स–साना बालबालिकालाई सास्ती : जिम्मेवार विद्यालय कि अभिभावक?
असार २३, २०७७

राजधानीका निजी विद्यालयमा पूर्व प्राथमिक तहमा पढ्ने स–साना नानीहरू हिजोआज हातमा ट्याब्लोयड, मोबाइल वा ल्यापटप लिएर बसेको दृश्य घरघरमा देख्न सकिन्छ । अझ रमाइलो त के छ भने नानीहरूसँगै तिनका अभिभावक पनि त्यत्तिकै सक्रिय भइरहेको देखिने गरेका छन् । तर प्रविधिमा निपूण नभएका अभिभावकलाई छोराछोरीको अनलाइन कक्षा सास्तीमा परिणत भइरहेको छ  ।  

कोभिड–१९ को महामारीका कारण विद्यालयहरू बन्द भएपछि हतार हतारमा सुरु गरिएको अनलाइन कक्षा कति कक्षादेखि र कुन उमेर समूहका बालबालिकालाई पढाउनु ठिक हुन्छ भनेर कुनै खासै अध्ययन गरिएको पाइँदैन । धेरै विद्यालयले देखासिकीकै भरमा अनलाइन कक्षा सुचारु गरेका छन् । 

तर अनलाइन कक्षा स–साना नानीहरू एक्लैले लिन सक्ने अवस्था छैन र सक्दैनन् पनि । कम्प्युटरले एकपछि अर्को गर्दै दिने निर्देशन फलो गर्नु जरुरी छ अनलाइन कक्षमा । यसका लागि अभिभावकले पनि उत्तिकै समय दिनु पर्ने र प्रविधि सम्बन्धी ज्ञान हासिल गर्नुपर्ने अवस्था छ । 

प्राथमिक तह अथवा कक्षा ५ सम्म पढ्ने बालबालिकाको उमेर भनेको ११ वर्षसम्मको हुने गरेको छ । प्राथमिक कक्षासम्म आउनको लागि स–साना नानीले प्रारम्भिक बाल कक्षा र पूर्व प्राथमिक कक्षा पूरा गर्नु पर्छ । अहिले निजी विद्यालयले प्रारम्भिक बाल कक्षादेखि प्राथमिक कक्षा पढ्दै गरेका स–साना नानीलाई पनि अनलाइन कक्षामा  सरिक गराइ रहेको पाइन्छ । यस्तो महामारीका बेला घरमा निर्धक्कका साथ बसेर उनीहरूले अभिभावकसँगै थुप्रै ज्ञान लिन सक्छन् । तर हामीकहाँ शिक्षकले पढाए मात्र विद्यार्थीले पढ्छन् भन्ने  अभिभावकका सोच  चुनौतीका रुपमा खडा भएको छ । र, आफ्ना छोराछोरीलाई स्कुलको जिम्मा लगाइदिएपछि उत्तम सिकाइ हुन्छ भन्ने विश्वास राखिन्छ जुन एकदमै गलत  मानिन्छ  । 

यसरी जिम्मा लगाइएका निजी विद्यालयमा पढाउने कतिपय शिक्षकसमेत प्रविधि मैत्री छैनन् । अनलाइन कक्षामा पढाएको हेर्दा के लाग्छ भने शिक्षकहरू नयाँ प्रविधिमा पढाउने कोसिस त गरिरहेका छन् तर पढाउने तरिका  भने विल कूल पुरानै खालको रहेको छ । थोरै शिक्षकले मात्र पावर प्वाइन्ट बनाएर  आफ्नो सामग्री प्रस्तुत गर्न सक्षम देखिएका छन् । विद्यार्थीलाई बुझाउने कोसिस गरे पनि अधिकांशले भने मोबाइलमा पाठ्यपुस्तकका पानाका फोटो खिचेर विद्यार्थीलाई देखाउने हरकत गर्ने र त्यसैलाई पढाउने काम गरेर अनलाइन कक्षाको खिल्ली उडाउने काम गरिरहेका छन् ।  

