कम्प्युटर देख्नै नपाई  कम्प्युटर विषयको परीक्षा

कम्प्युटर देख्नै नपाई  कम्प्युटर विषयको परीक्षा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३, २०७५

सल्यान । कुमाख गाउँपालिका–७ जिमालीस्थित बिर्केनेटी आधारभूत विद्यालयको कक्षा ८ का विद्यार्थी मीनराज चलाउनेले अहिलेसम्म कम्प्युटर देखेका छैनन् । तर, उनले दुईपटक कम्प्युटर विषयको वार्षिक परीक्षा दिइसकेका छन् । ‘खै ! कम्प्युटर कस्तो हुन्छ देखेको छैन,’ मीनराजले भने, ‘कम्प्युटर नदेखे पनि पास हुनलाई परीक्षा त दिनैपर्‍यो नि!’

उनले कक्षा ६ र ७ को वार्षिक परीक्षामा कम्प्युटर विषयको परीक्षा दिएका हुन् । अझ त्रैमासिक र अर्धवार्षिक परीक्षा त कक्षा ८ मा पनि दिइसके । तीन वर्षदेखि कम्प्युटर विषय पढ्दै पनि आएका छन् । ‘एक सय पूर्णांकको छ, नपढी भयो त रु,’ उनले प्रश्न गरे । 

उनी मात्रै होइनन्, बिर्केनेटी आधारभूत विद्यालयका कक्षा ६ देखि ८ सम्मका सबै विद्यार्थी कम्प्युटर नदेखेरै कम्प्युटर विषय पढ्छन् । त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षा दिन्छन् र पास पनि हुन्छन् । 

शिक्षकले पनि कालोपाटीमा कम्प्युटरको चित्र कोर्छन् । यस्तो उस्तो हुन्छ भनेर पढाउँछन् । कक्षामा कम्प्युटर त शिक्षकले पनि छुन पाउँदैनन् । किनकि, यो विद्यालयमा कम्प्युटर नै छैन । कम्प्युटर नभएकाले समस्या भएको विद्यालयका प्रधानाध्यापक डिल्लीबहादुर बुढाथोकीले बताए । ‘०७० देखि यसरी नै पढाइरहेका छौँ,’ प्रधानाध्यापक बुढाथोकीले भने । 

सरकारले कक्षा ६ देखि ८ सम्म एक सय पूर्णांकको मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय राख्न सकिने गरी साप्ताहिक रूपमा पाँच पाठ्यभार छुट्याएको छ । यो विद्यालयले ऐच्छिक विषयका रूपमा एक सय पूर्णांकको कम्प्युटर विषय पढाउने गरेको हो । तर, कम्प्युटर नहुँदा विद्यार्थीले पुस्तक पढेकै भरमा कम्प्युटर विषयको परीक्षा दिने गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।