विपद् व्यावस्थापनको लागि तालिम प्राप्त जनशक्ति तयार

विपद् व्यावस्थापनको लागि तालिम प्राप्त जनशक्ति तयार

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १८, २०७७

भक्तपुर । जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस नियन्त्रणसँगै वर्षामा हुनसक्ने बाढी, पहिरो र डुबानबाट जिल्लावासीलाई जोगाउन विपद् व्यवस्थापनको तयारी पूरा गरेको जनाएको छ । कोरोना भाइरसले ल्याएको विपत्तिलाई सहज व्यवस्थापन गर्दै आएको भक्तपुरको संयुक्त सुरक्षा नियकाले विगतका वर्षमा झैँ आउनसक्ने बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद् व्यवस्थापनको तयारीसमेत पूरा गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समिति संयोजक हुमकला पाण्डेले कोरोना भाइरस सङ््क्रमण रोक्न, क्वारेन्टिन, आइसोलेसनदेखि होल्डिङ सेन्टरसम्मको व्यवस्थापन गर्दै विदेशबाट आएका तीन' हजार ५०० नागरिकलाई विभिन्न जिल्लाको स्थानीय तहसम्म पु¥याउने, शङ्कास्पदको पिसीआर परीक्षण गर्ने, अस्पताल लैजाने, विदेशबाट फर्किएका आमा वा बाबुको पहिचान नभएका बालबालिकालाई एसओएसमा राख्नेजस्ता कार्य गरेको बताउनुभयो । प्रजिअ पाण्डेले भन्नुभयो, निर्माण भइरहेको हनुमन्ते करिडोर अनुगमन गरी खोला थुनिने सम्भावना भएका ठाउँमा खोलाको अवरोध हटाका छौँ, डुबान हुने क्षेत्रको पहिचान गरी नदीको पानीमाथि आउन नदिन सुरक्षा उपाय अवलम्बन गरेका छौँ, स्थानीय तहसँगको समन्वय, विपद् कोष स्थापना, विपद्मा खोज तथा उद्धारलगायतको आवश्यक जनशक्ति र सामग्री तयारी अवस्थामा राखेका छौँ।'

कोरोना भाइरसको सङ्क्रमण शुरु भएसँगै चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएको नेपाली विद्यार्थीलाई राख्न भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टिनदेखि विदेशबाट फर्किएकालाई राख्न बनाइएको होल्डिङ सेन्टरसम्मको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भक्तपुरको विपद् व्यवस्थापन समिति, नेपाली सेनाको वीरदल गण सूर्यविनायक, महानगरीय प्रहरी परिसर भक्तपुर र सशस्त्र प्रहरी बल दुवाकोटको संयुक्त कार्य उदाहरणीय भइरहँदा विपद् व्यवस्थापनमा पनि यी तीनवटै निकाय संयुक्तरूपमा सक्रिय भएका छन् ।

नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति शिवप्रसाद पौडेलले कोभिड नियन्त्रणमा भक्तपुरले खरिपाटी क्वारेन्टिनको शुरुआतसँगै हालसम्म देशमै उदाहरणीय काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिडसँगै पहिरो र डुबान हुनसक्ने आँकलन गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको खोज तथा उद्धारलगायतका लागि १५ जना तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा राखेका छौँ, डुबानमा परेकाको उद्धार गर्न तीनवटा बोट, लाइफ ज्याकेट र डोरी प्रशस्त मात्रामा राखेका छौँ, पहिरोको जोखिम परेको ठाउँमा ग्याभिङ पर्खाल, तारजाली र ढुङ्गा तयारी अवस्थामा राखेका छौँ ।”

संयुक्त टोलीले लकडाउनका बेला कोरोना सङ्क्रमण देखिएका धुलिखेल र ललिपुरमा समेत पुगेर मृतकको शव व्यवस्थापन गर्नुका साथै सङ्क्रमित बोक्न एम्बुलेन्स मोडिफाइ, भक्तपुर अस्पतालमै पिसीआर सेवा उपलब्ध गराउन, भक्तपुर अस्पतालमा कोभिड उपचारका लागि भवन तयार पार्न, कोरोना भाइरससँग जोडिएका विभिन्न कामहरू उदाहरणीयरूपमा गर्दै आएको छ ।

विसं २०७५ मा हनुमन्ते नदी आसपासमा भएको डुबानले निम्त्याएको क्षतिलाई दोहोरिन नदिन यस वर्ष मनसुनको समयमा विपद्का घटना हुनसक्ने स्थानमा जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरी मनसुन पूूर्वतयारी तथा प्रतिकार्य योजना पारित गर्दै संयुक्त सुरक्षा टोलीले विपद् व्यवस्थापनको तयारी गरेका हुन् । मनसुनको समयमा विपद्का घटना हुनसक्ने स्थानमा जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्ने तथा कोभिड–१९ को सङ्क्रमणको रोकथाम, नियन्त्रण, उपचार, प्रतिकार्यसँगै खोज, उद्धारकार्यका लागि तयारी अबस्थामा रहेको छ ।