साहित्यिक वार्ता: युद्धका पनि आफ्नै सकारात्मक पक्ष हुन्छन्

साहित्यिक वार्ता: युद्धका पनि आफ्नै सकारात्मक पक्ष हुन्छन्

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  चैत्र २, २०७५


रक्ष राई, साहित्यकार

 खोटाङको बुइँपा पुर्ख्यौली थातथलो भएका सेवा निवृत्त पूर्व ब्रिटिस सैनिक रक्ष राई राई बेलायतको वेल्समा बसेर साहित्य चिन्तन र सिर्जना कर्ममा समर्पित रहिआएका छन् । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका संस्थापक अध्यक्ष राई ‘नवचेतनाग्रह’, ‘डायास्पोरा सिद्धान्त’ र युद्ध सौन्दर्य चिन्तन’का प्रवर्तक समेत हुन् । उनका यसअघि ‘शहीदकी आमाको लास’, ‘बालुवामा अर्को नेपाल’ (कथासङ्ग्रह), ‘देश दुःखेको छ’, ‘सालिक उभिएर गोर्खाली’ र ‘पोएट इन किलिङ जोन’ (अङ्ग्रेजी कविता सङ्ग्रह) प्रकाशित छन् । प्रस्तुत छ हालै ‘पल्टनेको फोटो’ नामक कथासङ्ग्रह सार्वजनिक गरेका साहित्यकार राईसँग लोकसंवाद डटकमले साहित्यिक अन्तर्मन्थन गरेको  थियो । प्रस्तुत छ उक्त अन्तर्मन्थनको मूल अंश : 

तपाईंको कथासङ्ग्रह ‘पल्टनेको फोटो’ भर्खरै सार्वजनिक भएको छ, सङ्ग्रहमा के–कस्ता कथाहरू समाविष्ट छन् ?

यस सङ्ग्रहमा सङ्ग्रहित कथाहरू विभिन्न भूगोल र परिस्थितिमा सृजित रचनाहरू हुन् । यसमा मैले समकालीन नेपाली कथा लेखन परम्पराभन्दा कथ्यविधिमा भिन्न ढङ्गले रचनात्मक अभ्यास गर्ने प्रयत्न गरेको छु । तसर्थ यी कथाहरूमाथिको तत्कालको समीक्षात्मक अभ्यासले के देखायो भने नेपाली समकालीन समलोचात्मक परम्पराद्वारा यी कथाहरूको बलात अर्थ त निकाल्न सकिँदो रहेछ, तर रस निकाल्न गाह्रो हुने रहेछ । कारण, दादावाद, अतियथार्थवाद, माइक यथार्थवाद, फ्रायडवाद, डायस्पोरा र भ्रमवाद नव चेतनाग्रहको (भ्रमको चलायामनता)को जानकारी लिएपछि मात्र यी कथाका रस निकाल्न सजिलो हुने रहेछ भन्ने देखायो । तथापि कथाका अन्य पक्षले पनि आमपाठकहरूलाई मनोरञ्जन र आनन्द दिने रहेछ भन्ने पनि देखियो ।

डायास्पोरिक–युद्धकथाहरू पनि भनिएको छ, यसबारे प्रस्ट पारिदिनुस् न ?

मूलतः यी कथाहरू डायस्पोरा–जीवनका भोगाई र युद्वजन्य अनुभव र अनुभूतिद्वारा सृजित रचनाहरू भएकाले यसलाई डायस्पोरिक– युद्वकथाहरू भनिएको हो । यसमा एकातिर पाठकहरूले डायस्पोरिक जीवन र सैन्य तथा युद्वअनुभवका कथाहरू पढ्न पाउने छन् भने अर्कोतिर डायस्पोरा सिद्वान्त, नवचेतनाग्रह र युद्वसौन्दर्य चिन्तनको मिश्रण र पूर्वीय तथा पश्चिमी दर्शन, धर्म र सांस्कृतिक मिश्रणको रस पनि प्राप्त गर्ने छन् ।

तपाईं डायास्पोरा सिद्धान्त र नवचेतनाग्रहका एक प्रवर्तकसमेत हुनुहुन्छ । बताइदिनुस् कि, डायस्पोरा सिद्धान्त भनेको के हो र नवचेतनाग्रह भनेको के हो ?

