तनावमा पर्यटन व्यवसायी : कटेजमा ताल्चा, बैंकमा ऋण

तनावमा पर्यटन व्यवसायी : कटेजमा ताल्चा,  बैंकमा ऋण

लोकसंवाद संवाददाता  |  पर्यटन  |  असार २३, २०७७

झापा, कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा हुनुहुन्छ । इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा सञ्चालन गरेको कटेज बन्दाबन्दीको समयमा बन्द गर्नु परेपछि उहाँ तनावमा पर्नुभएको हो । 

दुई वर्षअघि आचार्यले साहु र बैंकको ऋण लिएर भाडामा लिई अन्तुमा कटेज खोल्नुभएको थियो तर अहिले त्यो कटेज बन्दाबन्दी शुरु भएदेखि नै बन्द छ । कटेज बन्द भए पनि कटेजको लिज भाडा, बैंकको ऋण र साहुको पुरानो रकमले यतिबेला आचार्यको मन पोल्छ ।

'दुई वर्षअघि मात्र लिजमा लिएको, कमाइ पनि राम्रै थियो', आचार्य भन्नुहुन्छ, 'अब अहिले त के गर्ने न कसो गर्ने भइयो । लकडाउनको समयमा पनि भाडा त लागेको छ । कसरी तिर्ने '  १५ लाख लगानी गरेर आचार्यसहित दुई जनाले कटेल सञ्चालन गर्नुभएको थियो । 'लकडाउनले गर्दा कटेज त खोल्नै पाएको छैन । साहुले केही महिनाको भाडा छुट दिए भनेचाहिँ चलाउन सकिन्छ', आचार्यले भन्नुभयो ।

बीस जना क्षमता भएको कटेज चलाउनुभएका आचार्यले यो सिजनमा विगतका वर्षमा मासिक खर्च कटाएर  ९० हजारसम्म बचाउनुहुन्थ्यो । अहिले कटेज नै बन्द भएपछि दैनिकी चलाउनसमेत सकस पर्दै गएको उहाँ बताउनुहुन्छ । भ्रमण वर्षको समयमा उल्लेख्य फाइदा लिने सोच बनाउँदै गर्दा कोरोनाको समस्याले आजित बनाएको आचार्यको भनाइ छ ।

दैनिक ४०० हाराहारीमा पर्यटक भित्रिने अन्तुमा पर्यटन व्यवसाय नै ठप्प हुँदा नसोचेको घाटा व्यहोर्नुपरेको घरवास (होमस्टे) सञ्चालक धनबहादुर आले बताउनुहुन्छ । आलेका अनुसार सिजनकै समयमा बन्द गर्नुपर्दा व्यवसायीले ऋणको चर्को ब्याजदर सामना गर्नुपर्दैछ भने पर्यटकीय क्षेत्र पहिलेकै स्तरमा पुयाउनसमेत समस्या पर्ने भएको छ ।

मुलुककै प्रमुख पर्यटकीय क्षेत्र श्रीअन्तु सुनसान बनेपछि व्यवसायीले खुलाउन पहल गर्दै आएका छन् । महामारीमा होमस्टे र कटेज खोल्दा पर्यटक आए पनि जोखिम बढाउने भएकाले व्यवसायी अन्योलमा परेका हुन् ।