अल्कोहल पिएर मात्र  ठुलो मानिस नहुने भ्रमः  बिहेकै मण्डपबाटै धूम्रपानको औपचारिकता प्रदान

फर्कलान् र ती दिनहरू

अल्कोहल पिएर मात्र  ठुलो मानिस नहुने भ्रमः  बिहेकै मण्डपबाटै धूम्रपानको औपचारिकता प्रदान

हरिविनोद अधिकारी  |  साहित्य  |  असार २०, २०७७

जब म पुराना यादहरू सम्झन थालेँ, पुराना कुराहरू अटेस् मटेस भएर बाहिर आउन खोजिरहेका छन् जस्तो कि सानो दैलोबाट धेरै मानिसहरू एकै पटक बाहिर आउन थालेका छन् जस्तै । कुनै सम्झनामा सबै कुरा सम्झन नसक्दा कति कुराहरू छुटेको पनि आफैँलाई थाहा भयो भने कति कुराहरूको प्रसङ्गमा आउने पात्रहरू कि त अहिले हुनुहुन्न त कोही कुनै कुराको खुलासा गरेजस्तै हुने भएकाले बिचैका कतिकुराहरु छोड्नु पनि जरुरी हुँदो रहेछ । एक पटक मैले एउटा अत्यन्त छोटो कथा लेखेर कान्तिपुर दैनिकका तत्कालीन फिचर सम्पादक तारानाथ दाहाल भाइलाई देखाएँ । सायद ! यो कुरा २०५१ सालको हुनुपर्छ जुन बेला म ४० वर्षको भएको थिएँ । 

लेखेको पनि २६ वर्ष भएछ । सायद कथा यस्तो थियो- म ४० वर्षको भएँ । मैले  आत्मकथा लेख्ने निधो गरेँ र त्यसको घोषणा गरेँ । कतिले मलाई अपमान गरेको कुरा नलेख्न भने, कतिले आफूले प्रेममा धोखा दिएको कुरा नलेख्न भने  । किनभने अहिले उनीहरू एउटा नयाँ जीवनमा रमाइरहेका थिए र कतिले ती मैले मात्र थाहा पाएका पहिलेका गोप्य कुरा नलेख्न धम्की नै दिए । प्रेम, अपमान, खुसी र आफ्ना निजी दर्द लेख्दा अरूलाई पनि असर पर्ने भएकाले मैले आत्मकथा नलेख्नै नै निधो गरेँ । 

त्यो एउटा फगत कल्पनाको कथा थियो अत्यन्त लघुकथा । तर म एक दिन आफ्ना अनुभव जब आफ्ना पुराना यादहरू नभन्दै लेख्न थालेँ धारावाहिकरुपमा, अनि ती कुराहरू अहिले पनि त्यसैगरी मेरा सामु तेर्सिए । जब मैले पुराना यादहरू लेख्न थालेँ, कतिलाई यसले पहिलेका थाहा नभएका कुराहरू थाहा पाएकोमा सराहना नै गर्नुभयो । अनि कतिकुराहरु बडो सतर्कताका साथ लेख्नुपरेको पनि मैले महसुस गरेँ । किनभने मेरा अनुभवमा म मात्रै त छैन नि ! अरूसँगका व्यवहार, या त मैले भोगेका, या त कसैले मलाई केही भनेका, केही गरेका या कसैको बारेमा त पक्कै सम्झनु नै परेको हो । 

