संघीय संसद्को एक वर्ष : के–के उपलब्धि भए ?

संघीय संसद्को एक वर्ष : के–के उपलब्धि भए ?

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३, २०७५

काठमाडौं । संघीय संसद् प्रारम्भ भएको एक वर्ष पूरा भइसकेको छ । २१ फागुन ०७४ बाट सुरु संसद्को हिउँदे अधिवेशन अबको एक हप्ताभित्र टुंगिँदै छ । एक वर्षमा संघीय संसद्मा ५६ विधेयक दर्ता भए, जसमध्ये २५ पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भइसके । यसबीचमा संसद्ले मौलिक हक कार्यान्वयन गर्ने १६ वटा कानुन निर्माण गरेको छ । संविधानअनुकूल बनाउनुपर्ने १ सय ६५ वटा कानुन पनि संशोधन गरिसकेको छ । 

प्रमाणीकरण हुन बाँकी विधेयकमध्ये अधिकांश प्रतिनिधिसभाबाट पारित भइसकेका छन् । केही विधेयक भने राष्ट्रिय सभा तथा प्रतिनिधिसभामा छलफलमा छन् । प्रतिनिधिसभाबाट पारित भइसकेका र राष्ट्रिय सभाबाट पारित हुन बाँकी ६ वटा विधेयक छन् । त्यस्तै, ३ वटा विधेयक राष्ट्रिय सभाबाट पारित भई हाल प्रतिनिधिसभाको प्रक्रियामा छन् । 

संघीय संसद्को पहिलो अधिवेशनले सरकारले ल्याएको अध्यादेश पारित गरेको थियो । सो अधिवेशनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग, राष्ट्रिय सभा सदस्य निर्वाचन, राष्ट्रिय चिकित्सासम्बन्धी सरकारले ल्याएको अध्यादेश पारित गरेको थियो । 

मुलुकमा विद्यमान विभिन्न ऐन संघीय संसद् प्रारम्भ भएको एक वर्षभित्र संविधानअनुकूल बनाइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैअनुसार सरकारले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’मार्फत ५६ वटा तथा ‘नेपालको संविधानअनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’मार्फत १०९ वटा ऐन संशोधनको प्रस्ताव संसद्मा ल्याएको थियो । यी सबै ऐन १९ फागुनमा प्रमाणीकरण भइसकेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।