औद्योगिकग्राम  स्थापना

औद्योगिकग्राम  स्थापना

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २३, २०७७

मकवानपुर । व्यावसायिक क्षेत्रको विकास र रोजगारी वृद्धि गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले औद्योगिकग्राम स्थापना गर्ने भएको छ । 

यसका लागि संभाव्यता अध्ययन भइरहेको बताइएको छ । नगरप्रमुख लगशेर विष्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी  वडा नं ११ स्थित नौखण्डे देउरालीमा  औद्योगिकग्राम स्थापना हुने जानकारी दिनुभयो ।

औद्योगिक ग्राम स्थापनाका लागि मनोकामना मन्दिरको नजिक १०० रोपनी जमिनमा प्राविधिक अध्ययन थालिएको उहाँले बताउनुभयो । सीपमूलक तालीम सञ्चालन गरी साना उद्योग सञ्चालन गर्न चाहने व्यक्ति तथा फर्मलाई अनुदान र मेशनरी सहायता उपलब्ध गराउने व्यवस्था नगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।  

नगर क्षेत्रमा  छरिएर रहेको पूँजी सहकारीको माध्यमबाट एकीकृत गरी सहकारी र नगरपालिकाको साझेदारी विभिन्न सीपमूलक र आय आर्जनका कार्यक्रम

सञ्चालन गर्ने योजनासमेत  नगरपालिकाले अघि सारेको छ । नगरका स्थानीय वृद्धिजीवी हरिप्रसाद भट्टराईले औद्योगिक ग्राम स्थापना गर्नु खुशीको विषय भएको र विदेशमा रोजगारीका लागि  युवालाई पठाउनुभन्दा स्वदेशमा सीपमूलक तालीम दिएर  रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।  

वन विज्ञान अध्ययन संस्थान हेटौँडाका प्रध्यापक दामोदर गैरेले  जडीबुटीका लागि प्रख्यात रहेकाले जडीबुटी विकासका लागि  जोड दिन आग्रह गर्नुभयो । थाहानगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कविराज नेपालले औद्योगिक ग्रामका स्थापनामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।