२ नम्बर प्रदेश पाश्र्वचित्र  मुख्यमन्त्री राउतद्वारा पुस्तक सार्वजनिक

२ नम्बर प्रदेश पाश्र्वचित्र  मुख्यमन्त्री राउतद्वारा पुस्तक सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २०, २०७७

 धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नीति तथा योजना आयोगद्वारा प्रकाशित विभिन्न पुस्तकको २०७७ असार १९ गते शुक्रबार  यहाँ सार्वजनिक गर्नुभएको छ ।

आयोगद्वारा प्रदेश पाश्र्वचित्र २०७७, प्रदेश अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन २०७६, प्रदेश योजना तथा कार्यक्रम तर्जुमा दिग्दर्शन २०७७ र प्रदेशस्तरमा दिगो विकास लक्ष्यहरूको आधारशिला प्रतिवेदन प्रकाशित गरिएको छ ।

प्रदेश पाश्र्वचित्रमा प्रदेशको परिचय, भौगोलिक अवस्था, आर्थिक तथा सामाजिक अवस्था, भूमि, कृषि, पशुपन्छी, माछापालन, सिँचाइ, उद्योग, खानी पर्यटन, बैंक तथा वित्तीय संस्था, सहकारी, शिक्षा, स्वास्थ्य, पोषण, बालबालिका, युवा, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता, जलस्रोत, ऊर्जा, यातायात सञ्जाल, खानेपानी, सरसफाइको पूर्वाधार, वन, वनस्पति, जडीबुटी, फलफूल, निकुञ्ज, आरक्ष जैविक विविधता, चुरे क्षेत्र, भूस्खलन तथा बाढीका दृष्टिले संवेदनशील क्षेत्र, सिमसार क्षेत्रको विवरण, खानेपानीको स्रोत, चुरे क्षेत्रमा ऊर्जाको अवस्था, फोहरमैला व्यवस्थापन, विपद्का घटना, सूचना तथा सञ्चारका माध्यम, श्रम तथा रोजगारी, शासकीय व्यवस्था, मानव अधिकार, निर्वाचन र सुशासनसँग सम्बन्धित तथ्याङ्क राखिएको छ ।

प्रदेश अनुगमन तथा मूल्याङ्कन दिग्दर्शनमा प्रदेशको वार्षिक योजना, बजेट तथा कार्यक्रमलाई व्यवस्थित रूपमा अनुगमन तथा मूल्याङ्कन गर्न सात वटा परिच्छेदभित्र अनुगमन तथा मूल्याङ्कनको अवधारणा, संरचना विधि र व्यवस्थाहरू समेटिएको छ । प्रदेश योजना तथा कार्यक्रम तर्जुृमा दिग्दर्शनमा प्रदेशस्तरको योजना तथा कार्यक्रम तर्जुमा गर्दा आवश्यक पर्ने विषयवस्तुलाई पाँच भागमा मार्गदर्शनका रूपमा राखिएको छ ।

प्रदेशस्तरमा दिगो विकासका लक्ष्यहरूको आधारशिला प्रतिवेदनमा दिगो विकासका अवधारणा तथा दिगो विकासका १७ वटा लक्ष्यहरूलाई पूरा गर्न प्रदेशस्तरमा स्थानीयकरण गर्ने विषयवस्तु र त्यसका लागि गरिने कार्यक्रम तथा क्रियाकलापलाई प्रस्तुत गरिएको छ । सो अवसरमा मुख्यमन्त्री राउतले विकासमा जनताको पहुँचलाई तल्लोस्तरसम्म पुर्‍याउन र विकासका गतिविधिलाई केलाउन सूचक तथा तथ्याङ्क अपरिहार्य भएको चर्चा गर्दै सूचना तथा तथ्याङ्कले विकासलाई गति प्रदान गर्नमा सहायकसिद्ध हुने गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

सङ्घीय संरचनाको मर्मअनुरूप प्रदेशको विकासलाई योजनाबद्ध तरिकाबाट अगाडि बढाउन प्रदेश नीति तथा योजना आयोगको गठनपश्चात व्यवस्थित योजना निर्माणको थालनी भइसकेको पनि उहाँले बताउनुभयो । आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले प्रदेशभित्रका उपलब्ध द्वितीय सूचनाहरूलाई एकै ठाउँबाट एकत्रित गरी सूचना बैंकका रूपमा प्रादेशिक पाश्र्वचित्र बनाउने प्रयास गरिएको उल्लेख गर्दै प्रकाशित पुस्तकहरू प्रदेशको नीति, रणनीति, कार्यविधि तथा योजना बनाउन आवश्यक मार्गदर्शन प्रदान गरिने धारणा राख्नुभयो ।