सवारी पास बिना यात्रु ओसार पसार गर्ने सवारी चालक पक्राउ

सवारी पास बिना यात्रु ओसार पसार गर्ने सवारी चालक पक्राउ

लोकसंवाद संवाददाता  |  समाज  |  असार २२, २०७७

काठमाडौं । सवारी पास बिना यात्रु ओसार पसार गरेको अभियोगमा दुई जना सवारी चालकहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे‍.१ ज ११३५ नम्बरको सवारी साधनका चालक बर्दिया बढैया गाउँपालिका-५ घर भएका २९ वर्षीय संजय बिक र डोटीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२ ज ८६ नम्बरको ट्याक्सीका चालक काभ्रे धुलिखेल नगरपालिका-१ घर भएका ३० वर्षीय संखमान तामाङ रहेका छन् ।

पक्राउ परेका चालकमध्ये बिकले पास बिना १७ जना यात्रुहरुसँग २५ हजार रुपैयाँ असुल गरी आएको र तामाङले ३ जना यात्रुहरुसँग ३० हजार रुपैयाँ पाउने सर्तमा अनाधिकृत रूपमा राखि आएको अनुसन्धानको क्रममा खुल्न आएको हो ।

पक्राउ परेका दुबै जनालाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।