि त्यो समस्या हट्ने उहाँले बताउनुभयो । सामुदायिक विद्यालय गाभिएपछि  विद्यार्थी  बढ्ने तथा शिक्षक व्यवस्थापन र पूर्वाधार विकासमा  सहज हुने जनाइएको छ ।  

विद्यालय गाभिएपछि जुन विद्यालयमा गाभिएको हो सोही विद्यालयलाई सङ्घीय सरकारले २५ लाख रुपैयाँ अनुदान समेत उपलब्ध गराउने छ । उक्त अनुदानबाट यातायातको समस्या भएका क्षेत्रका विद्यार्थीका लागि आवश्यक गाडीको व्यवस्थापन गर्न सकिने, पूर्वाधार विकासमा सहज हुने र  विद्यार्थीमैत्री शिक्षा दिन सहज हुने उहाँको भनाइ छ ।