यी दुई फरक चिन्तनहरू हुन् । वि.सं.२०६८ मा प्रथम पटक नवचेतनाग्रहको प्रस्तावना स्रष्टा मिजास तेम्बे र मैले मिलेर गरेका थियौँ । र, त्यो नवीन चिन्तन र दर्शनको अभ्यास निरन्तर भइरहेको छ भने बेलायती डायस्पोराका भोक्ताका तर्फबाट डायस्पोरा सिद्वान्तमा पनि सँगै काम गरिरहेका छौँ । र, वि.सं. २०७२ मा ‘डायस्पोरा सिद्वान्त, रचना र समालोचना’ पनि प्रकाशित गरिसकेका छौँ ।
अब डायस्पोरा सिद्वान्त भनेको के हो भने डायस्पोरामा रहेका वा मूल भूमिबाट विस्थापित भएर प्रवासिएका जातिको इतिहास, समाज, धर्म, संस्कृति, मनोविज्ञान, राजनीति र अर्थनीतिको अवस्थिति, चाल वा गतिको अध्ययन र अनुसन्धान गर्ने चिन्तन वा पद्वति हो भने त्यही अनुरूपको साहित्य सिर्जना र अध्ययन गर्ने सिद्वान्त हो । नवचेतनाग्रह ठुलो विषय हो । यसले सारा जीवन र जगतको व्याख्या गर्छ । यसको तीन वटा दर्शन जोडिएर नवचेतनाग्रह बन्छ । पहिलो (बस्तुताः प्रकृतिको द्वैधतामा कला)ले सारा जीवन र जगत्, प्रकृति ( अप्राकृति, भौतिक) अभौतिकको व्याख्या गर्दछ । दोस्रो (भ्रमको चलायमानता)ले मानवको ज्ञानमाथि प्रश्न गर्दछ र भ्रमको चक्रीयतालाई प्रकाश पार्दछ । तेस्रो (विचारको विघटन)ले विचारमाथि सन्देह गर्दछ । त्यसको विकारको पहिचान र परिशोधनको आग्रह राख्दछ ।

अनि युद्ध सौन्दर्य चिन्तन भनेको चाहिँ ?

युद्व–सौन्दर्य अर्थात् दुई विपरीतार्थ शब्दको योगले युद्वसौन्दर्य बनेको छ र यो युद्वको सौन्दर्यलाई बुझ्ने वा बुझाउने चिन्तनको आविष्कार हो । युद्व र सौन्दर्य दुई विपरीत शब्द किन भएको रहेछ भने युद्वलाई आरम्भदेखि नै हामीले विध्वंस, भौतिक तथा मानवीय क्षतिको घटनाका रूपमा मात्र बुझ्दै र सम्झिँदै आएका रहेछौँ । तर विगत केही समयदेखिको मेरो घोत्ल्याँइले युद्वका सकारात्मक पक्षहरूको खोज र अनुसन्धान गर्दै जाँदा नयाँ ज्ञानको प्रकट हुन थाल्यो, जसले मलाई युद्व केवल विध्वंस, भौतिक तथा मानवीय क्षतिको घटना मात्र होइन रहेछ, बरु सारा मानव सभ्यता, जीवन र जगतलाई गति दिने शक्ति पनि रहेछ भन्न बाध्य बनायो । तसर्थ मैले युद्वलाई सौन्दर्यमा रूपान्तरण गर्न चाहेँ । अब युद्वसौन्दर्य चिन्तनले इतिहास, मानव विज्ञान, समाज विज्ञान (धर्म,संस्कृति) राजनीतिशास्त्र, अर्थतन्त्र, विज्ञान र प्रविधि शिल्पमा युद्वका कारणबाट हुने क्रम विकास र क्रान्तिकारी विकासको वैज्ञानिक अध्ययन गर्दछ ।

कतिपयको के मान्यता छ भने डायास्पोरा भन्ने नै हुँदैन, यो बेमौसमी खेती मात्रै हो । खास के हो कुरो ?