यो अनुभवमा पनि मैले नाम दिन नसक्ने भएँ ।  किनभने त्यसले मेरो साथीको लागि अहिलेको सामाजिक प्रतिष्ठामा असर पर्ने उसले ठान्यो र उसको बारेमा त्यो प्रसङ्ग नलेख्न अनुरोध नै गर्‍यो । के होला त त्यस्तो भन्दा जब मैले नलेख्ने ने विचार गरेपछि भन्न त भएन नि ! अनि अर्को कुरा जब मैले आफूलाई यसो नियालेँ -मसँग त्यस्ता साथीहरू छन् त जोसँग म आफ्ना अन्तरङ्ग भावना आदान प्रदान गर्न सकूँ । झट्ट गएर आफ्ना दुःखका कुराहरू सुनाएर धुरुधुरु रुन सकूँ, या आज मेरो खुसी सुनाउन आएको भनेर मज्जासँग हाँसेर कुरा गर्न सकूँ । म धुरुधुरु रुँदा ऊ पनि रोओस्, म हाँस्दा ऊ पनि हाँसोस् र मेरो खुसीमा साझेदारी व्यक्त गरोस् । अहँ त्यस्तो त कोही पनि रहेनछ । यसको कारण हो, म मद्यपान पनि गर्दिन जहाँ मधुशालामा त्यस्ता साथीहरू भेटियून् । म जुवा वा तास पनि खेल्दिन जहाँ उधारोमा हारजित होस् या करोडौँ रुपैयाँको हावामै लगानी होस् र साँच्चै नै उपलब्धि होस् ।

 यस्तै भयो, मेरो एउटा साह्रै मिल्ने मेरो एउटा प्यारो साथीले कुनै प्रसङ्गमा मैले मद्यपान कहिल्यै पनि गरेको छैन र अब गर्दिन पनि भन्दा भनेको थियो-सायद त्यसैले तेरो राजनीतिक भविष्यमा तगारो लागेको ? ऊ अलिकति मातेको थियो र विभिन्न किसिमका मद्यसामग्रीको ऊ पारखी नै थियो । सायद उसलाई त्यसले फाइदै भएको थियो ।  समाजमा घुलमिल गर्न र उच्च घरानासँगको सम्बन्ध सुधार्नका लागि । मेरालागि मद्यपान गर्नु भनेको नैतिकता भित्र परेन । माफ गर्नु होला, सबै मान्यजन र अग्रज तथा अनुजहरूले, मद्यपान न हिजो राम्रो मानिन्थ्यो न आज तर अरबौँ, खरबौँ डलरका व्यापारमा अहिले मद्यसामग्रीको स्थान पहिलो छ । महात्मा बुद्धले पनि राजाको रुपमा दिक्क भएर जब बुद्धत्व प्राप्त गर्नुभयो, त्यसमा उहाँको पहिलो कुरामा सत्यको खोजी थियो भने दोस्रोमा मद्यपानरहित समाजको परिकल्पना थियो । 

मान्छेलाई लाग्छ मद्यपान गर्नु सभ्यता हो । हाम्रो बहु आयामिक समाजमा संस्कृतिको एउटा पक्षमा मद्यपान पनि छ जसलाई सगुनको रुपमा ग्रहण गरिन्छ । सायद त्यहाँ लागू पदार्थभन्दा बिम्बका आधारमा मद्यपानको चलन होला । या त हिजोको अवस्थामा मद्यपानलाई सभ्यताको प्रतीक मानेको बेला थियो होला । हाम्रो समाजमा कसले मद्यपान गर्न हुने र कसले नहुने भन्ने पनि थियो तर मानव सभ्यताका लागि र मानव स्वास्थ्यका लागि मद्यपान राम्रो होइन भन्ने नै छ । कसैलाई लाग्छ, जो मद्यपान गर्दैनन् ती सभ्य हुनै सक्दैनन् र मलाई लाग्छ, मद्यपान गर्नु कुनै पनि हालतमा सभ्यताको प्रतीक होइन । औषधिका लागि आवश्यक स्पिरिटको मैले यहाँ कुरो गरेको होइन , मैले अल्कोहोलिक अवस्थाको कुरो गरेको हुँ । 

समाज रूपान्तरणको र आफ्नो स्वार्थभन्दा समाजको स्वार्थका बारेमा चिन्तन गर्ने , त्यो कता हरायो आज , थाहा छैन तर हरायो । प्रजातन्त्र भनेको अभ्यास हो र अनुशीलन हो जीवनमा स्वतन्त्रताको । व्यक्तिगत स्वतन्त्रता, सामूहिक स्वतन्त्रता र सामाजिक न्यायको । त्यो गन्तव्यलाई पछ्याएर हिँडेका हामी यात्रीहरू किन अहिले आलोचना गर्न डराउँछौँ र गुटको राजनीतिमा रमाउँछौँ ?प्रजातन्त्रका बारेमा अहिले त छलफल पनि हुँदैन मानौँ कि हामीले समाजलाई प्रजातान्त्रीकरणको उच्च विन्दुमा पुर्‍याई सक्यौँ । 