एका तर्फ यस्तो काम भइरहेको छ भने अर्को तर्फ कमजोर इन्टरनेटका कारण शिक्षकले पढाएको बोली समेत बुझ कठिन हुने समस्या त छँदै छ, त्यसमाथि फोटो खिचिएका मसिना अक्षर पढ्नै कठिन अर्को समस्या बनिरहेको छ । यस्तो बेलामा बालबालिकाका लागि रुचिकर सिकाइका माध्यम के के हुन सक्छन्  सामान्यतया ख्याल गरेको छ । न यो विषयमा  खासै ध्यान विद्यालयको पनि गइरहेको छैन । 

शिक्षा भनेको सिकाई हो । केही पनि नयाँ कुराको ज्ञान प्राप्त गर्नु नै शिक्षा हो । शिक्षा अथवा ज्ञान हामीले जो कसैबाट लिन र दिन सक्छौँ । घरका परिवारका सदस्यबाट पनि हामीले शिक्षा लिन सक्छौँ । क्रषिमुनि र गुरुहरूबाट ज्ञान लिन सक्छौँ । यसै गरी आफू वरपरको वातावरण र प्रकृतिबाट पनि सिक्न सक्छौँ । अहिले यो कठिन समयमा शिक्षकले अनलाइन कक्षा लिँदा पनि पाठ्यक्रमलाई आधार मानेर हामीले बालबालिकाहरूलाई सिर्जनात्मक ढङ्गबाट सिकाइका लागि उत्प्रेरित गर्न सक्नुपर्थ्यो । जुन कुरा शिक्षकहरूबाट नभइरहेको अवस्था छ । 

पढाइको नाममा कलिला नानीको बालापन खोस्ने काम कसैले पनि हुँदैन । बन्दाबन्दीको समयको पनि शुल्क असुल्न अनलाइन कक्षाको बहाना बनाएर पढाइ सञ्चालन गर्न कस्सिएका निजी विद्यालय र सरोकारवाला सबैले अहिले शिक्षण–सिकाइको शैलीमा व्यापक रूपान्तरण गर्ने सके मात्र यसको औचित्य पुष्टि गर्न सकिन्छ । 

उदाहरणको लागि कक्षा ६ को नेपाली किताबमा भविष्यको योजना भन्ने पाठ छ । यो पाठ शिक्षकले लाइन बाइलाइन पढाउनु आवश्यक नै छैन । भविष्य र योजना भनेको के हो यसको अर्थ प्रष्टयाई विद्यार्थी सबैलाई आ–आफ्नो भविष्यको योजनाकाबारे भन्न र लेखाउन सकिन्छ ।

 यसै गरी सोसल स्टडिजमा हामीले मनाउने चाडपर्व, धर्म संस्कृति, आचरण, समुदाय लगायतका विषय समावेश गरिएका छ ।  यी कुरालाई विद्यार्थीको आफ्नै अनुभवको आधारमा लेखेर प्रस्तुत गर्न लगाउन सक्यो भने आफूले जानेका कुरा विद्यार्थीले सजिलै लेख्न सक्छन्  । नजानेका केही कुराबारे अभिभावकसँग सोध्न थाल्दछन् । यसरी पढाउन थालियो भने अभिभावकको पनि संलग्नता हुन्छ । तर अनलाइनमा शिक्षकले पढाउँदा नौलो प्रयोग केही गरेको देखिँदैन । 

पुरानैशैलीमा पाठ्यपुस्तकका पानाहरूलाई अनलाइनमा पढाइने कुरालाई अनलाइन कक्षा मान्न नहुन तर्क आइरहेका छन् । शिक्षाविद् प्रा.डा। विद्यानाथ कोइरालाको निष्कर्ष छ– ‘शिक्षकले अनलाइन कक्षामा पढाउँदा पाठ्यपुस्तकका विषयवस्तुलाई सन्दर्भ सामग्री मानेर शिक्षकले पढाउने तरिकामा नयाँपन अपनाउन जरुरी छ । स–साना नानीले अनलाइन पढ्न पाउनु नराम्रो हुँदै होइन तर उनीहरूलाई अनलाइन कक्षा किन झ्याउ लाग्ने गरेको छ, यो कुरा शिक्षकले बुझ्नु आवश्यक छ ।’ 

