रिक्सा व्यवसायीद्वारा वैकल्पिक व्यवस्था गरिदिन माग

रिक्सा व्यवसायीद्वारा  वैकल्पिक व्यवस्था गरिदिन माग

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २३, २०७७

काठमाडौँ  । काठमाडौँ महानगरीय पर्यटकीय रिक्सा स्वतन्त्र चालक सङ्गठनले लकडाउन (बन्दाबन्दी) का कारण रिक्सा व्यवसाय ठप्प हुँदा दैनिकी चलाउन समस्या भएको भन्दै वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

सो सङ्गठनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा रिक्सा व्यवसायीहरुले बन्दाबन्दी (लकडाउन) का कारण आफूहरु ठूलो मारमा परेका तर राज्यले यो कठिन समयमा पनि राहत तथा सहुलियत नदिएको गुनासो गर्नुभयो ।

सोही अवसरमा सङ्गठनका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले भन्नुभयो, 'पर्यटन व्यवसाय हाल ठप्प भएको छ, तत्काल खुल्ने सम्भावना पनि नभएकाले मजदुरको जीवनयापनमा झन समस्या थपिएको छ, यस्तो अवस्थामा राज्यले हामीहरुलाई वैकल्पिक व्यवस्था गर्नुपर्छ ।' 

मजदुर प्रायः सुकुम्वासी र घरजग्गा नभएका कोठा भाडामा लिएर बस्नसक्ने क्षमतासमेत नभएकाले रिक्सामा नै सुत्ने होटलमा खाने गर्दै जीविकोपार्जन गरिरहेका असहाय भाएकाले निजहरुको पहिचान गरी गाँस, बास र कपासको व्यवस्था राज्यबाट हुनुपर्ने सङ्गठनको माग छ ।

सङ्गठनका सचिव विकास थापा, अखिल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका सदस्य टीका परेल, रिक्सा चालक सानु कान्छा तामाङ र विकास परियारले सरकारले रिक्सा चालकलाई वैकल्पिक व्यवस्था नगरेको खण्डमा सङ्घर्षमा जाने चेतावनी दिनुभयो ।