जे चाहिए नि आन्दोलन !

जे चाहिए नि आन्दोलन !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३, २०७५

काठमाडौँ । पेट्रोलको भाउ बढ्यो आन्दोलन । अस्थायी जागिरलाई स्थायी बनाउनुपर्‍यो आन्दोलन । ग्यासको मूल्य बढाउन, आफूले चाहेको ठाउँमा सरुवा माग्न, न्याय माग्न आन्दोलन । पेसागतदेखि व्यक्तिसम्मका अनेकन माग पूरा गर्ने माध्यम बनेको छ आन्दोलन । आन्दोलन गर्दा सडक जाम गराइन्छ, बन्द गराइन्छ, तोडफोड हुन्छन् । जहिले पनि मारमा पर्छन् सर्वसाधारण । 

फागुन १९ मा यस्तै एउटा आन्दोलनले सडक तात्यो । संघीय शिक्षा ऐनमा स्वतः स्थायी हुने प्रावधान राख्नुपर्ने मागसहित देशभरका राहत र प्रारम्भिक बालविकास केन्द्र (ईसीडी) का शिक्षक पढाउन छाडेर आन्दोलन गर्न राजधानीमा जम्मा भए । माइतीघरदेखि नयाँबानेश्वरसम्मको क्षेत्र केही दिन उनीहरूकै कब्जामा पर्‍यो । आन्दोलन नियन्त्रणमा लिन प्रहरीले शिक्षकमाथि पानीको फोहोरा हान्यो । अन्त्यमा मापदण्ड बनाएर स्थायी गर्ने शिक्षा मन्त्रालयको प्रतिबद्धतापछि उनीहरू फागुन २३ गते घर फर्किए ।आन्दोलनले बालबालिकाको पढाइ अस्तव्यस्त भयो ।

जिल्लामा गरिएको आन्दोलन संघीय सरकारले देख्दैन । त्यही भएर सबैले काठमाडौं नै रोज्छन् । सबैजसो आन्दोलनको साक्षी माइतीघर मण्डल बन्ने गरेको छ । कतिपय आन्दोलन त यहीं सुरु हुन्छन, यहीं सकिन्छन् । पुसमा सरकारी चिकित्सक आन्दोलित भने । सरकारसँग सहमति भयो । फेरि सुरु भएको उनीहरूको आन्दोलन टुंगिएको छैन । सम्पूर्ण सरकारी चिकित्सकलाई संघीय सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग सरकारी चिकित्सकको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।