रैथाने बीउ संरक्षणमा जोड

रैथाने बीउ संरक्षणमा जोड

लोकसंवाद संवाददाता  |  समाज  |  असार २३, २०७७

दाङ । दाङ जिल्लामा लोपोन्मुख स्थानीय बालीको मूल बीउ संरक्षण गर्न थालिएको छ ।  जिल्लामा सहकारीका माधयमबाट स्थानीय बालीको बीउको संरक्षण गर्न लागिएको हो । 

परम्परागतरुपमा खेती गरिँदै आएका बालीप्रति पछिल्लो समयमा कृषकको आकर्षण बढेको कृषिका अगुवा बताउनुहुन्छ ।  घोराही उपमहानगरपालिका– २ मा रहेको जैविक विविधता कृषि सहकारी संस्थाले लिवर्ड संस्थाको सहयोगमा विसं २०६४ देखि स्थानीय जातको बीउ सङ्कलन र संरक्षण गर्दै आएको छ । 
जिल्लाका धेरै स्थानको अध्ययनपछि उपयुक्त स्थानका रुपमा रामपुरलाई छनोट गरिएको जैविक विविधता कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राममणि पाण्डेलले जानकारी दिनुभयो ।     

लिबर्डले करीब ६ वर्ष यही कार्यक्रमका लागि सहयोग गरेको स्थानीयवासीले बताएका छन् । लोपोन्मुख स्थानीय बाली संरक्षण र यसका बारेमा जानकारी पाएपछि स्थानीयवासीको यसतर्फ आकर्षण बढेको संस्थापक अध्यक्ष पाण्डेले बताउनुभयो । “संस्थाले स्थानीय जातको महत्वबारे जानकारी दिएपछि अहिले स्थानीयवासीको लोपोन्मुख जातका बालीप्रति आकर्षण बढेको हो, यसअघि स्थानीय जातलाई विश्वास नगर्नेहरुले पनि विश्वास गरेर खेती गर्न थालेका छन्”,  संस्थापक अध्यक्ष पाण्डेले भन्नुभयो ।

अहिले स्थानीयस्तरमा पाइने बाली सङ्कलन गर्ने तथा संरक्षण गर्ने काम भइरहेको पाण्डेले जानकारी दिनुभयो । यसै गरेर स्थानीय बाली उत्पादन गरेर बजारसम्म पुर्‍याइने गरेको पाण्डेको भनाई छ । 

संस्थाले दाङ जिल्ला तिल्की धानका लागि प्रख्यात रहेकाले यसको संरक्षणसँगै विस्तार पनि गर्न थालेको छ । संस्थाले तिल्कीका विभिन्न जातलाई मिलाएर एउटा बनाउने काम गरेको अध्यक्ष पाण्डेले बताउनुभयो । पछिल्लो समयमा तिल्की धान लगाउनेहरु पनि बढेका छन् । उत्पादित धानको बीउ बजारसम्म पठाइने गरेको छ ।