भेहिकल फिटनेस टेस्ट सेन्टर पुन:सञ्चालनको तयारीमा

भेहिकल फिटनेस टेस्ट सेन्टर पुन:सञ्चालनको तयारीमा

लोकसंवाद संवाददाता  |  समाज  |  असार १८, २०७७

काठमाडौँ । उपकरण जडान भएको एक दशकसम्म पूर्ण सञ्चालनमा नआएको सवारी स्वस्थता जाँच केन्द्र (भेहिकल फिटनेस टेस्ट सेन्टर) पुनः सञ्चालनको तयारी गरिएको छ ।

विद्यमान उपकरण काम गर्ने अवस्थामा छ-छैन भनेर अध्ययनका लागि विज्ञलाई परीक्षण गराइने केन्द्रका प्रमुख मणिराम भुसालले बताउनुभयो । सो अध्ययनका लागि नेपालीसँगै विदेशी विज्ञलाई समेत संलग्न गराइने जनाइएको छ । उपकरणले काम गर्ने अवस्था भएमा त्यसलाई मर्मत गरेर सञ्चालन गरिनेछ । उपकरण जडान भएको लामो समय भए पनि सञ्चालन नभएकाले उपकरण काम नलाग्ने हुनसक्ने उहाँले बताउनुभयो । उपकरण काम नगर्ने भएमा नयाँ उपकरण जडान गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'विज्ञको सुझावका आधारमा मर्मत गर्ने कि नयाँ खरिद गर्ने भनी निर्णय गरिनेछ ।'

केन्द्रमा रहेका उपकरण त्यत्तिकै थन्किँदा अहिले सवारी साधनको मानिसले गर्ने  कुराको मात्रै परीक्षण भइरहेको छ । केन्द्रमा एकदशक पहिले गह्रौँ सवारी साधन र हलुका सवारी साधनको स्वस्थता परीक्षणका लागि दुई उपकरण जडान भएको थियो । यी दुईमध्ये पहिले एउटा मात्रै भए पनि सञ्चालन गर्ने केन्द्रले तयारी गरेको छ । उहाँले भन्नुभयो, 'हामीले विभाग र मन्त्रालयमा कुराकानी गर्दा उहाँहरु पनि केन्द्र सञ्चालन गर्ने कुरामा सकारात्मक हुनुहुन्छ ।'

बन्दाबन्दीका समयमा केन्द्रका सबै सेवा ठप्प थियो । अहिले कार्यालयका १४ मध्ये १२ कर्मचारी कार्यरत रहेका छन् । सरकारले बुटवल र हेटौँडामा पनि सवारी परीक्षण केन्द्र स्थापना गरेको छ । ती कार्यालयमा कर्मचारी व्यवस्थापन लगायतका काम भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सातै प्रदेशमा एकएक केन्द्र स्थापनाको योजना बनाएको छ ।