ललितपुरको विद्यालयमा  रोबोटबाट पढाइ सुरु

ललितपुरको विद्यालयमा  रोबोटबाट पढाइ सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३, २०७५

ललितपुर । ललितपुरस्थित एक विद्यालयमा रोबोटबाट पढाउन थालिएको छ । प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयमा शुक्रबारबाट रोबोटमार्फत पढाउन थालिएको हो । जापानको केडिडिआई फाउन्डेसन, साझा शिक्षा इ–पाटी तथा ललितपुर महानगरपालिकाको पहलमा नयाँ प्रयोग सुरु भएको हो । 

साझा शिक्षा इ–पाटीका निर्देशक रवि कर्माचार्यका अनुसार रोबोट प्रविधिअन्तर्गत विद्यालयमा विद्यार्थीका सैद्धान्तिक ज्ञानका विषय कम्प्युटरमा प्रोग्रामिङ गरिएको हुन्छ । प्रोग्रामिङ गरिएको  विषयका आधारमा विद्यार्थीले रोबोटलाई निर्देश गर्छन् । त्यस्ता निर्देशन रोबोटले पालना गर्छ । जसबाट विद्यार्थीले सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक ढंगबाट सिक्छन् ।

विद्यार्थीको क्षमता परिष्कृत गर्न रोबोट प्रयोगमा ल्याइएको विद्यालयले जनाएको छ । विद्यार्थीका समस्या समाधान, सिर्जनशीलता, तर्क गर्ने क्षमता विकासलगायत उद्देश्यका साथ रोबोट प्रविधि सुरु गरिएको ललितपुर महानगरपालिकाका आइसिटी फोकल पर्सन सत्यनारायण महर्जनले बताए । 

रोबोट प्रविधिमार्फत सिकाइको सुरुवातका लागि २७ फागुनबाट १ चैतसम्म शिक्षकहरूलाई ललितपुरमा तालिम दिइएको थियो । ललितपुर महानगरपालिकाको आयोजनामा सो तालिम ५ दिनसम्म सञ्चालन भएको थियो । तालिममा प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालय, बालकुमारीस्थित हिन्दू विद्यापीठ र धापाखेलस्थित जलपा माध्यमिक विद्यालयका दुई–दुईजना शिक्षक सहभागी थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।