डायस्पोरा हुँदैन भन्नु सुतुर्मुर्गले टाउको माटोमुनि लुकाएर आकाश हुँदैन भन्नुजस्तै हो ।  त्यो अन्धो बौद्विकतामा रमाउने परम्पराको उपज र इष्र्याको खेती हो । पूर्व–पश्चिम युरोपले ई.पू. छैटौँ शताब्दीमा डायस्पोरा पदको आविष्कार गरेर उन्नाइसौँ शताब्दीमा युरोपले यसको वैज्ञानिक  तथा प्राज्ञिक अध्ययन र अनुसन्धानले डायस्पोरा अध्ययनलाई वैभवशाली बनायो । एक्काइसौँ शताब्दीमा पनि ग्लोबल डायस्पोराको अध्ययन र अनुसन्धान त्यत्तिकै उर्वर रहेको छ । आज अक्सफोर्ड, क्याम्ब्रिज र रुटलेजजस्ता विश्वविद्यालयका प्रकाशनले नेपाली डायस्पोरा इन ग्लोकलाइज्ड इरान, ग्लोबल नेपालीज, रिलीजन कल्चर एन्ड कम्युनिटी इन अ न्यु एन्ड ओल्ड डापस्पोरा जस्ता पुस्तकमा पुराना र नयाँ नेपाली डायस्पोराको अध्ययन गरेर हाम्रो सम्पत्तिलाई उनीहरूले आफ्नो बनाइसके । उतातिर फर्किँदा आफ्नो डायस्पोराका बारेमा अरूले लेखिदिएको पुस्तक पढ्न बाध्य हुन पर्दा आफ्नो बौद्विकताप्रतिको हीनताबोधले सिर नुहिन्छ भने यता फर्किँदा डायस्पोरा हुँदैन भन्दै अन्धो बौद्विकतामा रमाउनेहरू देख्दा कुराकुरी लाग्छ ।

नेपाली साहित्यको केन्द्रले डायास्पोराको साहित्यलाई अझै पनि फराकिलो हृदयले स्वीकार गर्न सकिरहेको पाइँदैन । यस्तो किन भइरहेको होला ?

त्यसो हुनको मूल कारण डायस्पोरा सम्बन्धी अध्ययन, चेतना र ज्ञान कमजोर हुनुले हो । कारण मानिसमा ज्ञानले नै विषयप्रतिको आकर्षण र कर्मप्रतिको प्रतिबद्वता बढाउने हो .

नेपाली साहित्यको केन्द्रसँग डायस्पोराको मुख्य आग्रह चाहिँ के हो ?

नेपाली डायस्पोराको प्राज्ञिक अध्ययनका लागि डायस्पोराको विषयलाई संस्थागत गरिनु पर्दछ । त्यसका लागि नेपालका प्राज्ञिक संस्थाले डायस्पोराप्रतिको गहन ज्ञान हासिल गर्न र फराकिलो छाती बनाउनु पर्दछ । 

अहिले डायास्पोराबाट थुप्रै साहित्य सिद्धान्त आइरहेका छन् नि ? तिनका बारेमा केही बोलिदिनुस् न ?

