जमुनाह नाका बन्द भएपछि नेपालगञ्जमा चहलपहल

जमुनाह नाका बन्द भएपछि नेपालगञ्जमा चहलपहल

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २५, २०७७

नेपालगञ्ज । कोरोना महामारी सङ्क्रमण रोकथामका लागि नेपाल–भारत जमुनाह नाका बन्द भएपछि नेपालगञ्जमा व्यापारिक चहलपहल बढेको छ ।  सीमावर्ती भारतीय बजार रुपैडिहाका कारण सधैँ व्यापारिक कारोवारमा मन्दी सहँदै आएका नेपालगञ्जका व्यापारीले चार महीनादेखि नेपाली उपभोक्तालाई सेवा गर्ने अवसर पाएका छन् । 

सीमा नाका बन्द भएसँगै भारतीय सामानको तस्करी नियन्त्रणमा आएपछि नेपालगञ्जमा किराना, खाद्यान्न, लुगा, तयारी कपडा, सौन्दर्य प्रसाधनलगायत सबै प्रकारको स्वदेशी व्यापार राम्रो हुन थालेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो ।“कोरोना महामारीको कारण सीमा नाका बन्द भएपछि यस्तो असहज अवस्थामा पनि नेपालगञ्जमा व्यापारिक चहलपहल राम्रो छ”, सङ्घका महासचिव ओलीले भन्नुभयो, “पहिले उधारोमा सामान बेच्न पनि हारगुहार गर्नुपथ्र्यो, अहिले नगदमै कारोवार हुन थालेको छ ।”

सीमा नाका बन्द भएका कारण नेपाली उपभोक्ता यहीँ रोकिएपछि स्वाभाविक रुपमा नेपालगञ्जको चहलपहल बढेको हो ।  उपभोक्तालाई नेपालगञ्जमै रोकिने गरी व्यवसायीले सेवा प्रदान गर्नुपर्ने उहाँले बताउनुभयो ।

सस्तो दरमा सामान पाइने विश्वासमा नेपाली उपभोक्ताको घुइँचो लाग्ने सीमावर्ती भारतीय बजार रुपैडिहा सुनसान भएको छ । सीमा नाका बन्द भएपछि रुपैडिया बजार सुनसान भएको रुपैडिहास्थित पत्रकार सन्तोष शुक्लाले जानकारी दिनुभयो ।उहाँका अनुसार कोरोना महामारीका कारण सीमा बन्द भएपछि रुपैडिहा बजारको कारोवार बन्दजस्तै भएको छ । नेपाली उपभोक्ता आउन नपाउँदा व्यापार चौपट भएको भन्दै भारतीय व्यापारी आन्दोलनमा उत्रिने तयारी गरेका छन् ।

राहत माग

कोरोना महामारीका कारण व्यापार व्यवसाय ठप्प भएको भन्दै र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले मौद्रिक नीतिमार्फत राहत प्याकेजको माग गरेको छ । कोरोना महामारीका कारण निजी क्षेत्र प्रभावित भएकाले आगामी मौद्रिक नीतिमार्फत राहत  दिनुपर्ने माग गरिएको सङ्घका अध्यक्ष अव्दुलवाहिद मन्सुरीले बताउनुभयो । 

उहाँका अनुसार सङ्घले सोही मागका विषयमा ध्यानाकर्षण गराउन आज नेपाल राष्ट्र बैंक, नेपालगञ्जमार्पmत केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाउँदै छ ।