मेलम्चीको शुरुङ मार्गमा पानी छोडेकाेमा  सिन्धुपाल्चोकका जनप्रतिनिधिकाे नाममा  किचोला शुरु

मेलम्चीको शुरुङ मार्गमा पानी छोडेकाेमा  सिन्धुपाल्चोकका जनप्रतिनिधिकाे नाममा  किचोला शुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २३, २०७७

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकातर्फी रुपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायहरुलाई कुनै जानकारी नदिई पानी पथान्तरण शुरुआत गरेको घटनाप्रति दुःख प्रकट गरेका छन् ।

२०७७ असार २२ गते सोमबार पत्रकार सम्मेलन गर्दै सरोकारवालासँग कुनै समन्वय नै नगरी मन्त्रालयले गरेको यस्ता हर्कतबारे दुःख प्रकट गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेसकुमार ढकालले आइतबार पानी परीक्षण उद्घाटन गर्नुभएको थियो । मन्त्रीले आइतबार गरेको पत्रकार सम्मेलनमा सिन्धुवासीलाई दिएको अभिव्यक्तिबारे पनि ध्यानाकर्षण भएको जनाइएको छ ।

खानेपानी तथा सरसफाइमन्त्री विना मगरले मेलम्चीको पानी सिन्धुवासीको भए पनि त्यसबारे कुनै सम्बोधन नगरी पानी काठमाडौँ आएको भन्दै मन्त्रालय र खानेपानी विकास समितिलाई मुख्य श्रेय दिनुभएको थियो । उक्त अभिव्यक्ति तुरुन्त सच्याउन माग गर्दै आउँदा दिनमा यसैगरी निर्णय गरे थप समस्या हुने चेतावनी दिइएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तमाङ मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, राप्रपा २ न क्षेत्रीय अध्यक्ष फडिन्द्र दाहाल, हेल्मो सिन्धु सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष उपेन्द्र तामाङ उपाध्यक्ष चिरन तामाङ ईन्द्रवती सरोकार समितिका अध्यक्ष विष्णुमणि आचार्यलगायतले लेबी र स्थानीयको माग पूरा नगरी पानी लगे आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

लेबी, मजदुर, कर्मचारी र सप्लायर्सहरुको समस्या तथा विकास निर्माण सम्बन्धमा तत्काल निर्णय लिन पनि बैठकले ध्यानाकर्षण गरेको छ । हेलम्बु गाउँपालिकाकोे घोर आपत्ति मेलम्चीको पानी सुरुङबाट काठमाडौँमा पठाउनका लागि सरकारले स्थानीय सरकारसँग कुनै समन्वय र सहकार्य नगरेको भन्दै हेलम्बु गाउँपालिकाले घोर आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उक्त कार्य अनुचित र गैरजिम्मेवार भएको टिप्पणी गर्नुभएको छ । उहाँले आगामी दिनमा सहयोगका लागि असहज वातावरण सिर्जना गर्न स्थानीय सरकार र स्थानीयवासी बाध्य हुने तथा यसको सम्पूर्ण जिम्मेवारी उक्त आयोजना र सोसँग सम्बन्धित निकायले व्यहोर्नुपर्ने उल्लेख गर्नुभएको छ ।