कार्यालयका लागि जग्गादान

कार्यालयका लागि जग्गादान

लोकसंवाद संवाददाता  |  समाज  |  असार २३, २०७७

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेका दुई महिलाले सवडिभिजन वन कार्यालयको भवन तथा नर्सरी निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् । स्थानीय मङ्गलमती लिम्बू र सीता लिम्बूले दुई/दुई रोपनी जग्गा निःशुल्क दिएका हुन् । दुवै जनाले रु १६ लाख बराबरको जग्गा सोमबार रजिस्ट्रेशन पास गरिदिएको जिल्ला वन कार्यालय ताप्लेजुङका प्रमुख वीरेन्द्र शाहले जानकारी दिनुभयो । जग्गा पास गरिदिएलगत्तै सोमबारै दुवै जनालाई जिल्ला वन कार्यालयले दोसल्ला ओढाएर सम्मानसमेत गरेको छ । 

समाज सेवा गर्ने आफूहरुको इच्छानुसार वन कार्यालयलाई जग्गा उपलब्ध गराएको जग्गादाताले बताएका छन् । उक्त जग्गाभित्र सवडिभिजन वन कार्यालयको भवन र नर्सरी स्थापना गर्ने जिल्ला वन कार्यालय ताप्लेजुङले जनाएको छ । यसका लागि चाँडै प्रक्रिया अघि बढाइने कार्यालय प्रमुख शाहको भनाइ छ ।