मेक्सिकाली राष्ट्रपतिको अमेरिका भ्रमण

मेक्सिकाली राष्ट्रपतिको अमेरिका भ्रमण

लोकसंवाद संवाददाता  |  विदेश  |  असार २४, २०७७

एजेन्सी । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफू निर्वाचित भएको दुई वर्षपछि पहिलो विदेश भ्रमण गर्न लाग्नु भएको छ । सन् २०१८ मा निर्वाचित हुनुभएका बामपन्थी राष्ट्रपति ओब्राडोरले बुधबार संयुक्तराज्य अमेरिकाको भ्रमण गर्न लाग्नु भएको छ । 

राष्ट्रपति ओब्राडोरले यसअघि चुनावी प्रतिबद्धता बमोजिम विदेश भ्रमण गर्न अस्वीकार गरिआउनु भएको थियो । उहाँ वासिङ्टन भ्रमणमा आउँदा व्यवसायिक उडानको 'इकोनोमी क्लास' प्रयोग गर्ने जानकारी दिइएको छ । 

कोरोनाभाइरसका कारण हाल संयुक्तराज्य अमेरिका र मेक्सिको दुबै ठूलो संकटमा छन् । खासगरी, दुई देशबीचको सीमाबाट आप्रवासीहरु अवैध रुपमा अमेरिका प्रवेश गर्नेक्रम नरोकिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको आलोचना गरिरहनु भएको छ । 

साथै वर्तमान अमेरिकी प्रशासनले अवैध आप्रवासीलाई रोक्न विवादास्पद पर्खाल निर्माण योजना बनाइरहेको छ, तर यसमा अमेरिकी समाज र राजनीतिक वृत्तमा सहमति जुटिसकेको छैन । राष्ट्रपति ट्रम्पले मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने आप्रवासीलाई अपराधीको संज्ञा दिने गर्नु भएको छ ।

तर यसपटक मेक्सिकाली राष्ट्रपतिको अमेरिका भ्रमण मुख्य रुपमा अमेरिका–मेक्सिको–क्यानाडा सम्झौताको शुभारम्भका लागि हुन लागेको हो । यो सम्झौताले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको अग्रसरतामा भएको उत्तर अमेरिका स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) लाई प्रतिस्थापन गर्नेछ । 

राष्ट्रपति ट्रम्पले नाफ्टाले अमेरिकी रोजगारी गुमेको भन्दै नयाँ युएसएमसीए गर्नु भएको हो । 

भिन्न राजनीतिक विचारधारा भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुरोधलाई मेक्सिकाली राष्ट्रपतिले सम्मान गर्नु भएको छ । मध्य अमेरिकी मुलुकहरुबाट अमेरिका प्रवेश गर्न चाहनेहरुलाई मेक्सिकोले बीचमै रोक्नुका साथै मेक्सिकोमा अलपत्र परेका नागरिकलाई रोजगारी उपलब्ध गराउने योजना अघि सार्नु भएको छ ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोका राष्ट्रपतिसँग 'शान्त' बैठक हुन लागेको जानकारी दिनु भएको छ । ट्रम्पले भन्नुभयो, 'उहाँ निकै असल व्यक्ति हुनुहुन्छ । उहाँ मेरा मित्र हुनुहुन्छ । मेक्सिकोसँग हाम्रो निकै राम्रो, मित्रवत सम्बन्ध छ ।'