पत्रकारद्वय पुरस्कृत

पत्रकारद्वय पुरस्कृत

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १९, २०७७

बागलुङ । गलकोट नगरपालिकाले प्रदान गर्ने ‘घुम्टे पत्रकारिता पुरस्कार–२०७७’ बाट पत्रकार थम्मन थापा र उत्कृष्ट पत्रकारतर्फ सरिता खत्री पुरस्कृत हुनुभएको छ ।

सातौँ नगरसभामा बिहीबार नगरप्रमुख भरत शर्मा गैरेले पत्रकारद्वयलाई नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो । घुम्टे पत्रकारिता पुरस्कारको राशि रु २० हजार छ । यस्तै वर्षको उत्कृष्ट पत्रकारमा छनोट हुनुभएकी खत्री नगद रु चार हजारसहित सम्मानित हुनुभएको हो ।

पत्रकारको सम्मान र प्रोत्साहनका लागि नगरपालिकाले विसं २०७४ मा सो पुरस्कार स्थापना गरेको थियो । गलकोट पत्रकार समाजका संस्थापक अध्यक्षसमेत रहनुभएका थापा गलकोटमै रहेर पत्रकारितामा क्रियाशील हुनुहुन्छ । खत्री सामुदायिक रेडियो गलकोट एफएमकी कार्यक्रम संयोजक हुनुहुन्छ । पुरस्कारले पत्रकारितामा थप क्रियाशील भएर लाग्न प्रेरित गरेको उहाँले बताउनुभयो ।

पत्रकारितामार्फत समाज रुपान्तरणको अभियानमा योगदान पु¥याउने पत्रकारलाई वर्षेनी पुरस्कृत गरिने नगरउपप्रमुख रेणुका काउचाले जानकारी दिनुभयो । नगरपालिकाले पत्रकारसहित उत्कृष्ट किसान, कर्मचारी, शिक्षाप्रेमी, सामाजिक व्यक्तित्वलगायतलाई सम्मान गरेको थियो । नगरपालिकाले आउँदो आवका लागि रु ६२ करोड ४६ लाख ८१ हजार बराबरको आयव्यय सार्वजनिक गरेको छ ।