पुल निर्माण नहुँदा सास्ती

पुल निर्माण नहुँदा सास्ती

लोकसंवाद संवाददाता  |  समाज  |  असार १९, २०७७

दाङ । घोराही–तुलसीपुर सडकखण्डमा निर्माणाधीन पुल छ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन । विसं २०७१ मा निर्माण सम्झौता भएर दुई वर्षमा सम्पन्न हुने गरी काम शुरु  भएको सो पुल छ वर्षसम्म पनि सम्पन्न हुन नसक्दा आवतजावतमा समस्या देखिएको छ ।  यस अवधिमा दुई पिल्लर मात्र निर्माण भएका छन् ।

पुल निर्माणको ठेक्का लगाउने मध्यपश्चिम डिभिजन सडक कार्यालयमा चार प्रमुख फेरिइसकेका छन् तर पुल निर्माणले गति लिन सकेको छैन । रु चार करोड ३५ लाख लागतमा बन्ने सो पुल विसं २०७३ असोजमा सक्ने लक्ष्य लिइएको थियो । शङ्कर माली निर्माण सेवाले सो पुल निर्माणको जिम्मा लिएको थियो । कम्पनीका स्थानीय प्रतिनिधिका रुपमा निर्माण व्यवसायी पद्मप्रसाद शर्माले पुल निर्माणको जिम्मा लिनुभएको थियो । पिल्लार निर्माणसँगै ढलान गर्ने अन्तिम तयारी भइरहेका समयमा सरकारले पुलको सुपर स्ट्रक्चर नमिलेको जनाउँदै ढलानको काम रोकेको शर्माले जिकिर गर्नुभयोे ।

डिभिजन सडक कार्यालय दाङका प्रमुख नीरज शाक्यले पुल निर्माणमा विशेष चासो लिइएको बताउनुभएको छ । “पुलको सुपरस्ट्रक्चर डिजाइन फाइनल गर्न काठमाडौँ आएको छु, सम्भवतः वर्षा सकिनेबित्तिकै पुल निर्माणको काम शुरु हुनेछ”, शाक्यले भन्नुभयो । 

कम्पनीले दिएको डिजाइनलाई केही परिमार्जन गरी चाँडै  डिजाइन स्वीकृत गराएर आफू दाङ आउने जनाउँदै उहाँले अर्को वर्षा अगाडि पत्रेखोलामा पुल निर्माण सम्पन्न भइसक्ने  बताउनुभयो । आधा काम गरिसकेको कम्पनीलाई ठेक्का तोडेर अर्कोलाई दिँदा विभिन्न कानूनी समस्या आउने तथा काममा  ढिलाइ हुने भएकाले पुरानै निर्माण कम्पनीसँगको ठेक्का यथावत् राखिने शाक्यको भनाइ छ ।