फुस र खपडाको छाना विस्थापन गरिँदै

फुस र खपडाको छाना विस्थापन गरिँदै

लोकसंवाद संवाददाता  |  समाज  |  असार १९, २०७७

रुपन्देही । रुपन्देही क्षेत्र नं ३ का ८२७ फुस र खपडाले छाएका घरका छाना विस्थापन गरिने  भएको छ ।  कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले ती घरमा टिनको छानो लगाउन कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । 

आगामी आर्थिक वर्ष २०७७÷७८ मा जिल्लाको सिद्धार्थनगरका १४६, शुद्धोधन गाउँपालिकाका १५६, बुटवल उपमहानगरपालिकाका ८५ र तिलोत्तमा नगरपालिकाका १०७ घरको छानो परिवर्तन हुने छ । त्यसैगरी सियारीमा १३०, मायादेवीमा १००  र ओमसतिया गाउँपालिकाका १०३ घरमा टिनको छानो लगाइने जनाइएको छ ।

क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका मन्त्री भुसालले  सुरक्षित नागरिक आवास कार्यक्रमअनुसार फुस र खपडाका घरमा बसिरहेकाको पहिचान गरी घरको छानो परिवर्तनमा सहयोग गर्न थाल्नुभएको उहाँका स्वकीय सचिव मनोज रिजालले बताउनुभयो ।उहाँले भन्नुभयो, “फुसले छाएको वा खपडाले छाएको घरको छानो स्तरोन्नति गर्नेगरी छनोट गरिएको छ । आगामी आर्थिक वर्षभित्र विपन्न तथा गरिब घरपरिवारकाका घरको छानो सबैको टिनको हुनेछ ।” 

गत वर्ष गुल्मीमा सञ्चालनमा आएको उक्त कार्यक्रम चालू वर्षमा कपिलवस्तुमा सञ्चालनमा रहेको थियो । शहरी तथा भवन डिभिजन कार्यालयको प्रत्यक्ष निगरानीमा सम्पन्न हुने उक्त कार्यक्रमअनुसार फुस, खरको छानो तथा खपडाले छाएको छानो मुक्त बनाउनेगरी सञ्चालन गरिएको कार्यालयका प्रमुख इञ्जिनीयर राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

यहाँका केही शहरी  र ग्रामीण क्षेत्रमा अहिले पनि फुस र खपडाले छाएका  घर छन् । गैडहवा गाउँपालिकाले छानामा टिन लगाउने गरी चालू आवमा रु ४५ लाख विनियोजन गरेको जनाइएको छ ।  गाउँपालिका अध्यक्ष बछुलाले भन्नुभयो, “हामीले यस वर्ष पनि काम गरिरहेका छौँ । आगामी वर्षका लागि बजेट व्यवस्थापन गरेका छौँ ।”