प्रय पूर्व प्राथमिकमा  पढ्ने बालबालिका भनेको ४ देखि ८ वर्ष उमेर समूहका  बालबालिका हुने गर्छन् ।  ८ वर्ष सम्मको यो अवधिलाई प्रारम्भिक बाल अवस्था मानिन्छ ।  यो समय भनेको शारीरिक र मानसिक विकास हुने बेला हो । यो उमेर समूहका नानीहरूलाई मानसिक दबाब सृजना गरिनु भनेको अन्याय गर्नु हो ।  निर्धक्क साथ उफ्रने, खेल्ने र आफ्नै अभिभावकसँग रमाइ रमाई उनीहरूले भोगेका कुराहरू नै सिकाई गर्ने  दिने समय पनि हो । अमेरिकी प्राध्यापक न्यान्सी कार्लसनले गरेको अध्ययन अनुसार, सानो उमेरमै विद्यालय जान सुरु गरेका विद्यार्थीमा डर, अलमल र चिडचिडापन हुने गरेको देखा परेको थियो ।

बेलायत र अमेरिकाले भने ५ वर्ष पुगेपछि मात्र औपचारिक शिक्षा दिन थाल्ने गरिएको पाइन्छ । तर हामीकहाँ बच्चा दुई वर्ष हुन पाएको हुँदैन विद्यालय पठाउन अभिभावकको  हतारो हुने गरेको छ । स–साना नानीहरू, जो आफ्नो नाम समेत राम्ररी भन्न सक्दैनन्, यस्ता नानीहरूलाई विद्यालय पठाउन हतार गरेर अभिभावकले अर्को अन्याय गरिरहेका छौँ । 

सिकाइलाई कितावकेन्द्रित नबनाएर सिकाइ–केन्द्रित बनाउने विषयमा शिक्षकहरूको ध्यान जान जरुरी छ । बच्चालाई उफ्रन लगायो भने दङ्ग परेर उफ्रिन्छन् । यसबाट उनीहरूको शारीरिक व्यायाम त हुन्छ नै । यसबाहेक हाम्रो शरीरलाई व्यायाम किन आवश्यक छ भनेर स्वास्थ्यसम्बन्धी ज्ञान दिनको लागि मात्र शिक्षकको भूमिका आवश्यक छ । र, उफ्रँदा गन्न लगायौँ भने बालबालिकाले गन्न सिक्छन् । खेलसँगै गणित पढ्छन् । यस्ता थुप्रै कुरा छन् घरमै बसेर पनि बच्चालाई ज्ञान दिन सकिने विकल्पहरू । 

बच्चा सुत्ने, खेल्ने खाने अनि रमाउने समयमा हामी किताकको बोझ थोपरेर विद्यालय पठाइरहेका हुन्छौँ । अझ यो बन्दाबन्दीको समयमा फेरि अनलाइन कक्षाका नाममा बालबालिकाको स्वतन्त्रको हनन भइरहेको छ । हाम्रो पालासम्म अधिकांश बालबालिकाहरु ५ वर्ष पुगेपछि मात्र विद्यालय जाने चलन थियो । कक्षा १ बाट नै पढाई सुरु हुनेगथ्र्यो । ५ वर्ष नपुगुन्जेल हामी घरमै आफ्ना अभिभावकसँग कखरा देखि लिएर १ देखि १०० सम्मका अङ्क सिकाउने चलन थियो । 

स्कुल गएपछि एकाएक अक्षर ।बाट बन्ने शब्द जस्तै, कलम, मकल, सलगम आदि लेख्न सिकाइन्थ्यो । आखिर घरमै बसेर पनि पढ्न सकिन्छ भन्ने प्रमाण हामीसँगै छ  । तर अहिले बाबु आमा दुबै कामकाजी हुने र एकल परिवारमा बस्ने भएकाले बच्चाको हेरचाह र स्याहार सुसार गरिदिने कोही नहुँदा जति नै महँगो शुल्क तिर्नु परे पनि पढ्न पठाएपछि आफू ‘फ्री’ हुन पाइने सोच अभिभावकहरू राख्छन् । यही सोचका कारण आमाका दूध चुस्ने धेरै बालबालिकाहरु दिनभर पढाइका नाममा पिल्सी राखेका छन् ।