मलाई थाहा छ, त्यसै भएर मसँग त्यस्ता साथीहरू छैनन् जसलाई म आफ्नो मनको अन्तर कन्तुरमा रहेका कुराहरू भन्न सकूँ । यो मेरो स्वमूल्याङ्कन हो । यसमा आफ्ना नातेदार, परिवारका मानिसहरू पर्दैनन् र पनि  तर आजको संसारमा हामीले त्यस्ता संस्कृतिलाई बिस्तारै छोड्न सक्नुपर्छ जसले समाजको दैनिकीमा र नैतिकतामा ह्रासको मात्र बढाउने छ । विश्वमा मदिरापनबाट भएका  अपराधहरूले सीमा नाघेको बताइन्छ । म यससम्बन्धी विज्ञ त होइन तर मदिराले पनि र अल्कोहल मिश्रित पेय पदार्थहरूको अत्यधिक प्रयोग पनि सुरक्षा प्रबन्धका लागि चुनौती सदैव हुन्छ ।

सुरुमा मदिरा यस कारणले खाइएन कि म बाहुन थिएँ जब मैले आफूलाई समानताको पक्षमा उभ्याएँ अनि म त्यति बेर शिक्षक भइसकेको थिएँ र मद्यपान मेरो पेसागत मान्यतामा पनि अनैतिक थियो र खाइन । संसारका जुनसुकै भागमा जाँदा पनि मैले अल्कोहल लिइनँ र लिन्न पनि । यो मेरो व्यक्तिगत धारणा हो र मलाई अल्कोहल पिएर वा खाएर ठुलो मानिस होइन्छ भन्ने भ्रम छैन । तर भन्नेले मलाई मेरो सामाजिक प्रगति नहुनुमा मद्यपानको कमीले हो भन्ने पनि ठानेका छन् । बरु यो जीवनमा यसै बाँचुँला, तर मद्यपानलाई मेरो दैनिकीमा ल्याउने कुनै आवश्यकता ठानेको छैन । यो मेरो व्यक्तिगत र सामाजिक मान्यता हो । 

मैले चुरोट, बिँडी, तमाखु  खाएँ २०३८ सालको चैत्र मसान्तसम्म । करिब ११ या १२ वर्षको उमेरदेखि कहिले छोड्दै कहिले खाँदै धूम्रपान गरियो । एकताका त म चुरोट करिब ३० खिल्ली पनि खान्थेँ दिनमा । बिहेभन्दा पहिले त्यो धूम्रपान अनौपचारिक थियो बा आमा, गुरुका अघिल्तिर । बिहेका दिन बाले आजदेखि चुरोट, बिँडी, तमाखु खान छुट भयो भनेर बा भन्नुभयो । त्यसपछि बिहेकै मण्डपमा चुरोट खान थालियो । यसमा गुरुको पनि बालाई सल्लाह थियो । धेरै पटक बाले देख्नुहोला भनेर लुकेर खाइयो । एक पटक केसम्म भयो भने माइजूलाई चुरोट राख्न दिएको थिएँ बेंगाडावरमा । घर जाने बेला भयो, बासँगै हुनुहुन्थ्यो । म घर हिँड्ने बेलामा माइजूसँग आफ्नो पर्स र चुरोट लुकाएर मागुँला भन्दै थिएँ, माइजूले चुरोटसहित मेरो पर्स ल्याएर भान्जाको सामान यही हो, म त खेततिर जान लागेँ भनेर दिँदा न म त्यो चुरोट आफ्नो भन्न सकेँ, न होइन भन्न सकेँ ! तर पनि भनेँ- माइजू, चुरोट कसको हो, मेरो त होइन । माइजू छक्क परेर मलाई, बालाई हेर्न थाल्नुभयो । अनि बाले कुरो बुझ्नु भयो र भन्नुभयो- राख् न तेरो झोलामा, म खान्छु नि ! अनि मैले बाको खल्तीमा नै राखेँ किनभने त्यो नखोलेको चुरोटको बट्टा थियो । 

