प्रश्नपत्रसँगै छात्रालाई सेनेटरी प्याड

प्रश्नपत्रसँगै छात्रालाई सेनेटरी प्याड
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३, २०७५

म्याग्दी । जिल्लामा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ । 

यही चैत १० गतेदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले सेनेटरी प्याड वितरण गर्ने भएकोे हो । 

सामुदायिक विद्यालयमा अध्ययनरत् छात्रा महिनावारी हुँदा विद्यालय नजाने जाँदैनन् । त्यसकारण महिनावारी भएका छात्रालाई सेनेटरी प्याड वितरण गरिन लागिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले निमित्त एकाइ प्रमुख केशबहादुर बुढाथोकीलाई प्याड खरिद गर्न १५ हजार रूपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ । 

मन्त्रालयका अधिकृत अर्यालले छात्रामा हुने महिनावारीलाई सहजरूपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन प्रदेशभित्रका सबै जिल्लामा सहयोग गरिएको बताउनुभयो । ‘छात्रा महिनावारी भएको समयमा विद्यालयमा सहभागी नहुने गरेको पाउने गरेका छौँ, महीनावारीको समयमा कुनै पनि छात्राको एसइई परीक्षा प्रभावित नहोस् भन्नका लागि सेनेटरी प्याड वितरण गर्ने व्यवस्था मिलाएका हौँ,’ अर्यालले भन्नुभयो । 

एसइई परीक्षा चैत १० गतेदेखि सुरु हुँदैछ । जिल्लामा दुई हजार २४२ विद्यार्थी सहभागी हुने परीक्षामा एक हजार १११ छात्रा रहेको खबर राससमा छ ।