पहिराेमा एक महिलाको मृत्यु

पहिराेमा एक महिलाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  असार २१, २०७७

कालीकोट । नरहरिनाथ गाउँपालिका–७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीयवासी ३५ वर्षीया तुला बटालाको ज्यान गएको हो ।

भैँसी गोठाला जानुभएका बटालाको पहिरामा पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताउनुभयो । 'भैँसी गोठबाट पानी लिन जाँदा बीच बाटामा पहिरो खसेर महिलालाई बगाएको हो', उहाँले भन्नुभयो, 'उहाँको घटनास्थलमै मृत्यु भयो । प्रहरीचौकी कुमालगाउँबाट घटनास्थलमा प्रहरीको टोली पठाएर बटालाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।'

यस्तै शनिबार आएको पहिराले नरहरिनाथ गाउँपालिका–७ को वडा कार्यालयमा पनि क्षति पुगेको छ । प्रनाउ ओलियाका अनुसार माल्कोटमा रहेको छकोठे वडा कार्यालयको भवन पहिराबाट पुरिएको छ । भाडामा रहेको वडा कार्यालयका साथ वडा कार्यालयमा भएका जिन्सी सामान पनि पुरिएको जनाइएको छ । –