म धूमपानको अम्मली हुनको कारण थियो- बा तमाखु खानुहुन्थ्यो र तमाखु खानु अनि चुरोट खानु भनेको ठुला मानिसहरूले गर्ने काम हो भन्ने मनोविज्ञानले काम गरेको होला । अनि घरमा काम गर्नेहरूले सुर्ती माग्थे र मलाई अम्मली बनाउन पाए सुर्ती जति चाहे पनि पाइने तर्कले मलाई सानैदेखि बिँडी बेरेर पल्काउन थाले ।  कहिलेकाहीँ बाको तमाखु तान्थेँ त कहिले बाको खल्तीबाट चुरोट वा बिँडी झिकेर काम गर्ने दाइहरू, दिदीहरूलाई दिन्थेँ । अनि उनीहरूले सल्काएर ल्याउनका लागि अगेनामा पठाउँथे अनि म यसो तान्थेँ र धुवाँ ननिले पनि फुर्ररर पार्दै आफूmलाई बालिग देखाउन चाहन्थेँ । भैरु दाइले  सिकाउनु भयो जस्तो लाग्छ सुरुमा । भैरवबहादुर बस्नेत दाइ हुनुहुन्थ्यो हामीले दाजु नै मान्थ्यौँ ।  

सायद ! पाँडे, थापा र बस्नेतको विवादमा थापाहरूसँग बस्नेत लागेकाले माथवरसिंह थापाको पक्षधर भएकाले उनीहरूका बाजेहरू भागेर ओख्ले भन्ने ठाउँमा आएर लुकेका थिए रे ! ती बस्नेत काजीहरू अहिले पनि ओखलेमै छन् तर भैरु दाइचाहिँ अहिले  मकवान पुरको जुरेलीमा आएर बस्नु भएको छ क्या रे ! किनभने दाजुलाई मेरो बाले हरि बालिग नहुन्ज्यालसम्म मेरो घरमा सहयोग गर भनेर अनुरोध गर्नु भएको थियो र बस्नु भएको थियो । पछि उहाँको भाइ माहिलो पनि हाम्रै घरमा बस्दै हुनुहुन्थ्यो र हाम्रै घरमा हुँदा नै उहाँको बिहे भयो र बिहे भएको एक महिनामा निधन भयो माहिला बस्नेत दाइको । मसँग उहाँको ब्रतबन्ध भएको थियो ।

भैरु दाइलाई कुनै बन्धन थिएन र हामीलाई के कुरामा सधैँ सतर्क गराइएको थियो भने यी बस्नेत काजीहरू राजाका सैनिक थिए र भागेर आएका हुन् । यिनलाई दुःख परेर मात्र हाम्रो लेखमा बस्न आएका हुन् । त्यसैले उनीहरूको प्रतिष्ठामा कुनै कमी देखिनु हुँदैन । भैरु दाइका बा हुनुहुन्थ्यो माहिला ठुलाबा चन्द्रबहादुर बस्नेत ।  उहाँ हाम्रो तिरको सबैभन्दा ठुलो गिदाङ्गाी । दाजु पनि गीत गाउन जानुहुन्थ्यो राती मात्र सुत्नेबेलामा । मसँग सुर्ती माग्नुहुन्थ्यो र भन्नुहुन्थ्यो -बडा बा र बडी आमालाई नभन्नू है हरि, म बिहान उतैबाट घाँस लिएर आउँछु । बिहान बाले खोज्नुभयो भने भन्दिनू-भैरु दाइ आज चाँडै वनतिर लाग्यो तर दाइ अघिल्लै दिन भात खाएपछि सुत्ने बेलामा जानु हुन्थ्यो । अनि दाजुले घाँस काटेर ल्याउनु हुन्थ्यो । त्यो घाँसको भारी यस्तो हुन्थ्यो कि अरूले त्यो उचाल्न पनि सक्दैनथे । उहाँको मान्यता बा र आमापछिको थियो र हामी दाजुलाई तपाईँ नै भन्थ्यौँ । उहाँको बिहे टङ्सारमा भएको थियो र सन्तान पनि हाम्रै घरमा दाजु हुँदै भइसकेका थिए । पछि बाले के दिउन् भनेर सोध्दा दाइले मलाई एक बिघा खेत बोक्सेमा दिनुस् भन्नुभएछ र बाले दिनु भयो । पछिसम्म जिर्गाहा र धमिलिएको  मिलन भएको फाँट बोक्सेमा हुनुहुन्थ्यो । भेट नभएको पनि धेरै भयो । मैले घटना र विचारमा बोल्दा दाइ खुसी भएर सबैलाई रेडियो वरिपरि राखेर भन्नुहुन्थ्यो रे-यो मेरो भाइ हरि हो, उसले बोलेको सुन साथी हो । हो, उहाँले मलाई बिँडी र चुरोटमा बानी पार्नु भएको थियो । बाले तमाखु खानुहुन्थ्यो र म पनि चिलिम घोप्टाउन जाँदा हुक्का पनि साथै लिएर गयो अनि यसो तान्यो धुवाँ अनि बिस्तारै बानी पर्न थालेको थियो । 