नेपाल सरकारले अभिभावकको सहयोगमा स–साना नानीलाई घरमै गराउन सकिने सिकाई क्रियाकलाप बारेमा  विद्युतीय पुस्तक प्रकाशित समेत गरेको छ । यो किताबमा ४५ दिनसम्म पढाउन सकिने शैक्षिक क्रियाकलापहरु समावेश गरिएका छ । पूर्वप्राथमिक देखि ३ कक्षासम्मका लागि हुने गरी निकालिएको यो पुस्तकमा बालबालिकाले गर्ने दैनिक क्रियाकलापको समय तालिका लेख्न अभिभावकले सघाउन भनिएको छ । दैनिकी बनाउँदा बालबालिकाका चार पक्षहरू शारीरिक, सामाजिक, संवेगात्मक र बौद्धिक विकासलाई समेटेर बनाउनु पर्ने सुझाव छ । बच्चाले आफ्नो फोटो टाँसी आफ्नो परिचय दिन सिकाइएको छ । हात धुन र हात धुनुको महत्त्वबारे लेख्न सुझाइएको छ । विद्यार्थीले आज कस्तो महसुस गरेको छ, त्यसबारे चित्र बनाई रङ्ग भर्न सिकाइएको छ । आदि, आदि ।

घरको विज्ञान, घरको गणित, घरको भाषा सिकाउनु पनि अध्ययन र सिकाइ  नै हो । मन्टेश्वरी पढ्ने नानीका लागि त विना टेन्सन हाँस्न खेल्न नाच्न, आमाको काखमा रमाउन र बच्चा जे गर्दा रमाउँछ त्यही गर्न दिनु हो । घरका सदस्यसँग पनि बच्चाले केही न केही नयाँ कुरा सिकिरहेको हुन्छ । पूर्व प्राथमिक र प्राथमिक तहका विद्यार्थीलाई पढाइको बोझ दिनुभन्दा घरमै बसेर आफूले बोल्ने भाषासम्बन्धी ज्ञान दिनु पनि पढाइ नै हो । आफूभन्दा ठुलालाई आदर गरेर बोल्नुपर्छ अनि सानालाई माया गरी बोल्नुपर्छ भन्ने सिकाउनु पनि ज्ञान नै हो । 

बालबालिकाले प्रयोग गर्ने किताब कापी र कलम लाई अङ्ग्रेजीमा बुक, कपी र पेन भनेर सम्झाउन सकिन्छ । त्यसैले किताबमा लेखिएका कुराहरू रटान गराउनु मात्र पढाइ होइन । कामको बारेका जानकारी गराउनु, स्वस्थ रहन हामीले गर्ने क्रियाकलापबारे जानकारी गराउनु पनि शिक्षा नै हो । योग गर्नु किन आवश्यक छ, अनि ध्यान गर्दा के हुन्छ यस्ता जीवनोपयोगी शिक्षा पूर्व प्राथमिक र प्राथमिक तहका विद्यार्थीलाई सिकाउन सके निकै उपलब्धिमूलक हुन्छ ।

यसै गरी आफ्नो फूलबारीमा बच्चालाई साथै लगेर फलफूलको नाम, विभिन्न फूलहरूको नाम र कस्तो कलरको छ त्यसबारे जानकारी दिन सकिन्छ । कलरलाई प्रकृति र संस्कृति सँगसँग जोडेर बताउन सकिन्छ । दिनदिनै बच्चालाई चित्र कोर्न लगाउन सकिन्छ । पेन्टींग गराउन सकिन्छ । देशको भूगोलबारे बताउन सकिन्छ । कोभिड १९ कै बारेमा  पनि जानकारी दिन सकिन्छ ।

पढाइको नाममा कलिला नानीको बालापन खोस्ने काम कसैले पनि हुँदैन । बन्दाबन्दीको समयको पनि शुल्क असुल्न अनलाइन कक्षाको बहाना बनाएर पढाइ सञ्चालन गर्न कस्सिएका निजी विद्यालय र सरोकारवाला सबैले अहिले शिक्षण–सिकाइको शैलीमा व्यापक रूपान्तरण गर्ने सके मात्र यसको औचित्य पुष्टि गर्न सकिन्छ ।