विभिन्न सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

विभिन्न सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  असार २२, २०७७

काठमाडौं । बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ आधाभार जंगल नजिकै सडकमा ना.७ ख ६५९७ नम्बरको टिपरले ना.५३ प ३३१३ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ठक्कर दिंदा स्कुटर चालक हाल वतन नखुलेका ५५ वर्षीय सुर्जे बहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ । दुबै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

चितवन, रत्ननगर नगरपालिका-२ टांडी चोकस्थित सडकमा प्रदेश नं.३-०१-००२२ च ३९४४ नम्बरको स्कारपियोको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३४ वर्षीय कृष्ण कारंजितको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

झापा, बिर्तामोड नगरपालिका-३ स्थित सडकमा को.३ प १९३३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक उदयपुर त्रियुगा नगरपालिका-६ घर भएका बीर बहादुर अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार पाँचथर हिलिहाङ गाउँपालिका-७ घर भएका गेहनाथ तिम्सिनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

सिन्धुली, कमलामाई नगरपालिका-१४ चन्दनपुरस्थित सडकमा भिमानबाट डकाहा दुधौलीतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीय यज्ञ बहादुर जोगीको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 

कास्की, पोखरा महानगरपालिका-५ स्थित सडकमा लु.५९ प ८७८१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैलदयात्री सोही ठाउँ बस्ने ५१ वर्षीया रुपा सिंह बिकको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पोखरा महानगरपालिका-६ बस्ने १९ वर्षीय  नारायण प्रसाद आचार्यको रिजन अस्पताल जिरोमा उपचार भइरहेको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।