लागूऔषध सहित पक्राउ

लागूऔषध सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २२, २०७७

काठमाडौं । बारा, जितपुरसिमरा उपमहानगरपालिका-१४ दुधौरा पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्राम सहित सोही उपमहानगरपालिका-८ गम्हरगावा टोल बस्ने ६० वर्षीय बासदेव महतोलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  

उक्त स्थानमा लागूऔषध गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । महतो उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 
यसैगरी बारा, जितपुर सिमरा उपमहानगरपालिका-५ बकुलिया र आमाडारको दुधौरा खोलास्थितबाट अवैध लागूऔषध गाँजा करिब ८ केजी सहित सोही उपमहानगरपालिका-८ लोसण्डा बस्ने २८ वर्षीय पचु पासवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको  हो । 

पर्सा, पटेरवा सुगौली गाउँपालिका-१ सोनबर्षा बस्ने २८ वर्षीय किसुन मण्डललाई अवैध लागूऔषध गाँजा करिब २३ केजी सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रङ्गपुर टाडीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको  हो । 
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।