प्रदेश अस्पतालमा थपियो पिसिआर

प्रदेश अस्पतालमा थपियो पिसिआर

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार २४, २०७७

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कोभिड १९– को स्वाव परीक्षणका लागि नयाँ पिसिआर मेसिन थपिएको छ । प्रदेश अस्पतालले पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा जडान गरेको उक्त मेसिनबाट कोरोना परीक्षण शुरु भएको छ ।

यहाँ सञ्चालित मेसिन बिग्रिदा डेढसातादेखि कोरोना परीक्षण हुन सकेको थिएन । सुर्खेतमा परीक्षण बन्द भएपछि यहाँबाट दैलेख, जुम्ला र नेपालगञ्ज परीक्षणका लागि पठाउनुुपरेको थियो । 

अस्पतालका निर्देशक डाक्टर डम्मर खड्काले नयाँ मेसिन जडान गरेर परीक्षण शुुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ मेसिनले एक पटकमा ९६ वटा नमूना स्वाव परीक्षण गर्नसक्छ । प्रदेश सरकारको  २४ लाख ९० हजार सहयोगमा उक्त मेसिन खरिद गरिएको हो । 

हाल कर्णालीमा सुर्खेतसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख जिल्ला अस्पतालबाट कोरोना परीक्षण हुँदै आएको छ । त्यस्तै, रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा पिसिआर मेसिन जडान गरिएको छ ।