कप्दाने पोखरीको अस्तित्व गुम्ने खतरा

कप्दाने पोखरीको अस्तित्व गुम्ने खतरा

लोकसंवाद संवाददाता  |  समाज  |  असार १८, २०७७

सङ्खुवासभा । पर्यटकीय क्षेत्रको महत्व बोकेको सङ्खुवासभाको चिचिला गाउँपालिकामा पर्ने कप्दाने पोखरीको संरक्षणको नहुँदा पोखरीको अस्तित्व गुम्ने खतरा बढेको छ । नेपाल भोट युद्धको समयमा नेपालतर्फका लडाकुहरु भोटयुद्ध गर्न जाने क्रममा आफ्ना हतियार बोक्न नसकेर खाल्डो खनेर छोडेको तर युद्धपछि फर्केर आउँदा ती खाल्डोमा आफ्ना सामग्री पूरै पुरिएर पोखरी बनेको धार्मिक किंवदन्ती छ । आफ्ना युद्ध सामग्री राखेको स्थान अत्यन्तै गहिरो भई पुरिएपछि निकाल्न नसकेको र सोही समयदेखि हालसम्म पानी नसुकेको स्थानीयवासीको भनाइ छ ।
 
ऐतिहासिक महत्व बोकेको पोखरी संरक्षण नहुँदा अहिले पोखरी पुरिँदै जान थालेको छ । पोखरी वरिपरि माटोले पुरिँदा पोखरीको क्षेत्रफलसमेत सानो हुँदै गएको छ भने झार र रुखबाट झरेका पातले भरिन थालेको छ । पोखरी वरिपरि माटोको दलदल भएकाले भासिने डरका कारण कोही पनि पोखरी नजिक जान नसकेको स्थानीय भक्त गुरुङले बताउनुभयो । भासिएर पुरिने डरले नजिक जान नसकिने गुरुङको भनाइ छ ।
 
कप्दाने पोखरी र मन्दिर परिसर घना जङ्गलभित्र रहेकाले सो जङ्गलमा नेपाल बाहिरका चरासमेत बसाइँ सरेर आउने गरेको वातावरणविद् तीर्थबहादुर श्रेष्ठले जानकारी दिनुभयो । सो जङ्गल मकालु वरुण राष्ट्रिय निकुञ्जसँग जोडिएकाले अन्य वन्यजन्तुसमेत आउने गरेको वातावरणविद् श्रेष्ठको भनाइ छ । उक्त जङ्गलमा साइप्रसबाट समेत केही समयका लागि चराचुरुङ्गी आउने गरेको श्रेष्ठले बताउनुभयो । 

कप्दाने पोखरी क्षेत्रसँगै विभिन्न देवीदेवताको मन्दिर भए पनि संरक्षण हुनसकेको छैन । त्यस मन्दिर परिसरमा शिवरात्रि र वैशाखे पूर्णिमाको बेला मेला लाग्ने गरेको स्थानीयवासीको भनाइ छ । केही वर्ष पहिले पोखरी निकै ठूलो भए पनि अहिले माटो र झारपातले भरिँदै जाँदा पोखरीको क्षेत्रफल घट्दै थालेको छ । पोखरी संरक्षणमा सरोकारवाला निकायले ध्यान नदिने हो भने कुनै दिन पोखरीको नामोनिशान हराउने निश्चित देखिन्छ । 

यस्ता ऐतिहासकि महत्व भएको पोखरीको संरक्षणमा सरकोकारवालाको ध्यान जानु जरुरी छ । केही वर्षअघिसम्म करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको पोखरी अहिले एक रोपनी क्षेत्रफलमा सीमित हुने पुगेको छ । यस पोखरीमा विभिन्न प्रकारका चराचुरुङ्गी पाइने, पोखरीमा ठूला खालका र विभिन्न प्रजातिका भ्यागुता पाइने र धार्मिक मन्दिरसमेत रहेकाले त्यस क्षेत्र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न जरुरी रहेको पर्यटन व्यवसायी मनबहादुर लिम्बूले बताउनुभयो । त्यस क्षेत्रबाट विश्वको पाँचाँै अग्लो मकालु हिमाल, मत्स्यपोखरीलागायत अन्य मनोरम दृश्यहरुको अवलोकन गर्न पाइन्छ ।