प्रतितोला ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १९, २०७७

काठमाडौं । लकडाउनयता दिनहुँजसो रेकर्ड कायम भइरहेको सुनको मूल्य पछिल्लो दुई दिनमा भने घट्दो क्रममा छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारयता सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ घटिसकेको छ। गत बुधबार प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज (असार १९ शुक्रबार) ९० हजार पाँच सय तोकिएको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (असार १८ बिहीबार) छापावाल सुन प्रतितोला सात सय रुपैयाँ घटेर ९१ हजार तोकिएको थियो।

तेजाबी सुनको मूल्य पनि दुई दिनमा १२ सय रुपैयाँ घटिसकेको छ। गत बुधबार प्रतितोला ९१ हजार दुई सय ६५ रुपैयाँ तोकिएको तेजाबी सुनको मूल्य आज ९० हजार ६५ रुपैयाँ छ।

चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेर ९ सय ४० रुपैयाँ कायम भएको छ।