तर जब म शिक्षक भएँ अनि मसँग मेरा भाइहरू सँगै थिए पढ्न आएका । मेरो ठुटो चुरोटमा उनीहरूको पनि बानी परेको थाहा पाएँ, अनि चुरोट पनि सिरानीबाट हराउन थाल्यो । अनि २०३८ सालको चैत्रमा श्रीमतीलाई वीर अस्पतालमा भर्ना गरेर औषधि गर्दा अपरेसनसम्म गर्नुपर्‍यो । मैले अस्पतालमा बिरामी रुँघेर बस्ने अनि चुरोट खान रत्नपार्कसम्म जानुपर्ने भएकाले चटक्क छोडेँ ।  २०३८ सालको चैत्र ३० गते रातको १२ बजे । अर्थात् मेरो चुरोट खाने बानीले नयाँ वर्ष २०३९ वैशाख १ गते देखेन र त्यसपछि कहिल्यै खाइन । अझै सपनामा चुरोट तान्छु र  मज्जा लाग्छ । यसलाई मेरो वासना नगएको ठान्दा पनि हुन्छ ।

कर्तव्य र बानी सुधार्ने तीब्र इच्छाले चटक्कै छोडेँ । त्यसको विकल्पमा कुनै पनि अम्मल सुरु गरिन । अनि मानिसहरू भन्छन् चुरोट त छोड्नै सकिन, त्यो मलाई ठिक लाग्दैन । चुरोटले खानु त भएन नि ! एउटा कारण त भाइलाई तह लगाउनका लागि पनि चुरोट घरमा हुनुभएन, अनि एउटा शिक्षकले कति लुकेर, विद्यार्थीहरूसँग लुकेर चुरोट खाने ? ती दुई ओटा कारणले मैले त्यस दिनदेखि चुरोट खान छोडेँ । आजसम्म फेरि खान मन लागेन, खाइनँ र खान्न पनि । 

जनकपुरमा पढ्दा चुरोट खुब खाइयो किनभने कलेज एउटा त्यस्तो ठाउँ रहेछ जहाँ देखासिकी गरिँदो रहेछ । तकली छाप बिँडी र गैँडा चुरोटको अम्मली भइएको थियो । साथीहरू प्रायशः सुर्ती चुनसँग मोलेर हातमा खैनी बनाउँथे तर मैले खैनी कहिल्यै खाइन । अरु लागू पदार्थ त कहिल्यै खाइएन पनि । जनकपुरमा भाङका लड्डु बेच्न राखेको हुन्थ्यो राम मन्दिर र जानकी मन्दिर बाहिर तर नखाने भनेपछि खाइएन । 