भर्खरै मैले एउटा दार्शनिक वाक्य सुनेको थिएँ, ‘किराले जस्तो नसोच्नू, चराको आँखाले संसार हेर्नू ।’ डायस्पोरा चराको आँखाले संसार हेर्ने क्षेत्र हो र डायस्पोराबाट नयाँ नयाँ चिन्तन त्यसैको उपलब्धि हो । अब मूलधारका हुँ भन्नेहरूमध्ये केही चाहिँ  किराले जस्तो सोच्दै बस्छन् ।

तपाईं नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको संस्थापक अध्यक्ष, अहिले पनि तपाईँ संस्थामा आबद्ध हुनुहुन्छ । उक्त संस्थाले वर्षेनी पुरस्कार र सम्मान पनि दिन्छ । पुरस्कार र सम्मानका लागि प्रतिभा चयन प्रक्रिया के–कस्तो छ ?

हो, यस संस्थाको संस्थापक अध्यक्ष हुने अवसर मलाई मिल्यो र यस अर्थमा म सारै भाग्यमानी छु । पुरस्कार र सम्मान हाम्रो सामूहिक प्रयत्न र भौतिक तथा मानसिक लगानीले त्यो सम्भव भएको हो । प्रतिभा पुरस्कारको छनोट प्रक्रियामा संस्थाका संस्थापक सदस्यहरू निर्णायक रहन्छन् । प्रतिभा चयनमा राज्यको केन्द्रबाट बेवास्ता गरिएका, तर प्रतिभा वान व्यक्ति र उसको सृजनामा लगानी र योगदानलाई हेरिन्छ भने विधागत विविधता, क्षेत्रीयता, जातीयता र लिङ्गीयतामा पनि समावेशीपना अपनाइन्छ । तर, स्मरण रहोस्, पुरस्कारका लागि प्रतिभा चयनमा संस्थाले नातावाद, कृपावाद, भनसुन र दबाबबाट पुरस्कार हत्याउने नेपाली परम्परालाई तोड्दै आएको छ र त्यस्तो हर्कत कहीँकतैबाट भयो भने त्यो स्रष्टाले प्रतिभा पुरस्कारको ढोका आफैँले बन्द गरेझैँ हुने छ । यस्तो घटना घटेको पनि छ ।

 योभन्दा नि ठुला राशिका अन्य पुरस्कार पनि छन् क्यारे होइन ? 
प्रतिभा पुरस्कारभन्दा ठुलो राशिको पुरस्कार भनेपछि तपाईँले पहिचान पुरस्कार भन्नेलाई सङ्केत गर्नुभएको होला ।  प्रतिभा पुरस्कारसँग पहिचान पुरस्कार तुलनायोग्य छैन । कारण, पुरस्कार धनको राशिले सानो वा ठुलो हुने होइन । त्यसको विधागत व्यापकता, क्षेत्र र उद्देश्यले हुने हो । प्रतिभा पुरस्कारले विधागत व्यापकता, क्षेत्रीयता, जातीयता र लिङ्गीयतामा समावेशीपना अपनाएर बृहत् बनाएको छ । त्यसै कारण अहिले प्रतिभा पुरस्कारप्रति धेरैको विश्वास र आकर्षण बढिरहेको अवस्था छ । 

तर, पहिचान पुरस्कार चाहिँ केही विशेष जातिमाथि लेख्ने वा कुनै व्यक्तिद्वारा प्रतिपादित विचारमाथि लेखिदिने वा कुनै राजनीतिक पार्टीको एजेन्डालाई लेखनको विषय बनाउने स्रष्टा र कृतिलाई प्रदान गरिने पुरस्कार हो ।

बेलायतमा नेपाली साहित्यको समग्र स्थितिचाहिँ कस्तो रहेको छ ?

बेलायतमा नेपाली साहित्यको स्थिति सङ्ख्यात्मक हिसाबले सन्तोषजनक छ । गुणात्मकताको आशा गर्न सकिने प्रशस्त ठाउँ छ । त्यो निरन्तरको अभ्यासबाट आउने परिणाम हुनेछ ।