नेपाल प्रहरीको २८ औ महानिरीक्षकमा शैलेश थापा

नेपाल प्रहरीको २८ औ महानिरीक्षकमा  शैलेश थापा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २३, २०७७

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा (आइजीपी) मा प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) शैलेश थापा क्षत्रीलाई नियुक्त गरेको छ ।

२८ औ महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नियुक्त गरेको हो । २०७७ असार २३ गते मंगलवार बसेको मन्त्रिपरिषदको वैठकले उहाँलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।  उहाँको कार्यकाल २२ महिनाको हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेका हुन् ।प्रधानमन्त्री ओलीले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गरिएको हाे । 

२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिनुहुन्छ । उहाँले धेरैजसो समय महानिरीक्षकको सचिवालय र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिताउनु  भएकाे छ । थापाले प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुखको रुपमा यसअघि काम गर्नु भएकाे थियाे  । हाल उहाँ मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमुख हुनु हुन्थ्याे  ।

पाँच महानिरीक्षकसँग काम गर्नु भएका थापा नीति निर्माण, अनुसन्धान र चेनअफ कमाण्डको कार्यान्वयनमा सफल मानिन्छन् । त्यस्तै थापा सुडान, पूर्वी टिमोर र बोस्निया मिसनमा  समेत गएका थिए । उहाँको कार्यकाल ०७९ वैशाख १९ गतेसम्म हुनेछ । प्रहरी संगठनको कर्तव्यप्रति अडिग रहने थापाको राजनीतिक नेतृत्वसँग भने त्यति घनिष्ठ सम्बन्ध नभएको उहाँलाई नजिकबाट चिन्नेहरु बताउँछन् । । थापाले प्रहरी संगठनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । क्षत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख भएर काम गर्नु भएकाे थियाे । त्यसपछि क्रमशः सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख   हुनु भएको थियाे  । थापा यसअघी प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा एसपी भएर काम समेत गर्नु भएकाे  थियाे । थापासँगै जागिर सुरु गर्नु भएका ६० जनामध्ये केही अहिले डीआईजी  पदमा हुनु हुन्छ  । अरु एसएसपी र एसपी पदमा  कार्यरत हुनुहुन्छ । 

हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकास पाउँदै हुनुहुन्छ । प्रहरी मुख्यालयले नयां आईजीपीको स्वागत र हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको विदाई कार्यक्रममा उपस्थित हुन सातै प्रदेशका डिआईजीलाई काठमाडौं बोलाइसकेको छ ।

५२ वर्षीय थापा प्रहरीभित्र व्यावसायिक अधिकृत हुँदा हुँदै पनि  थापाका  परिचितहरुका  अनुसार फिल्ड कमाण्डमा भने उहाँ कमजोर अधिकृतका रुपमा चिनिनु हुन्छ । सेवाको २८ वर्षसम्म उहाँले फिल्डमा भन्दा प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)मा  समय गुजार्नु भएकाे थियाे ।