२०२७ सालमा जनकपुर पढ्न गइयो, त्यो बेलामा जनकपुरमा विज्ञान विषयको पढाइ हुँदैनथ्यो । मैले वाणिज्य शास्त्र या कमर्स पढेँ । वास्तवमा त्यो बेलामा पढाइभन्दा प्रजातन्त्रको पुनर्स्थापनामा मात्र ध्यान थियो । जनकपुर एक प्रकारले पञ्चायत विरोधीके अखडा थियो, त्यो पनि काँग्रेसमय । एउटा समस्या देखियो त्यहाँ, पहाडबाट जाने प्रायशः कम्युनिस्ट, या पहाडिया विद्यार्थीहरू कम्युनिस्ट, मधेसका काङ्ग्रेस । हामी पहाडबाट जानेहरू या त पारिवारिकरुपमा काङ्ग्रेसका हुनुपर्थ्यो या त सिद्धान्तले आकर्षित हुनुपर्थ्यो । त्यो बेलामा पनि रामस्वरुप राम सागर डिग्री कलेजमा युनियन थियो प्रत्येक वर्ष निर्वाचन हुन्थ्यो । म भर्ना हुँदा त्यहाँका युनियनको सभापति महन्त ठाकुर र सचिवमा रामप्रसाद गिरि हुनुहुन्थ्यो तर उहाँहरू राजा महेन्द्रको सालिकमा कालो मोसो दलेको कारणले जेलमा हुनुहुन्थ्यो । त्यो केसमा जेल पर्नेहरूमा केशव कोइराला, हरिहर विरही, महन्त ठाकुर, रामप्रसाद गिरी, आनन्द ढुङ्गाना, महेन्द्र मिश्र आदि हुनुहुन्थ्यो ।

 अरु मलाई अहिले याद भएन । उहाँहरू जेलमा हुँदै युनियनको निर्वाचन गर्ने कुरा आयो । त्यो बेलामा पनि हामीले त्यहाँ समावेशीको कुरा गथ्यौँ अर्थात् मधेसको सभापति बनाए पहाडको सचिव अनि पहाडकोलाई सभापति बनाए मधेसको सचिव । त्यस्तै भयो, रामपदारथ झालाई सभापति र नयन ध्वज गिरीलाई सचिव बनाइयो । मेरो स्कुलको साथी नयन ध्वज । मलाई सचिवका लागि उठ्नु भन्दा मैले भनेँ - म त नेपाल विद्यार्थी सङ्घको सक्रिय सदस्य छँदै छु नि ! मेरो साथी नयन ध्वजलाई उठाऊँ किनभने ऊ फेरी अरूतिर लाग्ला । नभन्दै अत्यधिक मतले झा र गिरिको जोडीले जित्यो । त्यो बेलामा गोरे बहादुर खपाङ्गी पनि सायद बीए चौथो वर्षमा हुनुहुन्थ्यो । त्यो बेलामा आइ ए, बीएलाई पहिलो दोस्रो तेस्रो र चौथो वर्ष भनेर गणना गरिन्थ्यो । मेरो क्लासमा गोविन्द शर्मा पहिलो पटक र दोस्रो पटक विनय गिरी सदस्य भए । कस्तो विडम्बना थियो भने प्रगतिशीलतर्फबाट विनोद घिमिरे उठ्दै थियो जनकपुरकै स्थायी बासिन्दा, हाम्रो मिल्ने साथी तर सिद्धान्तका कारणले हामीले उसलाई मत दिन सकेनौँ र १ मतले हाम्रो कक्षामा हार्‍यो । विनयले जित्यो । नेपाल विद्यार्थी सङ्घको जन्मपछि भएको पहिलो विद्यार्थी निर्वाचन थियो त्यो र सायद जनकपुरमा नै पहिलो विजयको झन्डा हामीले उचालेका थियौँ । 

त्यो बेलामा जुन अदम्य साहस विद्यार्थीमा थियो समाज रूपान्तरणको र आफ्नो स्वार्थभन्दा समाजको स्वार्थका बारेमा चिन्तन गर्ने , त्यो कता हरायो आज , थाहा छैन तर हरायो । प्रजातन्त्र भनेको अभ्यास हो र अनुशीलन हो जीवनमा स्वतन्त्रताको । व्यक्तिगत स्वतन्त्रता, सामूहिक स्वतन्त्रता र सामाजिक न्यायको । त्यो गन्तव्यलाई पछ्याएर हिँडेका हामी यात्रीहरू किन अहिले आलोचना गर्न डराउँछौँ र गुटको राजनीतिमा रमाउँछौँ ?प्रजातन्त्रका बारेमा अहिले त छलफल पनि हुँदैन मानौँ कि हामीले समाजलाई प्रजातान्त्रीकरणको उच्च विन्दुमा पुर्‍याई सक्यौँ । 
क्रमशः